फिचर

‘मिठो खाने त परैको कुरा, आराम समेत नपाई बच्चा जन्माउनुपर्छ’

धनबहादुर क्षेत्री

घोडेसिम गाउँकी स्थानीय महिला

जुम्ला– जुम्ला घोडेसिम गाउँकी काली रोकाया चिनिएकी महिला स्वास्थ्य स्वयंसेविका हुन्। उनी सुरक्षित सुत्केरी र नियमित गर्भ जाँचबारे गाउँलेलाई सुझाउँदै हिँड्छिन्। तर, उनले अस्पताल जान नसकेर घरमै तीन वटा सन्तान जन्माइन्। नियमित गर्भ जाँच, सुरक्षित सुत्केरी र पोषिलो खानेकुराबारे जानकार देखिए पनि घरमै सुत्केरी हुनुपर्ने उनको वाध्यता छ। नजिकै सुत्केरी गराउन मिल्ने स्वास्थ्य संस्था नहुँदा उनीजस्तै गाउँका महिला घरमै सुत्केरी हुने गरेका छन्। 

काली रोकायाले भनिन्, ‘यहाँका सुत्केरी आमा कालसँग लड्दै बच्चा जन्माउन वाध्य छन्। राम्रो लाउन र मिठो खान पाउनु त परैको कुरा भयो आराम समेत गर्न नपाईकन बच्च जन्माउनुपर्छ।’ 

सुत्केरी महिला घाँस–दाउरा लगायतका घरायसी काममा खटिने गरेका हुन्छन्। लक्ष्मी रोकाया तिला गाउँपालिकाकी सदस्य हुन्। उनी पनि बच्चा जन्माउन सुविधा सम्पन्न अस्पतालसम्म पुग्न सकिनन्। गाउँमै सुत्केरी हुनुपर्दा शरीरलाई चाहिने पौष्टिक तत्वको कमीले धेरै समस्य आउने गरेको उनी बताउँछिन्। उनले भनिन्, ‘साविकको घोडेमहादेव गाविसका सबैजसो वडाका महिला घरमै सुत्केरी हुने गरेका छन्।’ 

सरकारले नियमित गर्भ जाँच र सुरक्षित सुत्केरी हुने महिलालाई प्रोत्साहन स्वरुप यातायात खर्च उपलब्ध गराउँदै आएको छ। यद्यपि, यहाँका सुत्केरी आमाले यो सुविधा उपयोग गर्न सकेका छैनन्। 

अञ्जु रोकायाले सरकारले सुरक्षित सुत्केरीको नारा दिएर सेवा सुविधा बढाएको भने पनि दुर्गमका महिला सुत्केरी भएको समयमा घरमै बस्नुपरेको गुनासो गरिन्। उनी भन्छिन्, ‘स्वास्थ्य संस्थामा बर्थिङ सेन्टरको सुविधा छैन, अस्पताल पुग्ने खर्चको जोहो हुँदैन। टाढा छ अस्पताल, कसरी सुरक्षित सुत्केरी हुने?’ 

घरमै सुँडेनी र महिला स्वास्थ्य स्वयंसेविकाको सहयोगमा सुत्केरी हुने गरेको स्थानीय महिला बताउँछन्। ‘गाउँदेखि ३ घन्टाको पैदलमा प्रथामिक स्वास्थ्य केन्द्र छ, दुई घन्टा हिँडेपछि स्वास्थ्य चौकी भेटिन्छ,’ अञ्जले प्रश्न गरिन्, ‘अस्पताल पुग्न एक दिन लाग्छ, कसरी सुरक्षित सुत्केरीको नारा यहाँका लागि सान्दर्भिक छ र?’

उनले गर्भवती महिलालाई निकै कठिन भएमा नजिकैको मेडिकलमा महँगो शुल्क तिरेर सुत्केरी गराउने गरेको अनुभव सुनाइन्। महिला स्वास्थ्य स्वयंसेविका काली रोकाया गाउँका महिलाले नियमित गर्भ जाँच समेत नगराउने बताउँछिन्। 

गाउँमा संरचनाबिनै खोप केन्द्र स्थापना गरिए पनि सेवा सञ्चालन हुन नसकेको उनले बताइन्। ‘मेडिकलकै भरमा जीवन गुजार्नु परेको छ । गाउँमा गर्भवती महिलालाई बोकेर लैजाने स्टेचर समेत छैन। डोकोमा बोकेर गर्भवतीलाई अस्पताल पर्याउनुपर्छ।’ 

स्थानीय महिलाले गाउँमै बर्थिंङ सेन्टरको माग गरेका छन्। गाउँका अगुवा महिलाहरुले सुरक्षित रुपमा सुत्केरी हुन पाउने अधिकारको ग्यारेन्टी गर्न माग गरेका हुन्। काली रोकाया भन्छिन्, ‘गाउँमा बर्सेनि १५ देखि २५ जना सुत्केरी हुने गरेका छन्। सबै घरमै सुत्केरी हुन्छन्। गर्भावस्था र सुत्केरी अवस्थामा पाउनुपर्ने स्याहार पाइँदैन।’ 

घोडेसिमका वडाध्यक्ष हस्तबहादुर बुढाले गर्भवती र सुत्केरी महिलाको अवस्था अत्यन्तै कमजोर रहेको बताए। उनले यसको समाधानका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गरेको जनाएका छन्। उनले भने, ‘मापदण्ड अनुसार बर्थिङ सेन्टर ल्याउन मिलेको छैन। घरमा सुत्केरी गराउँदा सरसफाइ, औषधोपचार, पोषिलो खानेकुराको अभाव छ।’

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live