फिचर

एन्टिमाइक्रोवियल रेसिस्टेन्सले उपचार खर्च बढ्दै, प्रभावकारिता घट्दै

सन् २०५० सम्ममा प्रतिवर्ष एक करोडको मृत्यु हुने अनुमान

img

डिबी खड्का

विश्वमा एन्टिमाइक्रोवियल रेसिस्टेन्स अहिलेकै अवस्थामा वृद्धि भइरहने हो भने सन् २०५० सम्ममा यसबाट मृत्यु हुनेको संख्या प्रति वर्ष एक करोड हुने अनुमान विश्व स्वास्थ्य संगठनले गरेको छ।

अमेरिकाको स्वास्थ्य प्रणालीमा समेत एक वर्षमा अस्पतालमा भर्ना भएका बिरामीले ८० लाख दिन थप अस्पतालमा बिताउनुपर्ने, जसको थप वार्षिक आर्थिक भार तीय सय ४० करोड अमेरिकी डलरसम्म हुनेछ।

नेपालको शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको एक अध्ययन अनुसार पहिलो लाइनका एन्टिबायोटिकको रेसिस्टेन्स दर ९६ प्रतिशतसम्म छ। अस्पतालजन्य संक्रमण भयो अर्थात् निमोनिया भयो भने उपचारका लागि साढे दुई लाख रुपैयाँसम्म खर्च हुन्छ। यदि पहिलो लाइनका एन्टिबायोटिकले नै काम गरेको भए १० हजार रुपैयाँ मात्रै खर्च गर्दा बिरामी निको हुन सक्थ्यो।

एक अनौपचारिक तथ्यांक अनुसार एन्टिबायोटिकलाई ब्याक्टेरियाले जितेका कारण नेपालका धेरै अस्पतालमा भेन्टिलेटरमा राखिएका बिरामीमा निमोनिया वा अन्य संक्रमण हुने सम्भावना ४० देखि ६० प्रतिशतसम्म छ।

पछिल्लो १६ वर्षदेखि ब्याक्टेरिया मार्ने नयाँ औषधी (एन्टिबायोटिक)को खोज हुन सकेको छैन। त्यसअघि बनाइएका एन्टिबायोटिकलाई ब्याक्टेरियाले पचाउँदै गएका छन्। जसलाई एन्टिमाइक्रोवियल रेसिस्टेन्स (एएमआर) भनिन्छ। यही क्रम जारी रह्यो भने सन् २०५० मा बिरामीलाई एन्टिबायोटिकले काम नगरेर मृत्यु हुनेको संख्या प्रतिवर्ष एक करोड हुने अनुमान विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले गरेको हो। जसलाई महामारीकै संज्ञा दिइएको छ। यसको चपेटामा नेपालजस्ता विकाशशील देश बढी पर्नेछन्।

माइक्रोवियलमा भाइरस, ब्याक्टेरिया, फङ्गस र अरु परजिवी पनि पर्छन्। यिनीहरुको फरक–फरक स्वरुप भए पनि एन्टी माइक्रोबियल भन्ने शब्दले सबैलाई समेट्छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति तथा आइसियू विज्ञ डा. अर्जुन कार्कीका अनुसार एन्टी माइक्रोबियल रेसिस्टेन्स (एएमआर) त्यस्तो अवस्था हो जुन अवस्थामा ब्याक्टेरियाहरुले आफूहरुलाई मार्ने औषधी पचाएका हुन्छन्। यसलाई डा. कार्की सामान्य भाषामा यसरी अर्थ्याउँछन्, ‘यो संसारमा मान्छेको जस्तै ब्याक्टेरियाहरुको पनि अस्तित्व छ। मान्छेले आफू बाँच्नका लागि अनेक जुक्ति लगाउँछन्। ब्याक्टेरियाले पनि त्यसै गर्छ। जसले गर्दा रोग लाग्छ। रोग लगाउने भएकाले सकेसम्म त्यसलाई हामी सिध्याउन चाहन्छौं। त्यसका लागि औषधी दिन्छौं। ब्याक्टेरिया पनि आफूलाई त्यो औषधी भन्दा बलियो कसरी बनाउने भन्नेमा लागिरहेको हुन्छ। ब्याक्टेरियाले उक्त औषधीलाई जित्न थाल्छ। एक समयपछि उक्त औषधीले ब्याक्टेरिया मार्न सक्दैन अर्थात् ब्याक्टेरियाले औषधीलाई प्रतिरोध गर्न सक्ने क्षमता विकास गर्छ। यसलाई एन्टिमाइक्रोबियल रेसिस्टेन्स भनिन्छ।’ यसैगरी फङ्गसका लागि एन्टिफङ्गस, भाइरसका लागि एन्टिभाइरस दिइन्छ।

अहिले सरोकारवालाले ब्याक्टेरियामा केन्द्रित भएर कुरा गर्न थालेका छन्। ‘किनभने अहिले सबैभन्दा बढी डर मानवलाई ब्याक्टेरियाबाटै छ,’ एन्टिबायोटिक रेसिस्टेन्सबारे अनुसन्धान समेत गरिरहेका डा. समिरणमणि दीक्षित भन्छन्, ‘विभिन्न संक्रमणको कारक ब्याक्टेरिया भएकाले पनि विशेष ध्यान दिन थालिएको हो। ब्याक्टेरिया विरुद्ध दिइने औषधी (एन्टिबायोटिक) प्रभावहीन हुन थालेपछि विश्वले ब्याक्टेरियाबाट चुनौती महसुस गरेको हो।’

जथाभावी एन्बिायोटिकको प्रयोग हुने दक्षिण एशियाली मुलुकहरु एन्टिबायोटिक रेसिस्टेन्सको उच्च जोखिममा छन्। नेपाल उच्च जोखिमयुक्त मुलुकको पहिलो पंक्तिमै पर्छ। किनभने एन्टिबायोटिक प्रभावहीन हुन नदिने विश्व समुदायले अपनाएका  विशेष कार्यक्रम नेपालले अहिलेसम्म आत्मसाथ गर्न सकेको छैन।

चिकित्सकीय लापरबाही

ब्याक्टेरियासँगको लडाइँमा मानव पराजित नहुने हो भने नयाँ औषधीको खोजी नहुन्जेल भइरहेको औषधी ब्याक्टेरियाले पचाउन दिनबाट रोक्नुपर्छ। यही कारणले वैज्ञानिकहरुले ब्याक्टेरियाको शिकार गर्ने औषधी (एन्टिबायोटिक) लाई पहिलो, दोस्रो र तेस्रो गरी तीन लाइनमा वर्गीकरण गरेका छन्। ब्याक्टेरियाको संक्रमणबाट बिरामी पर्दा सुरुमा पहिलो लाइनकै एन्टिबायोटिक प्रयोग गर्नुपर्छ। निश्चित अवधि र मात्राअनुसार उक्त एन्टिबायोटिक प्रयोग गर्दा ब्याक्टेरिया मर्छन्। तर, यसो गर्दा ब्याक्टेरिया मरेनन् भने दोस्रो र त्यसले पनि भएन भने मात्रै तेस्रो लाइनका एन्टिबायोटिक प्रयोग गर्नुपर्र्ने विश्वव्यापी मान्यता छ।

विश्वको जल्दोबल्दो समस्या भएको कुरा जानेबुझेका नेपाली चिकित्सकहरुले समेत यो मान्यतालाई प्रयोगमा ल्याइरहेका छैनन्। चिकित्सक नै यो समस्या नियन्त्रणका लागि ठूलो समस्या हुन सक्ने देखिएको छ। राम्रो चिकित्सकका रुपमा आफूलाई उभ्याइरहन उनीहरुले एकैपल्ट तेस्रो लाइनको एन्बिायोटिक सिफारिस गर्ने देखिएको शिक्षण अस्पताल महराजगञ्जका आइसियू इन्चार्ज डा. सुवास आचार्य बताउँछन्। उनी भन्छन्, ‘ठूला डाक्टरकोमा उपचार गराएका बिरामीले कडा एन्टिबायोटिक पाएको देखिएको छ। नरम एन्टिबायोटिक दिएर बिरामीमाथि जोखिम मोल्न नचाहने डाक्टरहरु हामीले प्रसस्त पाएका छौं।’ रोग च्वाट्टै निको पार्ने चिकित्सकका रुपमा कहलिसकेका केही डाक्टरले त्यो ख्याति कायम राख्न कडा मात्रै होइन, दुईटा र तीनटासम्म एन्टिबायोटिक चलाउने गरेको उनी दाबी गर्छन्। विश्वका अन्य देशमा ‘रिजर्भ’ राखिएका एन्टिबायोटिक्स पनि नेपालमा चलाइने गरेका छन्। फार्मेसी काउन्सिलका पूर्व अध्यक्ष बाबुराम हुमागाईं भन्छन्, ‘नेपालमा प्रयोगमा रहेका क्लिन्डामाइसिन, लिनोजोलेट, ट्याजोब्याक्टोम, सेफालोस्पिरिन हाइ जनेरेसन, टिजिसाइकिलिन जस्ता केही एन्टिबायोटिक्स कतिपय देशमा रिजर्भ छन्।’ 

कतिपय नेपाली चिकित्सकमा जति नयाँ औषधी प्रयोग गर्‍यो त्यति सिपालु ठहरिने भ्रम रहेको डा. कार्कीले भेटेका छन्। उनी भन्छन्, ‘मानौं हामी १० जना चिकित्सक छौं। हामीमध्ये जान्नबुझ्ने हुन एक जनाले विश्व बजारमा भर्खर अविस्कार भएको नयाँ औषधी प्रयोग गर्छ। जबकि पुरानै पुस्ताको एन्टिबायोटिकले पुग्थ्यो। नयाँ औषधी र नयाँ कुराका बारेमा जानकारी राख्छु भन्ने देखाउन जनस्वास्थ्यमाथि खेलबाड गरिरहेका हुन्छन्। जानकारी राख्नु राम्रो हो तर त्यसको प्रयोग अन्तिम अस्त्रका रुपमा गर्ने हो। म जान्ने, मै सिपालु देखाउन अनावश्यक एन्टिबायोटिक प्रयोग गर्ने प्रवृत्ति हावी छ। यो गलत हो। यसको आलोचना गर्नुपर्छ। यसलाई रोक्नुपर्छ।’

यसैगरी, कोही ज्वरो आएर उपचारका लागि गयो कि सुरुमै एन्टिबायोटिक दिइहाल्ने प्रवृत्ति छ। डा. कार्की भन्छन्, ‘ज्वरो विभिन्न कारणले आउँछ। त्यसैले ब्याक्टेरिया वा अन्य कुन कारण हो भन्ने यकिन गरेर एन्टिबायोटिक दिनुपर्ने अवस्था देखियो भने मात्रै त्यसको प्रयोग गर्नुपर्छ। मैले ज्वरो च्वाट्टै निको पारिनँ भने बिरामी अन्तै जान्छ। मेरो नाम पनि खराब हुन्छ भन्ने डर डाक्टरलाई छ। उनीहरु यस्तो जोखिम मोल्न चाहँदैनन् र कडा एन्बिायोटिक चलाउँछन्।’

नेपालमा ब्याक्टेरियाको सेन्सिटिभिटी एनालाइसिस अर्थात् दिन लागिएको एन्टिबायोटिक उक्त ब्याक्टेरियाका लागि प्रभावकारी छ कि छैन भनेर हेर्ने प्रक्रिया पनि राम्रो नरहेको हुमागाईंको भनाइ छ। हुमागाईं त कमिसनको लोभमा डाक्टरले अनावश्यक एन्टिबायोटिक सिफारिस गरिरहेको आरोप लगाउँछन्। उनले डाक्टरहरुको लापरबाहीप्रति इंगित गर्दै भने, ‘बिरामीले आफ्नो रोगका लागि होइन। डाक्टरको कमिसनका लागि औषधी खाइदिनुपर्छ।’

चिकित्सक, औषधी कम्पनी र औषधी व्यवस्था विभागका जिम्मेवार पदाधिकारीको मिलेमतोमा कडा एन्टिबायोटिक प्रयोग हुने गरेको उनको आरोप छ। कतिपय अवस्थामा डाक्टरले पटके सिफारिस लिएर यस्ता औषधी भित्र्याइदिन्छन्। जसमा विभागको नियन्त्रण कमजोर रहेको हुमागाईं बताउँछन्। उनी भन्छन्, ‘पटके भनेको एक बिरामीका लागि निश्चित मात्रामा प्रयोग गर्न अनुमति दिने हो। तर, पटके सिफारिस लिएर वर्षौंसम्म औषधी भित्र्याउने गरेको देखिन्छ।’

उपभोक्ताः निको भइगो किन खाने?

आफूलाई जान्नेसुन्ने देखाउनु मानवीय प्रवृत्ति भइहाल्यो। कहिलेकाहीँ बिरामी आफैँ पनि चिकित्सक भन्दा जान्नेसुन्ने भइदिन्छन्। बिरामी भएर औषधी प्रयोग गर्न थालेपछि धेरै जनाले मात्रा पूरा नगरी बिचमै छाडिदिन्छन्। उनीहरुलाई लाग्छ, ‘निको भइगो औषधि किन खाने?’ चिकित्सकले कति दिन औषधी खाएपछि ब्याक्टेरिया मर्छन् भनेर हिसाबकिताब गर्छन् र औषधी दिन्छन्। जस्तो, एउटा एन्टिबायोटिक ५ दिन खानु भनेर डाक्टरले लेखिदिन्छन्। बिराम तीन दिनमा ठीक भएको महसुस हुन सक्छ। त्यसपछि दुई दिन थप औषधी खान झन्झट लाग्छ वा साइड इफेक्ट किन थप्नु भनेर अति जान्नेसुन्ने हुन मन लाग्छ र बिरामीले एन्टिबायोटिक खान छोडिदिन्छ।

यो आमप्रवृत्ति हो। यसलाई बदल्नु जरुरी छ। किन औषधि बिचमै छाड्नु हुँदैन भन्ने कुरालाई डा. दीक्षित यसरी बुझाउँछन्, ‘मानौं, हाम्रो शरीरमा एक सयवटा ब्याक्टेरिया छन्। ५ दिन औषधी खाँदा सबै मर्छन् भन्ने लेखाजोखा चिकित्सकको छ। तीन दिन खाँदा ८० वटा मर्छन्। त्यति मरेपछि बिरामीलाई सञ्चो भएको महशुस हुन्छ तर २० ब्याक्टेरिया जिउँदै वा लट्ठिएका हुन्छन्। यसरी हेर्दा ८० वटाको अस्तित्व समाप्त भयो तर २० बाँकी हुन्छन्।’ उनका अनुसार बाँकी २० वटा ब्याक्टेरिया तत्काल केही गर्न नसकी निस्क्रिय बस्छन्। तर, उनीहरुले आफूलाई सिध्याउन पठाइएको हतियार (एन्टिबायोटिक) देखिसकेका हुन्छन्, अर्कोचोटि सोही हतियार प्रयोग हुँदा कसरी जोगिने भनेर आफूलाई तयार गर्छन्।

उनका अनुसार ब्याक्टेरियामा अचम्मको क्षमता हुन्छ। त्यो हो, अन्य ब्याक्टेरियालाई पनि उक्त हतियारलाई परास्त गर्न आफूले सिकेको कुरा सिकाउने र आफ्ना शाखासन्तानलाई पनि आफूजस्तै बलियो बनाएर जन्माउने। यसरी एकपटक एन्टिबायोटिक खेपेको ब्याक्टेरियाले दोस्रोपल्ट बिरामीले सोही एन्टिबायोटिक प्रयोग गर्‍यो भने सुरुमै रोकिदिन्छ। त्यसपछि बिरामीलाई लाग्छ, ‘औषधी त खाएकै छु नि किन निको भइनँ।’ यसरी अन्तिम लाइनसम्मकै एन्टिबायोटिक लिइसकेको बिरामीको शरीरमा रहेका ब्याक्टेरियालाई मार्ने उपाय हुँदैन। जसलाई एन्टिबायोटिक रेसिस्टेन्स भनिन्छ। त्यसपछि बिरामीको ज्यान तलमाथि पर्छ।

जथाभावी एन्टिबायोटिकको प्रयोग

विश्व चिकित्सा जगतले एन्टिबायोटिकलाई ब्याक्टेरियाले प्रभावहीन बनाइरहेको कुरालाई गम्भीर रुपमा लिएको छ। अमेरिकामा रहेर संक्रमणजन्य रोगमा सुपरस्पेसियालिटी गरिरहेका डा. प्रभात अधिकारी भन्छन्, ‘विकसित देशमा कतिपय एन्टिबायोटिक सिफारिस गर्नुअघि चिकित्सकले अस्पतालमै रहेको निकायसँग कारण देखाएर अनुमति माग्नुपर्ने हुन्छ। तर, नेपालमा भने औषधी पसलले समेत खुलेआम कडाभन्दा कडा एन्टिबायोटिक बेचिरहेका छन्।’ यो अवस्थामाथि डा. दीक्षितको टीप्पणी छ, ‘बजारमा बदाम र एन्टिबायोटिक किन्नुमा कुनै भिन्नता छैन। दुइटैलाई प्रेस्किप्सन चाहिँदैन। फरक यत्ति हो, बदाम सस्तो छ, एन्टिबायोटिक महँगो।’

एन्टिबायोटिकमाथि औषधी पसलेको लापरबाही यहीँनेर टुंगिँदैन। डा. कार्की बिरामीसँग जति रुपैयाँ छ, औषधी पसलले त्यत्ति रुपैयाँको एन्टिबायोटिक भिडाएर पठाउने गरेको बताउँछन्। उनी उदाहरण प्रस्तुत गर्छन्, ‘बिरामी ७ दिन खाने कुनै एन्टिबायोटिक किन्न फार्मेसी पुग्छ। मानौं, त्यसको मूल्य ६ सय ६५ रुपैयाँ पर्छ। तर, बिरामीले आफूसँग तीन सय रुपैयाँ मात्रै रहेको बताउँछ। औषधी पसलेले तीन सय रुपैयाँकै दिएर पठाउँछ। त्यति औषधि खाइसक्दा, बिरामीलाई सञ्चो भएजस्तो हुन्छ। थप औषधि खान छाड्छ। डोज पूरा नभएकाले अर्को चोटि उक्त बिरामीलाई त्यो एन्टिबायोटिकले छुँदैन।’

कुखुरा र माछामा पनि एन्बिायोटिक

अहिले कुखुरा र माछामा एन्टिबायोटिकको प्रयोग भयावह रुपमा भइरहेको डा. दीक्षितले बताएका छन्। उनी भन्छन्, ‘माछाका भुरा र कुखुराका चल्लाको दानामा एन्टिबायोटिक मिसाउन थालिएको छ। खासगरी कुखुराका चल्लालाई भ्याक्सिन दिनुपर्ने हो तर त्यसको साटो एन्टिबायोटिक दिने प्रचलन बढ्दो छ।’

एन्टिबायोटिक दिएपछि कुखुरा हृष्टपुष्ट हुने, रोग नलाग्ने र राम्रो अन्डा पनि दिने भएकाले यस्तो गर्न थालिएको उनी बताउँछन्। केही समयअघि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अध्ययनमा पनि ब्रोइलर कुखुराको मासुमा एन्टिबायोटिको प्रयोग अत्याधिक रहेको भेटिएको थियो। विभागको अध्ययन प्रतिवेदनमा कुखुराको मासुमा टेट्रासाइक्लिन, म्याक्रोलाइड्स, एमाइनोग्लासाइड्स, सल्फोनामाइड, पेनिसिलिन लगायतको मात्रा बढी पाइएको उल्लेख छ। विभागले ७५ वटा नमूना संकलन गरेर ‘एन्टिबायोटिक रेसिड्यु इन चिकेन मिटः ए पोटेन्सियल थ्रेट टु फुड सेफ्टी’ शीर्षकमा अध्ययन गरेको थियो।

नेपालमा अनुगमन प्रणाली कमजोर हुँदा पछिल्लो समय भेटनरी क्षेत्रमा एन्टिबायोटिक खपत हुने दर निकै बढेको डा. दिक्षित बताउँछन्। उनी भन्छन्, ‘कुखुराको ज्यानमै एन्टिबायोटिक पचाएका ब्याक्टेरिया मान्छेको शरीरमा सरेपछि निकै जब्बर भएर निस्किएका छन्।’ कुनै कारणले राम्ररी नपाकेको कुखुराको मासु खाएका कारण त्यो ब्याक्टेरिया मानव शरीरमा प्रवेश गरेर निम्तिने संकट खतरनाक हुनसक्ने उनी बताउँछन्। यसबाहेक सुंगुर, सागसब्जी र धेरै दूध उत्पादन गर्न गाईभैंसीमा पनि एन्बिायोटिकको प्रयोग बढिरहेको उनले औँल्याएका छन्।

अस्पतालको अवस्था

डा. सुवास आचार्यका अनुसार ग्रान्डी अस्पतालमा एन्टिबायोटिकको समुचित प्रयोग गर्ने उपचार पद्धति अपनाउँदा कडा (कार्बोपेनम ग्रुप) का एन्टिबायोटिकको खपत ७० प्रतिशतले घटेको थियो। जसको अर्थ हुन्छ, त्यसअघि ७० प्रतिशत एन्टिबायोटिकको प्रयोग अनावश्यक रुपमा भइरहेको थियो।

एन्टिबायोटिक महँगो पनि हुने भएकाले उपभोक्ता दोहोरो मारमा परिरहेका हुन्छन्। एक वर्षअघि नेपालकै नाम चलेको अर्को अस्पतालमा ३७ दिन कोलिस्टिन नामक तेस्रो लाइनको एन्टिबायोटिक दिइएका बिरामीको संक्रमण नियन्त्रणमा आएन। त्यसपछि बिरामीका आफन्तले जबर्जस्ती रिफर गरेर ग्रान्डी हस्पिटल पु¥याएका थिए। ग्रान्डीले अर्को अस्पतालले दिइरहेको एन्टिबायोटिक बिरामीका लागि जरुरी नहुने ठह¥यायो र आफ्नै उपचार प्रणालीबाट बिरामी सञ्चो पार्‍यो। ती बिरामीले उक्त अस्पतालमा एन्टिबायोटिकको असर मात्रै झेल्नुपरेन, झण्डै ३ लाख रुपैयाँ एन्टिबायोटिकको मूल्यसमेत चुकाउनुपर्‍यो।

उक्त उपचारमा संलग्न आइसियू विशेषज्ञ डा. आचार्यका अनुसार नेपालका प्रायः अस्पतालका ल्याबमा ब्याक्टेरियाको जाँच गर्ने तरिका पुरानै छ। उनी भन्छन्, ‘ब्याक्टेरिया त स्वस्थ मान्छेको हात–खुट्टा, नाक केही ठाउँको नमूना लिएर जाँच गरे पनि भेटिन्छ। सबैलाई एन्टिबायोटिक चाहिँदैन।’

त्यसैले नेपालका अस्पतालहरुले एन्टिबायोटिकको समुचित प्रयोगका लागि विश्वका अस्पतालहरुले अपनाएको नीति अपनाउनै पर्छ। डा. कार्की भन्छन्, ‘एन्टिबायोटिकको अनुचित प्रयोग नहोस् भन्नका लागि विश्वमा अस्पतालले छुट्टै नियन्त्रण संयन्त्र बनाएका हुन्छन्। जहाँ कुनै चिकित्सकले कडा एन्टिबायोटिक प्रयोग गर्नुअघि उक्त संयन्त्रसँग कारण सहित अनुमति माग्नुपर्छ। अनुमति प्राप्त भए मात्रै उक्त औषधीको प्रयोग गर्नुपर्छ।’

अस्पतालजन्य संक्रमण रहेकाले हरेक अस्पतालले कडा खालको ब्याक्टेरिया कति छ भन्ने जाँच्नुपर्छ। विकसित देशका अस्पतालले आफ्नो आइसियूमा कडा खालको ब्याक्टेरिया कति आयो भन्ने रिपोर्ट सरकारलाई गर्ने गरेको डा. अधिकारी बताउँछन्। उनले भने, ‘सरकारले त्यसका आधारमा नियन्त्रणका लागि नीति बनाउँछ। ३० देखि ४० प्रतिशत बेडमा मल्टिड्रग रेसिस्टेन्स आयो भने आइसियू बन्द गर्नुपर्छ।’

अस्पतालजन्य संक्रमण जल्दोबल्दो मुद्दा हो। यहाँ हुने संक्रमण घटाउन अस्पतालहरुले आपसी सहकार्य गर्न जरुरी रहेको डा. कार्कीको सुझाव छ। सबै अस्पतालका माइक्रोबायोलोजी विभागले तयार गरेको तथ्यांक एकीकृत गरेर अध्ययन, विश्लेषण गर्नुपर्ने उनी बताउँछन्। भने, ‘सबै अस्पतालका माइक्रोबायोलोजी विभागले कल्चर गरेको रिपोर्टको नतिजा केन्द्रीकृत गर्नुपर्छ। जसले कुन अस्पतालमा कुन ब्याक्टेरियाका लागि कुन एन्टिबायोटिकले काम गरिरहेको छैन भन्ने थाहा हुन्छ।’ यो विवरण सबै चिकित्सकले पाउने र नियमित अपडेट गर्ने प्रणालीको विकास गर्दा अस्पतालजन्य संक्रमण घटाउन सकिने उनको विश्वास छ।

भइरहेको छ धेरैको मृत्यु’

नेपालमा एन्टिबायोटिक रेसिस्टेन्स सम्बन्धी सर्वेक्षण हुन सकेको छैन। तर, रेसिस्टेन्स दर उच्च रहेको भन्नेमा यस सम्बन्धी जानकार सबै एकमत छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुकी निर्देशक डा गीता शाक्य नेपालमा केही एन्टिबायोटिक रेसिस्टेन्स भएको बताउँछिन्। उनले व्यापक सर्वेक्षण नभइसकेकाले तथ्यांक नभए पनि एन्टिबायोटिक प्रभावहीन हुँदा मृत्यवरण गर्नेको संख्या ठूलो रहेको बताइन्। एन्टिबायोटिक बढी प्रभावहीन भइरहेका मुलुकमध्येमा पर्ने भारत र पाकिस्तान बराबरको स्थितिमा नेपालमा रहेको डा. अधिकारी बताउँछन्। शिक्षण अस्पतालका आइसियू इन्चार्ज डा. आचार्यका अनुसार कडाभन्दा कडा एन्टिबायोटिक पचाइसकेको ब्याक्टेरिया (सुपरबग) नेपालका अस्पतालमा ७० प्रतिशतसम्म भेटिन्छन्। जबकी अमेरिकामा १० देखि २० प्रतिशत मात्रै छ।

अन्य कुनै रोग लागेर अस्पताल पुगेका बिरामीको निमोनिया भएर मृत्यु भएको चिकित्सकले बताउने गर्छन्। डा. आचार्यका अनुसार यो मृत्यु एन्टिबायोटिकले काम नगरेको अवस्थामा हो। उनी भन्छन्, ‘औषधीले काम नगरेर पनि निमोनिया हुनसक्छ।’

यसरी हुने निमोनिया अस्पतालजन्य संक्रमणका कारण पनि हुन्छ। किनभने अस्पतालका भित्ता, स्वास्थ्यकर्मीले लगाउने गाउन, उपकरणमा पनि एन्टिबायोटिक पचाइसकेका ब्याक्टेरिया हुने गर्छन्। तीनको संक्रमण भयो भने बिरामी जोगाउन मुस्किल पर्ने उनको भनाइ छ। ‘सुपरबग’ भनिने यी ब्याक्टेरिया विश्वकै नयाँ चुनौती बनिरहेको छ। यसलाई नियन्त्रण गर्न अस्पतालहरु लाग्नुपर्ने उनी बताउँछन्। अस्पताल सञ्चालक र चिकित्सकलाई यसबारे जानकारी भए पनि उचित ध्यान नदिएको उनले बताए।

अब के गर्ने?

यो समस्याबाट जोगिन विभिन्न क्षेत्रबाट हस्तक्षेप गर्न जरुरी छ। एन्टिबायोटिक प्रयोग घटाउने र समुचित प्रयोग गर्ने नीति अपनाउनुपर्छ। यसका लागि विश्व स्वास्थ्य संगठनले ग्लोबल एक्सन प्लान, २०१५ बनाएको छ। जसमा उपभोक्ता, चिकित्सा वर्ग, नीतिनिर्माता र सरोकारवाला सबैलाई लक्ष्य गर्दै विभिन्न नीति तथा कार्यक्रम आत्मसाथ गर्न निर्दिष्ट गरिएको छ।

उपभोक्तालाई लक्षित गरी ‘प्रभावकारी शिक्षा सञ्चार र तालिमको माध्यामबाट एएमआरका विषयमा जनचेतना फैलाउनुपर्ने’ भनिएको छ। यसैगरी सरोकारवालालाई निगरानी राख्न, सर्वेक्षण गर्न भनिएको छ। अस्पतालजन्य संक्रमण बढ्दो क्रममा रहेको कुरालाई मध्यनजर गर्दै स्वच्छता र संक्रमण रोकथामका उपायलाई प्रभावकारी बनाउन विभिन्न उपाय अख्तियार गर्न सुझाइएको छ।

पछिल्लो समय मानवमा मात्रै होइन, पशुपन्छीमा समेत एन्टिबायोटिकको प्रयोग अत्याधिक रहेको विषयमा समुचित प्रयोगलाई बढवा दिने डब्लुएचओको एक्सन प्लानमा उल्लेख छ। नयाँ औषधी, निदानको विधि, खोप र अन्य उपायका लागि देशको आवश्यकता अनुरुप नयाँ र दिगो आर्थिक लगानीको विकास भनिएको छ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live