समाचार

कास्कीमा ५६ हजारको स्वास्थ्य बीमा

स्वास्थ्य खबरपत्रिका

पोखरा- कास्कीमा झण्डै एघार महिनाको अवधिमा ५६ हजार ४५० जनाले स्वास्थ्य बीमा दर्ता गराएका छन् । 

गत पुस १२ गतेदेखि नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति कास्कीले बीमा दर्ता प्रक्रिया शुरु गरेकोमा आजसम्म १२ हजार ३०० परिवार बीमामा आवद्ध भएका छन् । बीमा दर्ता गरेबापत रु तीन करोड ७० लाख संकलन भएको कार्यालयका प्रबन्धक कृष्णप्रसाद भट्टराईले जानकारी दिए। 

बीमा दर्ता गराएका २५ हजार २०० जनाले सेवा लिएका र सेवा दिएका अस्पताललाई समितिले रु दुई करोड ५० लाख भुक्तानी गरिसकेको छ । विसं २०७२ चैत २५ गतेदेखि कैलालीबाट बीमा कार्यक्रम शुरु भएको हो । बीमा दर्ता गरेका सदस्यले कास्कीका दश सेवाप्रदायक स्वास्थ्य संस्थाबाट ५३० प्रकारका सूचीकृत औषधि र २७ प्रकारको विविध उपचार सेवा पाइरहेको भट्टराईले बताए। 

कास्कीका सेवा प्रदायक स्वास्थ्य संस्थामा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल अस्पताल, गण्डकी मेडिकल कलेज, हिमालय आँखा अस्पताल, शिशुवा अस्पताल, मातृशिशु मितेरी अस्पताल, अर्मला, भेडावारी, कृस्ती र थुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्र रहेका छन्। 

जिल्लामा हाल १०७ जना बीमा दर्ता सहयोगी एउटा महानगरपालिका र चार गाउँपालिकामा खटिएका छन् । पाँच जनासम्मको प्रति परिवारले वार्षिक रु दुई हजार ५०० योगदान रकम बुझाउनुपर्नेछ । परिवारमा पाँच जनाभन्दा बढी सदस्य भए प्रति सदस्य रु ४२५ का दरले थप रकम बुझाउनुपर्ने छ।

सुविधाको थैलीको सीमा पाँचजना परिवारको हकमा वार्षिक रु ५० हजार तथा पाँच जनाभन्दा बढी सदस्य भएमा प्रति थप सदस्यबापत रु १० हजारको सीमा बढ्दै जाने र अधिकतम सीमा रु एक लाखसम्म कायम गरिएको छ। रासस

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live