मुख्य समाचार

ढल भरिएर दुर्गन्ध फैलिँदा पनि भरतपुर महानगर बेखबर

स्वास्थ्य खबरपत्रिका

चितवन- ढल भरिएर दुर्गन्ध फैलिन थालेपछि बिरामी हुने डरले नारायणगढ संगम मार्गस्थित प्रतीक भेट फर्माका सञ्चालक धनलाल श्रेष्ठले पसल नै बन्द गरेका छन्।

महिनैपिच्छे महानगरपालिकाले तोकेको सरसफाइ शुल्क बुझाउँदै आए पनि महानगरले वास्ता नगरेको उनी सुनाउँछन्। 'सरसफाइको कुनै नाम नै लिदैनन्। शुल्क उठाएर पनि व्यापारीहरू दुर्गन्धले आजित बनेका छन्,' उनी भन्छन्, 'यहाँ व्यापारीहरु दिनभर नाक थुनेर बस्नुपरेको छ।'
 
दुई चार पैसाको आम्दानीको नाममा आफैं हस्पिटल गएर बस्नुपर्ने स्थिति आएपछि आफूले पसल बन्द गर्नुपरेको उनले बताए। 'जबसम्म महानगरपालिकाले सफाइ गर्दैन, तबसम्म पसल नखोल्ने अडानमा छु,' उनको बाध्यता छ। दुर्गन्ध फैलिएपछि स्थानीयसमेत बिरामी हुन सक्ने भएकाले महानगरले यसतर्फ चाँडै ध्यान पुर्याउनुपर्ने उनी बताउँछन्।

स्थानीय तह निर्वाचनका बेला विभिन्न दलका उम्मेदवारले भरतपुर–नारायणगढ क्षेत्रलाई सुन्दर, शान्त, हरियाली र पूर्ण सरसफाइयुक्त बजार बनाउने मुख्य एजेन्डा बनाए पनि त्यो कागजमै सीमित छ। जनप्रतिनिधि आएको यतिका समय बितिसक्दासमेत नगर क्षेत्रमा सरसफाइ हुन सकेन। 

विशेषगरी नारायणगढ बजारको सहिदचोकदेखि बेलचोकसम्मको सडक छेउछेउमा ढल भरिएर बजार नै दुर्गन्धित हुँदासमेत जनप्रतिनिधि बेखबर बनेका छन्। फोहोर बढेर सडकमै दुर्गन्ध फैलिए पनि प्रतिनिध गैरजिम्मेवार बन्ने गरेको आरोप स्थानीयको छ। 

उसो, त आफ्नै घरअगाडि ढल भरिएर सास फेर्नै नसक्ने गरी गन्हाउँदा पनि घरधनीहरूले जिम्मेवारी देखाएका छैनन्। घरधनीहरुले साँझ परेपछि शौचालयको फोहोरसमेत मोटर लगाएर त्यही ढलमा मिसाउने गरेका छन्। यस विषयमा वडाध्यक्षलाई जानकारी गराए पनि कुनै सुनुवाइ स्थानीय एक व्यापारीले बताए।

भरतपुर महानगरपालिका वडा नं. ३ का अध्यक्ष चन्द्रमित्र पण्डित भने सरसफाइ गर्नुपर्ने कर्तव्य स्थानीय तहको भएको र त्यहाँका जनप्रतिनिधिहरूले काम गर्नै नपाएको बताउँछन्। 

महानगरपालिकाका पदाधिकारी भने नगरपरिषद् गर्नै नभ्याएको भन्दै पन्छिने गरेका छन्। ‘हामीले गर्ने पहिलो काम नै ढल सरसफाइ हो। तर, विभिन्न चाडपर्व र अहिलेको निर्वाचनले गर्दा हामीले परिषद् गर्न सकेका छैनौँ,' महानगरपालिकाकी उपमेयर पार्वती शाहीले भनिन्, 'यस कारण पनि काममा अलि ढिलाइ भइरहेको हो।'
 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live