डक्टर्स आर्टिकल

वृद्धावस्थामा आउने स्वास्थ्य समस्या

डा. कपिलदेव उपाध्याय, मनोचिकित्सक

वृद्धावस्थामा हाम्रो शरीरको सबैभन्दा कडा मानिने दाँतको इनामेल खिइँदै बिग्रँदै जान्छ र दाँतमा अनेक समस्या उत्पन्न हुन्छन् । शरीरका ठूला जोर्नीहरु खास गरिर घुँडा र कुमको जोर्नीका हड्डी खिइएर र जोर्नी भित्रको चिप्लो रस (फ्लुइड) सुक्दै जान्छ र जोर्नी चलाउँदा दुख्न थाल्छन् । दाँत कमजोर भएपछि चपाउने शक्ति घट्दै जाँदा खानपिनमा समेत समस्या आउँछ । रगतका नली कडा हुँदै जान्छन् र रक्त सञ्चालनमा समस्या देखिन थाल्छन् । फोक्सोले पहिलेजस्तै अक्सिजन लिन सक्दैन र हिँड्दा, परिश्रम गर्दा सास फुल्न थाल्छ । दिसा, पिसाब समेत पहिलेजस्तो पेट सफा हुनेगरि खुलेर हुँदैन, कब्जियतको समस्या र पुरुषमा प्रोस्टेटको समस्या देखिन थाल्छ । मस्तिष्कका विभिन्न भागका न्युरोन्स वा कोष सुक्न थाल्छन, मस्तिष्कको आकार घटछ, स्मरणशक्ति समेत केही न्यून घट्न सक्छ । टाउकोमा ठोक्कियो वा चोटपटक लागेमा वा मस्तिष्कमा रगत जम्यो भने बोली व्यवहार नै परिवर्तन हुन्छ।

आँखामा मोतीविन्दु भए दृष्टी क्षमता हराउँछ । कानका नशा सुक्दै जान्छन् र सुन्न समेत कठिन हुन्छ । ८५ वर्ष नाघेका करिब ४० प्रतिशत व्यक्तिमा स्मरणशक्ति निकै घटेको पाइएको छ । वैज्ञानिकहरूले अनेकौं अनुसन्धान गरे पनि मानिस किन र कसरी बूढो हुन्छ पत्ता लगाउन सकेका छैनन् । हामीले दिनहुँ देख्ने संसारका निर्जीव र सजीव सबैमा निरन्तर परिवर्तन भइरहेको छ । मानिस, जनावर, रुख, बिरुवा, नदीनाला, हिमाल, पहाड, ढुंगा, माटो सबै परिवर्तन भइराखेको छ । यी सबै परिवर्तन प्रकृतिको नियम नै हो भन्न सकिन्छ।

पहिले मानिसको औसत आयु ३० वर्ष मात्र थियो भने आजकल ६०÷७० वर्ष पुगेको छ । अहिले नेपालीको औसत आयु ६९ वर्ष पुगेको छ, यति उमेरसम्म बाँच्न पाउनु पनि ठूलै भाग्य मान्नु पर्छ । दुर्घटना, रोगव्याध, उग्रवादी आक्रमण र आत्महत्याजस्ता कारणले मानिसहरूको अकालमा मृत्यु भइरहेको छ, यो दुःखको कुरा हो।

उमेर बढदै जाँदा उच्च रक्तचाप, डाइबेटिज(मधुमेह) हुने सम्भावना बढ्दो रहेछ । हुन त यी रोग लाग्ने प्रमुख कारण वंशाणुगतभन्दा पनि अस्वस्थ्य जीवनशैली र खानपान हो भन्ने विदेशमा भएका विभिन्न अध्ययनल निष्कर्ष निकालेका छन् । शारीरिक परिश्रम नगर्ने, मोटरसाइकल वा कारमा हुँइकिने, कुर्सी वा सोफामा बसेर धेरै बिताउने, हरियो सागपात, ताजाफलफूल र ताजा पकाएको खानेकुरा खानुभन्दा पनि बजारमा पाइने तयारी खानेकुरा र जंक फुड धेरै खाने युवा तथा ४०/४५ वर्ष उमेरका मानिसमा उच्च रक्तचाप र मधुमेहजस्ता समस्या धेरै देखिन थालेको छ । 

वृद्धावस्थामा कब्जियत हुने, ट्वाइलेट छिटो छिटो जानुपर्ने र पिसाव चुहिने समस्या आउँछन् भने हातखुट्टा काम्ने र दृष्टी कमजोर हुनाले नङ काट्न, हातखुट्टा सफा गर्न र नुहाउन समेत समस्या पर्छ । बाथरुममा लड्ने वा भर्‍याङ वा सिँढीमा लड्दा टाउकोमा चोट लाग्ने वा हातखुट्टा भाँचिने हुनसक्छ । 

वृद्धावस्थामा दैनिक जीवनयापन गर्न १÷२ जना सहयोगी चाहिने अवस्था आएपछि त्यस्तो सहयोग कसले गर्ने समस्या अहिले नेपालमा पनि देखिन थालेको छ । पहिले संयुक्त परिवारमा बस्ने र छोराछोरी धेरै हुँदा वृद्धावस्थामा कोही न कोही साथमा हुने गर्थे । अहिले एकल परिवार र महिला पुरुष दुवै कामकाजी हुँदा सहरका घरमा बुढाबुढी मात्रै हुने स्थिति आएको छ । गाउँघरमा पनि काम गर्न सक्ने उमेरका मानिस सहर वा विदेश जाने भएकाले घरमा बुढाबुढीहरू एक्लै नै हुने गरेका छन् ।

सम्पन्न परिवारका युवा उच्च शिक्षा अध्ययन गर्न अमेरिका, अस्ट्रेलिया वा युरोप जाने क्रम जारी छ । डिभी लटरी परेर अमेरिका जाने पनि प्रसस्त छन् । संपत्ति भए पनि वृद्धवृद्धाको हेरचाह र स्याहारसुसार गर्ने मान्छे भने छैनन् ।

२५/३० वर्षका युवाले बाल्यकाल बिर्सिसकेका हुन्छन् भने वृद्धावस्था परै हुन्छ, त्यसबारे सोच्ने कुरै भएन । आफैंलाई नपरुन्जेल बाबुआमाको समस्या कहाँ बुझिन्छ र !
उदाहरणका लागि एक जना ७० वर्षकी वृद्धा बेलाबेलामा मेरोमा आउनुहुन्छ । उच्च रक्तचाप र मुधुमेहको औषधि खाइरहनु भएको छ । उहाँका दुई छोरा अमेरिकामा हुनुहुन्छ रे । दुई पटक त उहाँ पनि अमेरिका गएर छोराबुहारी  नातिनातिनासँग बस्नु भयो रे । छोराहरू आमाबुबालाई अमेरिकामै राख्न चाहन्छन् तर आमाबाबु नै त्यहाँ गएर बस्न चाहनुहुन्न । उहाँको चाहना कम्तीमा एक जना छोरा पालैपालो आफूसँग बसोस् भन्ने छ, तर कामका कारण छोराहरू यहाँ आएर सँगै बस्न सक्दैनन् । डाक्टरकहाँ आउँदा छोराहरूलाई सम्झाइदिनुस् भन्नुहुन्छ र यही चिन्ताले निद्रा लाग्दो रहेनछ उहाँलाई । उहाँको चिन्ता यहाँको घर, जग्गाजमिनलगायत संपत्ति अब कसले हेर्छ, के हुन्छ भन्ने रहेछ । छोराहरूले दिनदिनै फेसटाइम÷भाइबरमा कुरा गर्दा रहेछन्, बेलाबेलामा भेट्न आउँदा रहेछन् । यहाँ हेरचाह गर्ने एक जना पुरुष र एक जना महिला घरमा राखिदिएका रहेछन् । तर उहाँको एकमात्र सोच रहेछ– एक जना छोरा सँगै बस्नै पर्छ ।

यस्तै अरु कति परिवारमा भने फोन समेत नगर्ने, भेट्न नआउने र घरको आमाबुबाको वास्तै नगर्ने छोराछोरी पनि धेरै छन् । यो समस्या हाम्रो समाजमा जटिल बन्दै गएको छ र वृद्धाश्रमको आवश्यकता बढ्दै गएको देखिन्छ ।

वृद्धवृद्धाले भोगिरहेका धेरै समस्यामध्ये यहाँ केहीको झलक मात्र दिन खोजिएको हो । वृद्धवृद्धामा सबैभन्दा बढी समस्या एक्लोपनको र समय कसरी बिताउने भन्ने हुने रहेछ । पतिपत्नीमध्ये एक जनाको मृत्यु भएर एक्लै भएका वृद्धवृद्धालाई यो समस्या अझै बढी छ । 
    समय बिताउने र एक्लोपनको अनुभूति घटाउन उमेर छँदै अभ्यास गर्ने र बानी पार्ने गर्नुपर्छ । यसो गर्ने केही तरिका यसप्रकार छन् ः
    बिहान उठेर २ घन्टाजति पूजापाठ, जप, ध्यान र योग गरि समय बिताउनु राम्रो मानिन्छ । जप गर्न मन्त्र नै चाहिन्छ भन्ने छैन, ॐ को मात्र जप गर्दा पनि हुन्छ । 
    नजिकै कुनै पार्क वा नदी वा पोखरी छ भने त्यहाँ गएर एक घन्टा समय बिताउन सकिन्छ । 
    घर कम्पाउन्डमा किचेन गार्डेन छ भने फूल, सागपात लगाउन र स्याहार गर्न सकिन्छ । आफूले सक्ने काम गर्नु राम्रो मानिन्छ । बसेर वा सुतेर समय बिताउनुभन्दा आफूले सक्ने काम अभिरुचिपूर्वक गर्दा शारीरिक र मानसिक रुपमा स्वस्थ रहनुका साथै समय पनि कट्छ ।
    पत्रपत्रिका पढ्ने बानी पनि राम्रो हो । तर समाचारभन्दा पनि राम्रा लेख पढ्नु राम्रो मानिन्छ । समाचारमा प्रायः नकारात्मक घटनाको बाहुल्यता हुने भएकाले नकारात्मक सोच बढाउँछ । त्यसैले दिनको एकपल्टभन्दा बढी टिभीमा समाचार हेनुर्, रेडियोमा सुन्नु वा अखबारमा पढ्नु गर्नु वृद्धावस्थामा त्यति उचित मानिँदैन । 
    आफूलाई मनपर्ने विषयका नयाँ र राम्रा पुस्तक पढ्दा मस्तिष्कमा सकारात्मक असर पर्छ । घरमा पुस्तक छैन र किन्न कठिन छ भने पुस्तकालय जान सकिन्छ ।
    मनपर्ने संगीत सुन्दा मानसिक तनाव घट्छ । आजकल मोबाइलमा समेत धेरै गीत राख्न सकिन्छ ।
    मोबाइलको सन्दर्भमा कतिपय वृद्धवृद्धाले चलाउनै आउँदैन भन्नुहुन्छ । यथार्थमा जति नयाँ नयाँ कुरा सिक्यो, त्यति नै बढी मस्तिष्क सक्रिय हुन्छ । त्यसैले नयाँ नयाँ कुरा सिक्नु पर्छ ।
    आफ्ना साथीहरूसँग फोनमा कुराकानी गर्ने र बेलाबेलामा भेटघाट गर्नुपर्छ ।
    वृद्धवृद्धाहरूमा कहिलेकाहीँ उभिएका बेला रिङटा लाग्ने र आँखा अगाडि अँध्यारो छाउने गर्छ । रक्तचाप घटेर मस्तिष्कमा रक्तसञ्चार हुन नसक्दा यस्तो स्थिति आउँछ । यस्तो स्थितिमा तुरुन्त बस्यो भने ठीक हुन्छ ।
    निद्रामा नराम्रो सपना देखे वा कसैले लखेटेको वा कुटपिट गर्न आएको देखेमा आत्तिनु वा डराउनु हुँदैन । यो कुनै नराम्रो संकेत होइन र कुनै नराम्रो रोगको लक्षण पनि होइन ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live