विचार/ब्लग

आफूखुसी औषधि किन्न आउने धेरै छन्

स्वास्थ्य खबरपत्रिका

संगीता श्रेष्ठ


रामेछापकी संगीता श्रेष्ठले एसएलसीपछि तीन बर्से फार्मेसी डिप्लोमा सकेको एक वर्ष भयो। फार्मेसी पढ्दापढ्दै शंखमूल फार्मेसीमा काम थालेकी उनले त्यहाँ काम गरेकै दुई वर्ष भयो। 
सानोमा धेर बिरामी भइरहने भएकाले अस्पताल गई राख्नु पथ्र्यो उनलाई। त्यसैले औषधि क्षेत्रमा काम गरेर अरुको दुःख कम गर्न पाए हुन्थ्यो भन्ने उनको मनमा खेलिरहन्थ्यो। 

आफूलाई औषधि खाएपछि त्यो पीडा कम हुने भएकाले उनले सानैदेखि पछि स्वास्थ्य क्षेत्रमा काम गर्छु भन्ने इच्छा पालिन् र एसएलसीपछि स्वास्थ्य क्षेत्र नै रोजिन्। संगीताले आफ्नो फार्मेसी क्षेत्रको अनुभव यसरी सुनाइन्ः

मेरो फार्मेसी पढ्ने इच्छामा परिवारको पनि सहयोग मिल्यो। मलाई लाग्थ्यो, हेल्थ क्षेत्रमा फर्मेसी पनि एउटा महत्वपूण अंग हो। 

फार्मेसी पढ्दै छु भन्दा, औषधि बेच्ने मात्र त हो नि भन्ने बुझाइ छ। तर, फार्मेसी पढेकाले औषधि दिने मात्र नभई कसरी खाने, कति खाने भनेर परामर्श दिने, औषधि खान सिकाउने जस्तो महत्वपूर्ण भूमिका पनि निभाएका हुन्छन्। 

फार्मेसीबारे समाजमा त्यति चेतना फैलिसकेको छैन। मैले त्यस्तै अनुभव गरेकी छु। स्वास्थ्य खबरले ‘फार्मेसीका कुरा’ कोलम राखेर फार्मेसीसँग सम्बन्धित विषयलाई उजागर गरेकोमा खुसी लागेको छ। 

अब यहाँबाट फार्मेसीबारे धेरै पाठकसमक्ष जानकारी पुर्याउन सकिनेछ भन्नेमा म विश्वस्त छु। यो औषधि बेच्ने मात्र होइन यो एउटा सेवामूलक पेशा पनि हो भन्ने अवगत भयो भने फार्मेसी अध्ययन गरेर काम गर्नेहरुलाई पनि सम्मान मिल्नेछ। 

औषधि पसल खोलेर बसेको मान्छेले औषधि लिन आउने मानिसलाई परामर्श दिनुपर्छ। औषधि बेच्ने मात्र नभएर औषधिबारे जानकारी पनि दिनुपर्ने हुन्छ। 

धेरै बिरामीले औषधि लिन आउँदा ‘मैले यो रङको खोल भएको औषधि खाइरहेको छु, यो साइजको छ, त्यस्तै दिनु न’ भन्छन्। डाक्टरको प्रेस्क्रिप्सन दिनु न त भन्दा, एकपटक देखाउनुस् न म चिन्छु भन्ने जवाफ दिन्छन्। तर एउटा देखाए पनि हो भन्छन्, अर्को देखाए पनि हो नै भन्छन्। आफूखुसी औषधि किन्न आउनेहरु धेरै भेटिन्छन्। 

त्यसो गर्दा कुन औषधि हो भन्ने थाहा हुँदैन। त्यसको डोजमा पनि फरक पर्छ। औषधि जस्तो कुरा साइज र कलरका आधारमा माग्नु हुँदैन। डक्टरले लेखिदिएको कागज ल्याउनुपर्छ, त्यो छैन भने औषधिको खोल ल्याउनुपर्छ, त्यो पनि छैन भने डक्टरकहाँ गएर लेखेर आउनुपर्छ। 

औषधि प्रयोगमा थोरै मात्र लापरबाही भए पनि त्यसले ठूलो खतरा निम्त्याउन सक्छ। 

‘नार्कोटिक ड्रग’ पसलमा बेच्नै मिल्दैन। डक्टरको सल्लाहबिना त्यसको दुरुपयोग भइरहेको छ। त्यसका साथै एन्टी एलर्जी ड्रग, एन्टी कफ ड्रग, वान्ता रोक्ने औषधिको पनि दुरुपयोग भइरहेको पाइन्छ। तर, औषधि माग्न आउनेहरुले जबर्जस्ती औषधि लिन खोज्छन्। कतिपय औषधि पसलमा बिक्री हुने त हो नि, भनेर वास्ता नगर्ने गरेको पनि पाइन्छ। यो क्रमले फार्मेसी जगतकै बदनामी बाहेक केही हुँदैन।

सुइ बेच्च त मिल्छ, तर जथाभावी दिन मिल्दैन। ‘औषधि दिनलाई सुइ चाइयो’ भन्दै आउनेको संख्या थुप्रै हुन्छ। एउटै सुइ घरीघरी प्रयोग गर्दा विभिन्न प्रकारका रोग सर्छ भनेर बुझाउन हामीलाई हम्मेहम्मे पर्छ। त्यसैले फार्मेसीमा जथाभावी औषधि दिने क्रमलाई नियन्त्रण गर्न जरुरी छ। 

उदाहरणकै लागि, फार्मेसीमा साइनेक्स माग्छन्, दिइसकेपछि ‘यसले टाउको दुखेको पनि सन्चो हुन्छ नि है’ भनेर सोध्छन्। 

यस्तै, आकस्मिक गर्भनिरोधक चक्कीको पनि बढी दुरुपयोग हुने गरेको छ। तर, यस्ता चक्कीमा धेरै हामेर्न हुन्छ, धेरै साइड इफेक्ट हुन्छ भन्नेबारे अधिकांशलाई जानकारी हुँदैन। त्यस्तो औषधिको प्रयोग गर्नै पर्ने स्थितिमा मात्र गर्नुपर्छ, बारम्बार प्रयोग गर्नु हुँदैन। तर, यस्ता चक्की किन्न आउनेहरुलाई औषधि पसलमा बुझाउन गाह्रो हुन्छ। 

औषधि लिन आउनुपर्ने व्यक्तिहरुलाई परामर्श दिनुपर्ने र सही औषधि दिनुपर्ने भएकाले औषधि पसलहरुमा दक्ष जनशक्ति हुनुपर्छ भन्ने मेरो मान्यता हो। हामीकहाँ धेरै फार्मेसीमा अदक्ष जनशक्तिले काम गरिरहेका हुन्छन्। त्यसले औषधिको दुरुपयोग बढाउन प्रोत्साहन गर्छ भन्ने लाग्छ। सिएमएले पनि औषधि बेच्न पाउनुपर्छ भन्ने कुरा चल्छ, जबकि १८ महिने कोर्स पढेकाले औषधि बेच्न पाउनुपर्छ भन्ने कुरा वैज्ञानिक छैन। वर्षौं लगाएर फार्मेसी पढेको जनशक्ति बेरोजगार बस्ने अनि मेडिकलहरुमा अदक्ष जनशक्तिले काम गर्ने वातावरण हुनु हुँदैन। 

सरकारले फार्मेसीका लागि एकदमै थोरै कोटा खुलाउँछ, अनि थोरै जनशक्तिले कहाँ–कहाँ काम गर्नु? त्यसैले फार्मेसी क्षेत्रमा पनि धेरै दरबन्दी दिने हो भने फार्मेसी अध्ययन गरेका दक्ष जनशक्ति देशका कुनाकाप्चा सम्म पुर्याउन सकिन्छ। यसले औषधि सेवनको गलत तरिकालाई सुधार गर्न ठूलो सहयोग गर्नेछ। 

देशका विकट क्षेत्रमा कुनै व्यक्ति आफैंले फार्मेसी खोल्न त्यति सहज छैन, त्यसैले सकेसम्म सरकारले आफ्ना स्वास्थ्य संस्थामा फार्मेसी खोलेर अध्ययन गरेका जनशक्तिलाई काममा लगाउने हो भने यसले स्वास्थ्य सेवामा ठूलो फड्को मार्नेछ भन्ने मलाई लाग्छ। 

सहरमा फर्मेसी खोल्ने प्रतिस्पर्धा देखिन्छ, तर गाउँमा एउटा सिटामेल र पेट दुखेको औषधि नपाएर मान्छे छटपटिन्छन्। त्यसैले मलाई काठमाडौंमा बसेर फार्मेसी खोल्नुभन्दा सरकारी कोटामा नाम निकालेर विकट क्षेत्रमा गएर सेवा गर्ने मन छ। 

यस्तै, साना सहर र गाउँतिर त सिएमए र एचएले पनि फार्मेसी चलाएका हुन्छन्।  फार्मेसी पढेर निकालेको लाइसेन्स भाडामा दिने पनि थुप्रै भेटिन्छन्। भर्खर पढेकासँग फार्मेसी खोल्ने पैसा हुँदैन, अनुभव हुँदैन त्यसैले धेरैले आफू काम गर्न फार्मेसीलाई आफ्नो लाइसेन्स भाडामा दिने गर्छन्। यसले औषधि क्षेत्रमा विकृति निम्त्याएको छ। औषधि व्यवस्था विभागले कडाइ गर्ने हो भने यस्ता विकृति अन्त्य गर्न सकिएला। 

यसैगरी, डाक्टरहरुले पनि बुझिने अक्षरमा औषधि लेखिदिए हामीजस्तो औषधि दिने मनिसलाई सजिलो हुन्छ। कहिले काहीँ डाक्टरको अक्षर नबुझेर पनि बिरामीले सही औषधि नपाउन सक्छन्। 
औषधि धेरै संवेदनशील हुन्छ, त्यसैले औषधि किन्दा निकै ध्यान दिनुपर्छ। औषधिमा मनपरी गर्नु भनेको आफ्नै स्वास्थ्य खतरामा पार्नु हो, तसर्थ डाक्टरले लेखेका सही औषधि मात्र प्रयोग गर्ने बानी बसालौं। 

प्रस्तुतिः सिर्जना खत्री

(स्वास्थ्यखबर अनलाइनले 'फार्मेसीका कुरा'लाई स्तम्भकै रुपमा सुरु गरेको छ। तपाईंसँग पनि फार्मेसीसम्बन्धी आफ्ना अनुभव, विचार वा कुनै पनि सुझाव छन् भने हामीलाई लेखेर पठाउन सक्नुहुनेछ। सम्पर्क: [email protected])

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live