मुख्य समाचार

भेरी अञ्चल अस्पतालमा दुरबिन प्रविधिबाट पित्तथैलीको शल्यक्रिया

कृष्ण अधिकारी

नेपालगञ्ज– भेरी अञ्चल अस्पतालले दुरबिन प्रविधिबाट पित्तथैलीको शल्यक्रिया गरी पत्थरी निकाल्ने उपचार सेवा दिन सुरु गरेको छ।

मेडिकल कलेज तथा प्राइभेट अस्पतालहरुमा दुरबिन प्रविधिबाट पित्त थैलीमा रहेको पत्थरी निकाल्ने उपचार सेवा वर्षाैं देखि सञ्चालन हुँदै आए पनि पश्चिम नेपालको सबैभन्दा ठूलो सरकारी अस्पतालको रुपमा रहेको भेरी अञ्चल अस्पतालमा भने पहिलो पटक सुरु भएको हो।

अस्पतालका सर्जन डा सुरेश नाग तथा एनेस्थेसोलिष्ट डा कृष्ण आचार्य सहितको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टिमले बाँके राप्ती सोनारीकी ३८ वर्षिया  बिरामी बेलमती चौधरीको पेटमा प्वाल पारेर पित्तथैलीको सफलतापूर्वक शल्यक्रिया गरेको हो।

सरकारी अस्पतालमै यो सेवा सुरु भएसँगै बिरामीहरुले सहजै र सस्तोमा उपचार सेवा पाउने भएका छन्। नेपालगंजका अन्य निजी स्वास्थ्य संस्थाहरुले दुरबिन प्रविधिबाट पित्त थैलीमा रहेको पत्थरीको शल्यक्रिया गर्दा २० देखि ३० हजारसम्म शुल्क लिने गरेको भए पनि भेरी अञ्चल अस्पतालले सो सेवा ५ हजारमै दिने जनाएको छ।

पित्तथैलीमा पत्थरी हुने समस्या पुरुषमा भन्दा महिलामा बढी देखिने गरेको छ। मोटी, ४० भन्दा बढी उमेर पुगेकी र धेरै सन्तान जन्माएकी महिलामा पित्तथैलीमा पत्थरी हुने समस्या बढी देखिने गरेको चिकित्सकहरुले बताएका छन्।

यो प्रविधिले बिरामीहरुलाई दुखाई कम हुने, अस्पतालबाट पहिलेको तुलनामा  धेरै छिटो डिस्चार्ज हुने, अप्रेशन गरेको दाग तथा घाउहरु पनि कम हुने हुँदा बिरामीहरुलाई  धेरै सहज हुने भएको छ।

यसभन्दा पहिले भेरी अञ्चल अस्पतालमा पत्थरीको उपचार अप्रेशन गरेर मात्रै हुँदै आएको थियो।
 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live