मुख्य समाचार

डा शेखर कोइरालाको दबाबमा कोशी अञ्चल अस्पताललाई पियूको शिक्षण अस्पताल बनाउने अनुमति

स्वास्थ्य खबरपत्रिका

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाको दबाबमा कोशी अञ्चल अस्पताललाई पूर्वाञ्चल विश्वविद्यालय (पियू) को मेडिकल कलेजको शिक्षण अस्पतालका रुपमा प्रयोग गर्न स्वास्थ्य मन्त्रालयले अनुमति प्रदान गरेको छ।

कात्तिक २८ को स्वास्थ्य सचिव स्तरीय निर्णय अनुसार एमबिबिएस अध्यापनका लागि अस्पताललाई विश्वविद्यालयले प्रयोग गर्न पाउने अनुमति दिइएको हो। मन्त्रालयले मंसिर ३ मै विश्वविद्यालयलाई अस्पताल प्रयोग गर्ने सहमतिको पत्र समेत पठाइसकेको छ। 

‘विश्वविद्यालयले एमबिबिएस शैक्षिक कार्यक्रम सञ्चालन गर्न आफ्नै न्यूनतम मापदण्ड अनुसारको अस्पताल नबन्दासम्म वा अर्को व्यवस्था नभएसम्म कोशी अञ्चल अस्पताल विराटनगरलाई शिक्षण अस्पतालका रुपमा प्रयोग गर्न अनुममति तथा स्वीकृत माग भई आएको हुँदा माग बमोजिम एमबिबिएस सञ्चालन गर्नका निमित्त कोशी अञ्चल अस्पताललाई प्रयोग गर्न सहमति दिने निर्णय भएको व्यहोरा जानकारीका लागि अनुरोध गर्दछु,’ मन्त्रालयले विश्वविद्यालयलाई पठाएको पत्रमा भनिएको छ।

डा गोविन्द केसीसँग सरकारले गरेको सहमति अनुसार चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा नआई कुनै पनि संस्थाले मेडिकल कलेज सञ्चालनको अनुमति पाउने छैनन् । राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको चिकित्सा शिक्षा अध्यादेशमा चिकित्सा शिक्षा आयोग गठन भएपछि आयोगको निर्णय अनुसार विश्वविद्यालय वा मेडिकल कलेज सञ्चालन गर्न बाटो खुल्छ।

कांग्रेस नेता कोइरालाले चुनावको मौका छोपी कोशी अञ्चल अस्पताललाई पियूको प्रयोगका लागि निर्णय गराउन दबाब दिएका हुन्। स्वास्थ्य मन्त्री दीपक बोहराले कोशी अञ्चल अस्पताललाई शिक्षण अस्पतालका रुपमा स्विकृती दिएको स्वीकार गरेका छन्। 

विश्वविद्यालयले गोठगाउँमा मेडिकल कलेज सञ्चालनका लागि पूर्वाधार निर्माण गरेको छ। यसका लागि उसको छुट्टै अस्पताल पनि छ। तर, उक्त अस्पतालको पूर्वाधार तथा अन्य आवश्यक जनशक्ति लगायतका मापदण्ड नपुगेको भन्दै नेपाल मेडिकल काउन्सिलले कलेज सञ्चालनको अनुमति दिएको छैन । विश्वविद्यालयले काउन्सिल समक्ष ०६६ सालमा मेडिकल कलेज सञ्चालनको अनुमति मागेको थियो। तर, काउन्सिलले मेडिकल कलेज सञ्चालनका लागि कुनै पनि मापदण्ड पूरा नभएको भन्दै अनुमित नदिएको हो।


 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live