नर्सिङ

रेडियो नाटककी नर्सबाट प्रभावित भएर बनें अनमी

टीका गाहा मगर, अनमी

म स्वास्थ्य सेवामा प्रवेश गरेको झन्डै ९ वर्ष पुग्न लाग्यो। तर, आज पनि सुरुवातका दिनजस्तै नयाँ जस्तो लाग्छ र काम गर्ने जाँगर चल्छ। निकै रहरले पढेकाले पनि होला, मलाई भर्खर मात्रै अनमी भएर काम थालेको जस्तो लाग्छ।

सुष्मा कोइराला मेमोरियल सिएमए/अनमी क्याम्पस नेपालगञ्जबाट ०६४ सालमा अनमी पास गरेपछि बर्दियास्थित सोह्रहवा प्राथमिक स्वास्थ्य केन्द्रमा केही करारमा काम गरेँ। त्यसपछि आफ्नै घर भएको सुर्खेतको मालारानी स्वास्थ्य केन्द्रमा साढे तीन वर्ष काम गरेँ।

०७० सालमा लोकसेवा पास गरेपछि प्राथमिक स्वास्थ्य केन्द्र मगरागाडीमा कार्यरत छु।

सानै छँदा रेडियो नेपालमा आएको नाटकमा छोरीले नर्स भएर आफ्ना बुवाको उपचार गरेको सुनेकी थिएँ। त्यसपछि मलाई पनि नर्स बन्ने रहर जागेको थियो। मेरो बुवा आज हुनुहुन्न। आमा, हजुरआमा, भाउजू र दिदीहरुको सहयोगमा एसएलसीपछि अनमी पढ्ने अवसर पाएकी हुँ। मलाई उहाँहरुले निकै दुःख गरेर सुर्खेतबाट नेपालगञ्ज पढ्न पठाउनुभएको थियो।

हामी अनमीले मुख्यरुपमा गर्भवती जाँच, सुत्केरी गराउने र परिवार नियोजन साधनबारे जानकारी दिने काम गर्नुपर्छ।

पछिल्लो समय ग्रामीण भेगका महिलाहरु स्वास्थ्यप्रति अलि बढी सजग भएजस्तो लाग्छ। गर्भ रहेदेखि नै नियमित स्वास्थ्य केन्द्रमा गएर जाँच गराउने, सुत्केरी हुने र पछि पनि जाँच गराउने क्रम बढेको छ।

म अहिले कार्यरत रहेको मगरागाडीमा थारु समुदायको बाहुल्य छ। सो समुदायका  महिलाहरुमा पनि स्वास्थ्य संस्थामा आएर जाँच गराउने, सल्लाह लिने र सुत्केरी हुन पनि स्वास्थ्य केन्द्रमै आउनुपर्छ भन्ने चेतना बढेको छ।

यति मात्र होइन, सन्तान पनि जन्मान्तर गरेर जन्माउनुपर्छ भन्ने सोचको विकास भएको छ। यहाँका धेरै महिला जन्मान्तरका लागि डिपो र पिल्सको प्रयोग गर्छन्। पछिल्लो समय भने नरप्लान्ट र आइयुसिडी प्रयोग गर्नेको संख्या पनि बढेको छ।

यस क्षेत्रमा कण्डम प्रयोग गर्नेहरुको संख्या भने निकै कम छ। स्वास्थ्य केन्द्रबाट निकै कमले कण्डम लैजान्छन्। बाहिर मेडिकलबाट किनेर लैजाने चाहिँ हुन सक्छन्। यस विषयमा महिलाहरुसँग सोध्दा उनीहरुमध्ये धेरैको जवाफ हुन्छ, ‘श्रीमानले रक्सी खाएका हुन्छन्, कण्डम प्रयोग गर्नै मान्दैनन्।’

पुरुषहरुको यस्तै प्रवृत्तिका कारण यहाँ परिवार नियोजनका अस्थायी साधन गर्नेमा महिलाकै संख्या बढी छ।

हाम्रो स्वास्थ्य केन्द्रमा किशोर–किशोरीमैत्री सेवा पनि छ्, जहाँ विवाहित किशोर–किशोरी परामर्श लिन आउँछन्। अविवाहित किशोर–किशोरी भने खासै आउँदैनन्। किशोर–किशोरीले स्वास्थ्य तथा प्रजनन स्वास्थ्यबारे जानकारी लिन संकोच मान्ने प्रवृत्ति कायमै छ।

स्थानीयहरुले स्वास्थ्य केन्द्रबाट सबै किसिमको उपचार सेवा खोज्ने भएकाले त्यस अनुसारको सेवा–सुविधा उपलब्ध गराउनुपर्ने देखिन्छ। जस्तैः स्वास्थ्य केन्द्रमै शल्यक्रियामार्फत सुत्केरी गराउनुपर्ने व्यवस्था हुन आवश्यक छ। कहिलेकाहीँ सुत्केरीहरु निकै जटिल अवस्थामा आइपुग्छन्। उनीहरुलाई अर्को अस्पताल रिफर गर्दा पुर्‍याउन ढिलो हुने खतरा हुन्छ। शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा भविष्यमा सुरु होला भन्ने आशा छ।

सरकारले बल्ल त सबै स्वास्थ्य केन्द्रमा डाक्टरको व्यवस्था गरेको छ। हामीकहाँ पनि एक वर्षदेखि डाक्टर हुनुहुन्छ। गाउँमै डाक्टर पाएपछि स्थानीय निकै खुसी भएका छन्। यसबाट सानोतिनो उपचारका लागि धाएर शहर जानुपर्ने बाध्यता हटेको छ।

मैले जागिर खाएपछि मेरो जन्मघर र कर्मघर सबैतिर खुसी हुनुहुन्छ। म आत्मनिर्भर भएकोमा आफू पनि खुसी छु। त्यसमा पनि आफू जस्तै महिलाको सेवा गर्न पाउँदा र जानेका कुरा सिकाउन पाउँदा आनन्द लाग्छ।

गाहा मगर प्राथमिक स्वास्थ्य केन्द्र, मगरागाडी, बर्दियामा कर्यरत छिन् ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live