टिप्स/जानकारी

हाम्रो शरीरको जैविक घडीबारे केही तथ्य

स्वास्थ्य खबरपत्रिका

बिबिसी– हाम्रो शरीरमा रहेको जैविक घडी (सर्काडियन रिदम) ले चौबिसै घन्टा कसरी काम गर्छ भनेर बिबिसी न्युजले एउटा प्रयोग गरेको थियो।

प्रयोग एकाबिहानै डाक्टरले हामीलाई दिएको चेतावनीबाट सुरु भयो– आवश्यक निद्राबारे हामी अति आत्मविश्वासी छौं । प्रमुख प्रश्न त के हो भने हामी पर्याप्त निदायौं÷निदाएनौं भनेर कसरी थाहा पाउने?

अक्सफोर्ड विश्वविद्यालयका प्रोफेसर रसल फोस्टरले भने, ‘तपाईं ब्युँझन अलार्म चाहिन्छ वा बिहानै क्याफिनयुक्त पेय (चिया÷कफी) खाने बानी छ भने तपाईंलाई पर्याप्त निद्रा पुगेको छैन र तपाईंलाई अझै निदाउनु आवश्यक छ।’

उनका अनुसार निद्रा नपुग्दा हामी झर्किन्छौं र छटपटिन्छौं। यसबाहेक निद्रा नपुग्दा गाडी हाँक्दा पनि दुर्घटनाको सम्भावना बढ्छ। निद्रा नपुग्दा हामी सामान्यभन्दा निकै चाँडो रिसाउँछौं र झर्किन्छौं।

प्रोफेसर रसलका अनुसार हामीले आफ्नो जीवनशैलीमा ध्यान दिनु आवश्यक मात्र नभएर नियन्त्रणमा राख्नु जरुरी छ। जस्तो कि पर्याप्त निदाउनु वा आराम गर्नु, भोजनमा ध्यान दिनु र पर्याप्त शारीरिक व्यायाम गर्नु अति आवश्यक छ।

हामीले बिताउने हरेक दिन शारीरिक गतिविधिमा धेरै उतारचढाव आइरहन्छ। दिउँसो खासगरी मध्याह्नपछि हाम्रो शरीरका मांसपेशीहरू अरुबेलाभन्दा ६ प्रतिशत बढी बलिया हुन्छन्।

साँझदेखि हृदय र फोक्सोले राम्रोसँग काम गर्छन् र शरीरको तापक्रम पनि दिनको समयभन्दा बढी हुन्छ, जुन एउटा स्वाभाविक व्यायाम गरेजस्तै हो।

‘यसैकारण म्याराथन लगायत दौडहरू बिहानै हुँदैनन् र व्यावसायिक धावकहरू साँझमा यस्ता प्रतियोगितामा सहभागी हुन्छन्,’ ओलम्पिकमा पौडीतर्फ कास्य पदक विजेता स्टिभ पेरीले बिबिसीसँग भने, ‘किनभने हामीलाई थाहा छ, त्यतिबेला आफ्नो प्रदर्शन वा क्षमता सर्वाधिक हुन्छ । मैले पनि साँझमा नै ओलम्पिक पदक जितेको थिएँ ।’

उनका अनुसार ओलम्पिकमा सहभागी हुने खेलाडीले प्रतियोगिताका लागि गर्ने कडा अभ्यास पनि दिउँसोपछि वा साँझमा नै गर्छन्। ‘त्यसबेला तपाईंको शरीर कडा अभ्यास र प्रदर्शनका लागि तयार हुन्छ । हामी यस्ता कडा अभ्यास एकाबिहानै गर्ने सोचविचार नै गर्दैनौं,’ उनले भने।

स्टिभ भन्छन्, ‘बेइजिङ ओलम्पिकमा अन्तिम प्रतिस्पर्धा साँझको साटो बिहानै आयोजना गरियो र अधिकांश स्विमरले आफ्नो क्षमता बराबर पनि प्रदर्शन गर्न नसकेको हामीले पायौं।’

दिउँसो हाम्रो गतिशिलता अनुसार हाम्रो जैविक घडीमा पनि परिवर्तन भइरहेको हुन्छ। हामी औषधि प्रयोग गर्छौं भने त्यसप्रति हाम्रो शरीरले प्रतिक्रिया पनि देखाउँछ।

बिथोलिएको हाम्रो जैविक घडीको उपचारलाई क्रोनोथेरापी भनिन्छ। क्रोनोथेरापीमा हाम्रो श्वासप्रश्वास र स्पन्दनको गति नियन्त्रण गरिन्छ।

क्यान्सरको उपचारमा जैविक घडीको पनि उपयोग गरिन्छ। क्यान्सर उपचारमा जैविक घडीको उपयोगको थालनी गर्ने प्रोफेसर फान्सिस लेवी भन्छन्, ‘हाम्रो कोषमा जैविक घडी हुन्छ, जसले औषधिको पाचन र त्यसको प्रभाव नियन्त्रण गर्छ। त्यसैले कुनै औषधि राति र कुनै दिउँसो सेवन गर्दा बिरामीलाई बढी फाइदा गर्छ।’

उनका अनुसार क्रोनोथेरापीले औषधि उपचारको विषाक्तता कम गर्छ र बिरामीको स्थितिमा सुधार ल्याउँछ। 

हामीले जति धेरै क्यालोरी (ऊर्जा) को भोजन गर्छौं, त्यति नै मोटाउँछौं। तर, भोजन (क्यालोरी) को मात्र नभएर भोजन गर्ने समयले पनि मोटोपनामा प्रभाव पार्छ। 

जसरी औषधिप्रति शरीरले दिउँसो गर्ने प्रतिक्रिया वा प्रभाव फरक पर्छ, भोजनप्रति पनि हाम्रो शरीरले ठीक यस्तै प्रतिक्रिया गर्छ।

हाम्रो शरीरले साँझ वा राति चिल्लो (फ्याट) र चिनी (सुगर) ढिलो पचाउँछ, जसले गर्दा मोटोपना र मधुमेहको जोखिम बढ्न सक्छ। यो समस्या खासगरी विभिन्न सिफ्ट (पालो) मा काम गर्ने कर्मचारीलाई हुन्छ।

‘हामीलाई थाहा छ, दिनभर हाम्रो पाचन प्रक्रियामा परिवर्तन भइरहन्छ र दिनको सुरुमा अर्थात् बिहान हाम्रो शरीरले पचाउन कठिन वा भारी भोजन पनि सजिलै पचाउँछ,’ सरे विश्वविद्यालयमा आबद्ध डाक्टर भिक्टोरिया रेवेलले बिबिसीसँग भनिन्, ‘ढिलो भोजन गर्ने व्यक्तिलाई खानेकुरा पचाउन कठिन हुन्छ र यसको प्रत्यक्ष प्रभाव हाम्रो शरीरमा पर्छ।’ उनको तात्पर्य ढिलो भोजन गर्नेहरू मोटोपनाको सिकार हुने सम्भावना धेरै हुनेतर्फ थियो।

हाम्रो जैविक घडीमा उज्यालो वा प्रकाशको पनि प्रभाव पर्छ। हाम्रो जैविक घडीले दिनको सुरुवातसँगै फरक हुँदै जाने प्रकाश अनुरुप काम गर्छ र साँझ वा राति धेरै उज्यालो (तीव्र प्रकाश) ले हामीलाई सुत्न दिँदैन, अर्को शब्दमा भन्दा हामीलाई जगाइराख्न सक्छ। त्यसमध्ये पनि निलो प्रकाशले हाम्रो जैविक घडीलाई बढी प्रभावित (अवरोध) गर्छ।

अहिलेका स्मार्टफोन, ट्याब्लेट, कम्प्युटर र एलइडी बल्बमा जैविक घडी प्रभावित गर्ने पर्याप्त निलो प्रकाश हुन्छ। 

हार्भर्ड मेडिकल स्कुलका प्रोफेसर जिज्लरका अनुसार साँझमा खासगरी छोटा तरंग (सर्ट वेभलेन्थ) हुने निलो प्रकाशले हाम्रो जैविक घडीलाई ढिलो पार्छ । फलस्वरुप हाम्रो शरीरले निद्रा लगाउने हर्मोन ‘मेलाटोनिन’ उत्पादन ढिलो गर्छ र बिहान बिउँझिन पनि कठिन हुन्छ।’

सुत्ने समय सम्बन्धी अध्ययनमा बिबिसी रेडियोका उद्घोषकहरू सहभागी थिए।

जैविक घडीको दिनभरको गतिविधि अध्ययनका लागि भने बिबिसीका इवान डेभिस र सारा मोन्टाग्यूको सुत्ने बानी अनुगमन गरिएको थियो।

इवान र साराह दुवैले राति ढिलो सुत्न रुचाए। राति ढिलो सुत्ने भएकाले उनीहरूको दिनचर्या पनि ढिलै सुरु हुने पाइयो।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live