नर्सिङ

नर्सिङ सेवामा २०३६ सालकै दरबन्दीले कहिलेसम्म काम गर्ने?

हीराकुमारी निरौला

सरकारले मापदण्ड अनुसार नर्सको व्यवस्थापन गर्न सकेको छैन। छ्यापछ्याप्ती खुलेका नर्सिङ कलेजबाट उत्पादित नर्स नै अझै बेरोजगार छन्। फेरि क्षमताविहीन नर्स उत्पादन गरिरहँदा उनीहरूको काम र सेवाको गुणस्तरीयतामा समेत प्रश्न उठ्छ।

नर्सको काम र सेवाको गुणस्तरीयता खस्कन नदिन सरकारले देशमा आवश्यकभन्दा अत्यधिक धेरै नर्स उत्पादन रोक्नुका साथै जथाभावी नर्सिङ कलेज खोल्ने अनुमति पनि रोक्न जरुरी भइसकेको छ।
नर्स अध्यापनका लागि भर्ना लिँदा समेत अब्बल र छानिएर आएका विद्यार्थी मात्र लिए नर्सिङ पेसाको गुणस्तरीयता र विश्वसनीयता बढ्छ। 

नर्सिङमा छात्राहरूको आर्कषण बढ्दो भए पनि अहिले धेरैले रोजगारी नपाउँदा दुखद् स्थिति छ। सरकारले नर्स व्यवस्थापन गर्न सबै विद्यालय, उद्योगमा नर्स राख्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन।

हुन त देश संघीयतामा गइसकेपछि नर्स व्यवस्थापन कसरी गर्ने छलफल भइरहेको छ। स्थानीय तहसम्म स्वास्थ्य सेवा र सुविधा विस्तार हुने भएपछि अहिले त्यसै बसेका नर्सले काम पाउनेछन् र समस्या केही मात्रामा समाधान हुनेछ। 

तर, काम गरिरहेका नर्समध्ये अधिकांश पनि अहिले न्यून पारिश्रमिकमा काम गर्नु परिरहेको छ भने कतिपय विदेशमा काम गर्न वाध्य छन्। 

नेपालका पुराना केन्द्रीय अस्पतालमा समेत आवश्यक नर्सिङ जनशक्ति छैन। त्यही अवस्था देशको सबैभन्दा पुरानो वीर अस्पतालमा पनि छ। 

अहिले वीरलाई कम्तिमा ४ सय नर्स आवश्यक छ। ३ सय ७० बेडको अस्पतालमा अहिले करिब २ सय ४० जना नर्सिङ स्टाफ मात्र कार्यरत छन्। यीमध्ये पनि कतिपय काजमा, सुत्केरी, बिदा, अध्ययन बिदामा र कतिपयले सिफ्ट ड्युटी नगर्ने भएकाले थोरै नर्सिङ जनशक्तिले धेरै बिरामीलाई सेवा दिनुुपर्ने बाध्यता छ। 

जनरल वार्डमा एक जना नर्सले ४ देखि ६ जनासम्म बिरामी हेर्नुपर्ने हो, तर हामीकहाँ एकै जना नर्सले २० जनाभन्दा बढी बिरामी हेर्नुपर्ने हुन्छ। यो स्थिति वीरमा मात्र नभएर अन्य अस्पतालमा पनि उस्तै छ। आइसियूमा एक जना बिरामी बराबर एक जना नर्स हुनुपर्ने हो, तर हुन सकेको छैन। एक जना नर्सले ३–४ जनासम्म बिरामी हेर्नुपर्ने स्थिति छ।

यस्तो हुँदा नर्समाथि सधैं कामको चाप हुन्छ। फलस्वरुप बिरामी र उनीहरूका कुरुवाले सोधेका विषयमा उचित परार्मश दिने समय हुँदैन र जति गुणस्तरीय सेवा दिनुपर्ने हो त्यति हुन सक्दैन।

धेरै बिरामीलाई हेर्नुपर्ने भएपछि गुणस्तरीयता खस्कँदै जानु स्वाभाविक हो।  सरकारी अस्पतालमा रात्रिकालीन पालोमा काम गर्न पनि कतिपय नर्स मान्दैनन्। राति काम गर्नेलाई सरकारले दिने भत्ता निकै थोरै छ– डेढ सय रुपैयाँ र त्यसमा पनि कर काटिन्छ। रात्रिभत्ता कम्तिमा ५ सय पुर्‍याउन सके धेरैले राति काम गर्न सहज मान्छन् जस्तो लाग्छ। 

मैले १८ वर्षअघि स्वास्थ्य सेवामा प्रवेश गर्दादेखि नै नर्सिङ जनशक्तिको अभाव छ। बढेको जनसंख्या अनुसार बिरामी संख्या पनि बढेको छ। अब पुरानो थोरै नर्सिङ दरबन्दीले अहिलेको स्थिति धान्न सक्दैन। त्यसैले दरबन्दी थप्न आवश्यक भइसकेको छ। २०३६ सालको दरबन्दीले नै अहिलेसम्म जसोतसो काम चलाइरहेको अवस्था छ, त्यसपछि नयाँ दरबन्दी थपिएको छैन। 

सरकारी मापदण्ड अनुसार नै नर्सको व्यवस्थापन गर्नुपर्छ। पहिलेको दरबन्दी निकै पुरानो भइसक्यो, अद्यावधिक गर्नुपर्छ। अहिले म वीर अस्पतालको नर्सिङ प्रशासक भएर नवौं तहमा कार्यरत छु। नर्सिङको व्यवस्थापन, वृत्ति विकासका लागि आएका तालिम व्यवस्थापन, तालिममा जाने स्टाफ छनोट, भण्डारमा के–कस्ता सामान आए वा कुन सामान आएनन् भन्ने अनुगमन, नर्सका समस्या÷गुनासो सुन्ने र समाधान गर्ने आदि जिम्मेवारी निर्वाह गर्नुपर्छ।

अहिले अस्पतालको मुख्य समस्या भनेकै जनशक्ति अभाव हो। त्यसैले थोरै नर्सिङ जनशक्ति व्यवस्थापन गरी काममा लगाउन समस्या पर्छ।

वीर अस्पतालमा आवश्यकभन्दा करिब आधा जति मात्र नर्स भएकाले सबैमाथि कामको चाप हुनु नै अहिलेको ठूलो समस्या हो। उच्च अध्ययनका लागि जानुपरे वीरमा मात्र काम गरिरहेका नर्सलाई समस्या छ, उनीहरूको मापदण्ड नै पुग्दैन। अध्ययन गर्न जान र स्तरवृद्धिमा समस्या छ।

मैले २०५१ सालमा ७२ प्रतिशत अंकसहित एसएलसी उत्तीर्ण गरँे। एसएलसीको नतिजा आएको थिएन, म भाउजु सुत्केरी हुने बेला उहाँसँगै अस्पताल गएकी थिएँ। अस्पतालमा सेतो कोट, ड्रेस लगाएका नर्स र उनीहरूले गरेको स्याहारसुसार देखेपछि म आकर्षित भएकी थिएँ। एसएलसीपछि विराटनगरस्थित नर्सिङ क्याम्पसबाट पिसिएल नर्सिङ उत्तीर्ण गरें। त्यस बेला धेरै विद्यार्थीमध्ये थोरै संख्यामा अब्बल विद्यार्थी छान्ने चलन थियो। 

मैले नर्सिङ अध्ययन गर्दा निकै प्रतिस्पर्धा हुन्थ्यो। ३० सिटका लागि करिब ४ हजार विद्यार्थीले प्रवेश परीक्षा दिएका थिए। मैले नर्सिङ अध्ययन गर्दा प्रवेश परीक्षामा पहिलो नम्बरमा नाम निकालेकी थिएँ र नर्सिङमा स्नातकोत्तरसम्म अध्ययन गरें। त्यस बेला निजी नर्सिङ कलेज थिएनन्। आइओएम, पाटन, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, विराटनगर, नेपालगञ्ज, वीरगन्ज र पोखरामा मात्र नर्सिङ अध्यापन हुन्थ्यो।

(वीर अस्पतालकी अस्पताल नर्सिङ प्रशासक हुन्)

swasthyakhabar

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

पढ्नै पर्ने

Nepali Live