मुख्य समाचार

आइओएमले पुनः लिने एमबिबिएस प्रवेश परीक्षामा यस्ता नयाँ नियम लागू

img

डिबी खड्का

काठमाडौं– चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले भोलि (शनिबार) पुनः सञ्चालन गर्न लागेको एमबिबिएस प्रवेश परीक्षामा कडाइ  हुने भएको छ। विद्यार्थी परीक्षा हलमा छिर्नुअघि प्रहरीले कडा चेकजाँच गर्ने भएको हो । परीक्षा केन्द्रहरुमा फोन नलाग्ने जामर मेसिनदेखि शरीरमा रहेका सबै मेटलहरु पत्ता लगाउने ‘मेटल डिटेक्टर’सम्म प्रयोग  हुने भएको छ। 

आइओएमले प्रवेश परीक्षा केन्द्रमा कडाइका साथ चेकजाँच र अनुगमन गर्न प्रहरीलाई पत्राचार गरिसकेको छ। परीक्षा केन्द्रमा केन्द्रीय अनुसन्धान ब्यूरो तथा अपराध महाशाखाबाट सादा पोशाकमा समेत प्रहरी खटिनेछन् । परीक्षालाई मर्यादित बनाउन प्रहरीले जामर, ‘वाक थ्रु गेट’ (सुरक्षा ढोका) तथा मेटल डिटेक्टरको प्रयोग गर्न लागेको अपराध महाशाखाका प्रवक्ता एसपी नरेन्द्र उप्रेतीले बताए।

यसपल्ट प्रवेश परीक्षालाई अमर्यादित हुन नदिन आइओएमले केही नयाँ नियम समेत बनाएको छ । आइओएमका सहायक डिन डा राजेन्द्र गुरागाईंका अनुसार नेपाल प्रहरीसँग मिलेर सुरक्षा चेकजाँच बढाउनुका साथै केही नियम परिवर्तन भएका छन्। 

बिहान १० देखि १२ बजेसम्म हुने परीक्षाका लागि विद्यार्थीलाई ७ बजे नै परीक्षा केन्द्रमा बोलाइएको छ। परीक्षा हलभित्र प्रवेश गर्नुअघि विद्यार्थीले वाक थ्रु गेट पास गर्नुपर्ने हुन्छ। कुनै शंकास्पद वस्तु लिएर हलभित्र जान लागेको भए सोको जनाऊ गुटमै पाइनेछ। त्यसपछि प्रहरी चेकजाँच हुनेछ। महिला र पुरुष गरी छुट्टाछुट्टै चेकजाँच गर्ने व्यवस्था गरिएको छ। 

अरुको नाममा परीक्षा दिन आउनेलाई रोक्न अनलाइन प्रिन्ट गरेर ल्याइको प्रवेश पत्र र आइओएमसँग रहेको सक्कली प्रवेश पत्र भिडाएर हेरिनेछ। डा गुरागाइँ भन्छन्, ‘फोटोसपका माध्यमबाट आफ्नो तस्बिर टाँसेर अरुको परीक्षा दिन आउनेलाई रोक्न यसो गरिन लागेको हो।’

यसपल्ट पावरवाला बाहेक अन्य कुनै प्रकारको चश्मा लगाएर हलमा प्रवेश गर्न पाइनेछैन। चश्मामा पनि स्क्यानर जोडिएको हुन सक्ने आशंका गर्दै आइओएमले चश्मा जाँच्ने विशेषज्ञहरु समेत तैनाथ राख्ने निर्णय लिएको डा गुरागाइँले जानकारी दिए। 

मोबाइल, पर्स, घडी परीक्षा हलमा प्रतिबन्धित छ भने यसपल्ट गरगहना लगाएर आउन समेत निषेध गरिएको छ। डा गुरागाइँले भने, ‘हामीले पहिल्यै सूचित गरिसकेका छौं।’

सामान्यतया एक घन्टा बितेपछि परीक्षार्थी बाहिर निस्किन र शौचालय जान पाउने नियम हुन्छ। तर, यसपल्ट परीक्षार्थीले अनिवार्य रुपमा दुई घन्टा परीक्षा हलभित्रै बिताउनुपर्नेछ। 

गत असोज २८ मा भएको आइओएमको प्रवेश परीक्षामा प्रश्नपत्र बाहिरिने, चिट चोरिने लगायतका घटना भएका थिए। जसका कारण आइओएम पुनः परीक्षा गराउन वाध्य भएको हो। उक्त परीक्षामा ९ हजारभन्दा बढी विद्यार्थी सहभागी थिए।

गत असोज २८ मा भएको प्रबेश परीक्षामा सिम लाग्ने गोप्य डिभाइस मार्फत संगठित रुपमा चिट चोराइएको खुलेको थियो। जसमा संलग्न १४ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा दायर गरिसकेको छ। त्यस्ता, गोप्य डिभाइस रोक्न प्रहरीले परीक्षा केन्द्रमा मोबाइल नेटवर्कले काम नगर्ने बनाउन जामर प्रयोग गर्न लागेको हो। 

अघिल्लो परीक्षामा प्रश्नपत्र बाहिरिएको पुष्टि भए पनि कसले र कसरी प्रश्नपत्र ‘लिक’ गरेको थियो भन्ने खुल्न सकेको छैन।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live