समाचार

धनगढी- चार महिनामा ३१ जना एचआइभीे संक्रमित

स्वास्थ्य खबरपत्रिका

धनगढी– एचआइभी संक्रमितको सेवाका लागि कैलालीमा सञ्चालित 'एआरटी सेन्टर'मा पछिल्लो चार महिनामा ३१ जना एचआइभी संक्रमित फेला परेका छन्। 

सेती अञ्चल अस्पतालको एआरटी सेन्टर धनगढीमा कार्यरत एड्स हेल्थ केयर फाउन्डेसन नेपालका माधव पन्तका अनुसार पछिल्लो चार महिनामा सेती अञ्चल अस्पताल र टीकापुरमा सञ्चालनमा रहेको एआरटी सेन्टरमा ५ सय ५१ जनाको रगत परीक्षण गरिएको थियो। 

गत वर्ष यी दुवै सेन्टरमा १ हजार ८ सय ५७ जनाको रगत परीक्षण गरिएकामा १ सय १७ जना संक्रमित भएको फेला परेको थियो। कैलालीमा पछिल्ला केही वर्षदेखि एचआइभी संक्रमितको संख्या घट्दै गएको छ। जिल्लामा पछिल्लो एक दशक यता (सन् २००६ देखि हाल सम्म) एचआइभी संक्रमितको संख्या ३ हजार ४ सय ३ पुगेकोमा दुई हजार ३ सय ७१ जनाले मात्र एआरटी सेवा लिने गरेको तथ्यांक छ।  

हाल एआरटी क्लिनिकमार्फत १ हजार १ सय ८९ संक्रमितले सेवा लिइरहेका छन्। एआरटी सेन्टरमार्फत् संक्रमितले एड्सविरुद्धको एआरटी औषधि सेवन गरिरहेका हुन्। 

यस वर्षको विश्व एड्स दिवस कैलालीमा विभिन्न चेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ। अन्तर्क्रिया, हाजिरीजवाफ प्रतियोगिता, बिरामीलाई फलफूल वितरण, एचआइभी परीक्षण, सूचना संदेश प्रसारण लगायतका चेतनामूलक कार्यक्रमका साथ विश्व एड्स दिवस मनाइएको जिल्ला जनस्वास्थ्य कार्यालयका निरीक्षक महेश चन्दले जानकारी दिए। रासस

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live