टिप्स/जानकारी

जाडोयाममा झ्यालढोका बन्द गरी सुत्नु अत्यन्त जोखिमपूर्ण

स्वास्थ्य खबरपत्रिका

भारतको राजधानी नयाँ दिल्लीको केन्ट इलाकामा हालै एउटा दुर्घटना भयो । एउटा क्याटरिङ भ्यानभित्र सुतेका ६ जना मानिसको मृत्यु भयो ।

ती ६ जना क्याटरिङको काम सकेर राति भ्यानभित्र सुत्न गएका थिए । साथमा उनीहरूले कोइला बालेको चुल्हो पनि लगेका थिए । उनीहरूले भ्यानका सबै झ्यालढोका बन्द गरेर सुते तर चुल्हो भने निभाएनन् । शायद तातोमा आरामले सुत्न उनीहरूले भ्यानभित्र चुल्हो लगेका थिए ।

प्रहरीका अनुसार भोलिपल्ट बिहान भ्यानको ढोका खोल्दा निसास्सिएर उनीहरू सबैजनाको मृत्यु भइसकेको थियो ।

यसरी निसास्सिएर मृत्यु भएका धेरै समाचार यसअघि पनि बर्सेनि आइरहेका छन् । नेपालमा पनि जाडो याममा यसरी निसास्सिएम मृत्यु भएका समाचार आउने गरेका छन् ।

खासगरी जाडोयाममा अधिकांशले घर, पसल वा कार्यालयमा कोठा तताउन ब्लोअर, हिटर वा कोइला बाल्ने गर्छन् । तर यसरी कोठा तताउन हिटर, ब्लोअर वा कोइला बाल्नेजस्ता उपाय कति सुरक्षित छन् ?

डाक्टर के भन्छन् ?
इन्डियन मेडिकल एसोसिएसन (आइएमए) का डाक्टर केके अग्रवाल यसरी हिटर, ब्लोअर वा कोइला बाल्दा भेन्टिलेसन हुनु अत्यन्त आवश्यक रहेको बताउँछन् । उनका अनुसार कोठामा भेन्टिलेसन भएन भने त्यहाँ ज्यानकै जोखिम हुन्छ ।

कोठा तताउन हामीले कोइला वा दाउरा बाल्दा वा मट्टितेलको हिटर बाल्दा यसबाट निस्कने ग्यास कार्बन मोनोअक्साइडले हामी निसास्सिन्छौं र मृत्यु हुनसक्छ । अझ खासगरी कोठाका सबै झ्यालढोका बन्द गरी भेन्टिलेसन नभए त मृत्यु निश्चितजस्तै हुन्छ । गाडीको इन्जिन चालु राखेर भित्र बस्दा पनि यस्तो हुनसक्छ ।

डाक्टर अग्रवालका अनुसार कोठा तताउन उपयोग गरिने कुन साधन थोरै हानिकारक र कुन धेरै भन्नुको कुनै अर्थ छैन । कुरा के मात्र हो भने तीमध्ये कुनै पनि साधन बालिने ठाउँमा भेन्टिलेसन (हावा पस्ने र निस्कने ठाउँ) छ छैन, त्यो महत्वपूर्ण हुन्छ ।

चर्मरोग विशेषज्ञ डाक्टर अमित लुथराका अनुसार धेरैबेरसम्म ब्लोअर, हिटर वा आगो ताप्दा सुख्खापन (ड्राइनेस)को समस्या आउन सक्छ, खासगरी प्रौढ र वृद्धलाई ।

यसरी आगो ताप्दा चाया (ड्यान्ड्रफ)को पनि समस्या सुरु हुन वा बढ्न सक्छ । धेरैबेरसम्म आगो ताप्दा (हिटर, ब्लोअरमा समेत) हाम्रो छालाको प्राकृतिक नरमपना प्रभावित हुन्छ र खस्रो तथा सुख्खा हुन्छ । 

कार्बन मोनोअक्साइडले कसरी असर गर्छ ?
डाक्टर संचयन रायका अनुसार कार्बन मोनोअक्साइड एउटा विषालु ग्यास हो । कोइला, दाउरा वा काठ बालिरहेको ठाउँ, कोठामा भेन्टिलेसन नभए सास फेर्दा हामीले अक्सिजनसँगै कार्बन मोनोअक्साइड दुवै लिन्छौं ।

कार्बन मोनोअक्साइडले हाम्रो रगतको हेमोग्लोबिनसँग प्रतिक्रिया गर्छ र कार्बोक्सिहेमोग्लोबिनमा परिणत हुन्छ । 

खासमा हाम्रो रगतको रातो रक्तकोष (आरबिसी), अक्सिजनभन्दा पहिले कार्बन मोनोअक्साइडसँग प्रतिक्रिया गर्छ । त्यसैले यदि हामी अक्सिजनभन्दा कार्बन मोनोअक्साइड धेरै भएको कुनै ठाउँमा छौं भने बिस्तारै बिस्तारै हाम्रो रगतमा अक्सिजनको साटो कार्बन मोनोअक्साइड भरिन्छ । 

यसो भएपछि शरीरका मुटु, कलेजो, फोक्सो, मिर्गौलाजस्ता महत्वपूर्ण अंगमा अक्सिजनको कमी भएर हाइपोक्सियाको स्थिति उत्पन्न हुन्छ । फलस्वरुप ती अंगका टिस्यु मर्न थाल्छन् र मृत्यु हुने सम्भावना बढ्छ ।

यसका लक्षण
हामीले सास फेरिरहेको वातावरणको हावा विषालु भए नभएको थाहा पाउन आवश्यक छ । कार्बन मोनोअक्साइड धेरै भएको ठाउँमा हामीले सास फेर्दा टाउको दुख्ने, रिंगटा लाग्ने, वाकवाक लाग्ने, उल्टी हुन खोज्नेजस्ता लक्षण देखिन्छन् ।
यसबाहेक सास फेर्न कठिन हुने, आँखा पोलेजस्तो हुने पनि हुन्छ । 

जोगिने उपाय
हामी पनि कोठा तताउन कोइला, दाउरा वा हिटर, ब्लोअर बाल्दै हुनुहुन्छ भने भेन्टिलेसन खुला राख्नुहोस् । अझ खासगरी झ्यालढोका बन्द गरेर कोइला वा दाउरा नबाल्नुहोस् । हिटर वा ब्लोअरको अत्यधिक प्रयोग पनि हानिकारक हुन्छ । 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live