विचार/ब्लग

खाद्यान्नका नाममा मन्द विष, विषादि न्यूनीकरणमा चुनौति

सिमृन काफ्ले

विश्वको व्यापार सम्बन्ध र व्यवस्था अधिकतम नाफामा केन्द्रित हुँदै गइरहेको समयमा सम्पूर्ण नागरिक स्वस्थ रहन पाउनु ठूलो चुनौतीको विषय बनेको छ। हामीले खाने दैनिक खाद्यवस्तुको व्यापार र नाफाको चटारोमा हाम्रो स्वास्थ्य दिनप्रतिदिन पिल्सिरहेको छ। उत्पादन वृद्धिका लागि खाद्यवस्तुमा बढ्दो विषदिको प्रयोगले हामीले दैनिक खाने खाना, पौष्टिक आहार नभई हामीले थाहै नपाई मन्द विषजस्तै हुन गएको छ। 

डिसेम्बरका १ देखि विषदि रहित सप्ताहको सुरुआत भएको छ। विषदि प्रयोग शून्यमा ल्याउने लक्ष्यसहित यो अभियान हरेक वर्ष चलिरहेको छ। हामीले कृषक र उपभोक्तासँग सहकार्य गर्दै सानो स्केलमा भए पनि विषदिको विकल्पबारे खोजी गरिरहेका छौं। यद्यपि विषदि प्रयोग र विषदियुक्त खाद्यन्नले स्वास्थ्यमा हुने प्रतिकूल असर विश्लेषण गर्ने हो भने यस मुद्दालाई स्वास्थ्य क्षेत्रले प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने देखिन्छ।

पछिल्लो समय कृषि र स्वास्थ्य सम्बन्धी एकीकृत परियोजनामा काम गरिरहँदा र केही अध्ययनपछि विषदि न्यूनीकरणका थुप्रै चुनौतीमध्ये ३ वटा चुनौती मुख्य रुपमा पहिल्याइएको छ।

१. उत्पादकत्व वृद्घिका लागि उपयुक्त विकल्पको कमि,

२. प्रांगारिक उत्पादन बिक्रीका निम्ति छुट्टै बजारको अभाव,

३. उपभोक्तामा प्रांगारिक खाद्यन्नबारे कम सचेतना।

१. उत्पादकत्व वृद्घिका लागि उपयुक्त विकल्पको कमि

रासायनिक विषदिको प्रयोग नगर्दा उत्पादनमा ह्रास आउने हुनाले धेरै कृषक विषदिको प्रतिकूल असरबारे जानकार हुँदाहुँदै पनि विषदि प्रयोग गर्न वाध्य छन्। तसर्थ, रासायनिक विषदि प्रयोग नगरीकन उत्पादकत्व कसरी बढाउन सकिन्छ भन्ने विषयमा नेपालका कृषि वैज्ञानिकहरु तल्लीन हुन आवश्यक देखिन्छ। हालको अवस्थामा जैविक पद्दति अवलम्बन होस् भन्ने लक्ष्य राख्ने हो भने राज्यले जैविक उत्पादनका लागि कृषकलाई पर्याप्त अनुदान दिनुपर्ने हुन्छ। साथै, जैविक पद्दतिबाट उत्पादन भएको खाद्यान्न प्रमाणीकरण गर्ने संयन्त्रको पनि विकास गर्नुपर्दछ। 

२. प्रांगारिक उत्पादन बिक्रीका निम्ति छुट्टै बजारको अभाव

नेपालमा प्रांगारिक उत्पादन बिक्रीका निम्ति छुट्टै बजार छैन। भएका पनि नगन्य छन्। त्यसैले प्रांगारिक उत्पादनले बजारमा अन्य उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्ने वाध्यता छ। स्पष्ट छ, प्रांगारिक उत्पादनहरु रासायनिक मलखाद र विषदि प्रयोग गरी उब्जाइएका उत्पादनभन्दा कम उत्पादन हुने भएकाले महँगा हुन्छन्। साझा बजारमा प्रायः प्रतिस्पर्धा गर्न सक्दैनन्। अझ नेपाली कृषकले आयातित कृषि उत्पादनसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता बढ्दो छ। तसर्थ, यस्तो स्थितिमा प्रा‌ंगारिक उत्पादनको उचित मूल्य निर्धारण र छुट्टै बजारको व्यवस्था अनिवार्य देखिन्छ। 

३. उपभोक्तामा प्रांगारिक खाद्यन्नबारे कम सचेतना

कृषि उत्पादन छनौट वा खरिद गर्दा हलक्क बढेको, टल्कने, किरा नलागेको रोज्ने अभ्यास आमअपभोक्तामा देखिन्छ। यद्यपि यसबारे किटान गरी भन्न थप अनुसन्धान गरिनुपर्छ। उपभोक्ताको यस्तो अभ्यासले अप्रत्यक्ष रुपमा विषदियुक्त खाद्यन्नको मागलाई जोड दिइरहेको हुन्छ। तसर्थ, प्रांगारिक उत्पादन प्राकृतिक रङको, तुलनात्मक रुपमा कम सप्रेको र कहिलेकाहीँ किराले खाएको हुन सक्छ। यस्तै, मौसमी तरकारी, फलफूलको महत्वबारे व्यापक जनचेतना फैल्याउनुपर्ने आवश्यकता छ। यी विषय साना लाग्ने भए पनि अत्यन्तै महत्वका छन्। 

माथिका चुनौती एकल रुपमा जटिल हुनुका साथै एकअर्कामा अन्योन्याश्रित पनि छन्। यी अवरोध एकअर्काका कडी हुन् र समस्याको एउटै सँगालोमा गाँसिएका छन्। तसर्थ, कृषि क्षेत्रमा बिषादिको प्रयोगलाई शून्य गराउन यी चुनौतीलाई एकीकृत रुपमा सम्बोधन गरिनुपर्छ।

(काफ्ले नेपाल जनस्वास्थ्य प्रतिष्ठान, चितवनकी परियोजना प्रबन्धक हुन्)

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live