विचार/ब्लग

जो शिक्षण अस्पतालमा पहिलोपल्ट  बसेका थिए अनशन

स्वास्थ्य खबरपत्रिका

(अनशन त्यसमाथि पनि झन् शिक्षण अस्पताल भनेपछि त सबैको दिमागमा एउटै नाम आउँछ,  डा. गोविन्द केसी । तर डा. सी भन्दा पहिले चिकित्सा शास्त्र अध्ययन सस्थान (आइओएम)मा अनशन बस्ने व्यक्ति हुन् प्रा.डा. भीष्मराज प्रसार्इं । जसको रोचक वर्णन उनको आत्माकथा 'आफैँलार्इ फर्केर हेर्दा’ मा गरेका छन् ।)

ओहो म त भूतले खाजा खाने बेलामा डिन भएको रहेछु । त्यो बेला २०४६ सालको आन्दोलनको पृष्ठभूमि बन्दै थियो । पञ्चायत विरोधी गतिविधि बढ्दै थियो । क्याम्पसमा कतिपय विद्यार्थी र प्राध्यापकहरु पठनपाठन भन्दा राजनितिमा बढी तल्लीन हुन थालेका थिएँ । राजनैतिक दलहरु प्रतिबन्धित भएकाले स्वतन्त्र विद्यार्थी युनियनका नाममा पार्टीका भ्रातृ संगठनहरु क्याम्पसमा सक्रिय थिए । प्रतिबन्धित राजनितिक पार्टीको टर्च बोकेर विद्यार्थी संगठनहरु तत्कालिन बेथिति, प्रशासनिक अस्तव्यस्तता र शैक्षिक समस्यालाइ निहुँ बनाएर क्याम्पसमा होहल्ला गरिरहेका थिए।

२०४६ सालको आन्दोलन अघिका १० वर्षमा मुलुकका क्याम्पसहरुमा विद्यार्थी राजनिति उफानमा थियो । कांग्रेसको नेपाल विद्यार्थी संघ , कम्युनिष्टहरुको अनेरास्ववियू , पञ्चहरुको राष्ट्रिय विद्यार्थी मण्डल आदि । संगठनहरुले क्याम्पसहरुमा विद्यार्थी समस्याका नाममा राजनिति गरिरहेका थिए, जसले क्याम्पसको पठनपाठन अवरुद्ध भइरहेको थियो । क्याम्पसहरुमा अस्थिरता,  अनुशासनहिनता र अराजकता व्याप्त थियो ।
उता, त्रिविका प्राध्यापकहरुमा पनि राजनिति हावी भइसकेको थियो र उनीहरुको राजनीति हावा शिक्षण अस्पतालमा पनि घुसिसकेको थियो । प्राध्यापकहरु कोही ‘प्रगतिशिल’ भएका थिए भने कोही ‘प्रजातान्त्रिक’ । आफू परियो विशुद्ध सेवक । राजनितिको खेलमा नलागेको । त्यसैले भयो के भन्दा,  कांग्रेस र कम्युनिष्ट पार्टीका प्राध्यापक र विद्यार्थीहरुले मलार्इ यो पञ्चे डिन हो, यसलार्इ डिनबाट हटाउनुपर्छ भन्न थाले । शुरुमै मेरो मार्गमा अवरोध खडा गरियो।

तर त्यसमा पनि मत विभाजन भयो । एकथरिले मलार्इ पञ्चे डिन हो निकाल्नुपर्छ भन्ने र अर्काथरिले उहाँ त उत्कृष्ट डिन हो निकाल्नु हुँदैन भन्ने । अन्ततः मलार्इ डिनबाट हटाउने कि राख्ने भन्ने विषयमा भोटिङ भयो । रोचक भनूँ या बिडम्बना,  प्रतिनिधिसभाका माननीय सदस्यहरुले भोटिङ गरेर कुनै प्रधानमन्त्री चयन गरेझैँ शिक्षण अस्पतालका सम्पूर्ण डाक्टर र कर्मचारीहरुले मलार्इ हटाउने कि राख्ने भन्ने विषयमा मतदान गर्नुपर्यो रे । मतदान हुँदा मेरो विपक्षमा जम्मा ९ मत खस्यो रे । त्यो अनौठो चुनावमा म विजय भएँ अरे । त्यसपछि कसैको केही लागेन, मलार्इ हटाउन खोज्नेहरु आफैँ पाखा लागे।

यो त एउटा अड्चन थियो । यस्ता अड्चनहरु धेरै आए । म डिन भएर गएपछि पनि विभिन्न विद्यार्थी संगठनहरुले विभिन्न माग तेर्साएर घेराउ,  तालाबन्दी र धर्ना आदि गर्दै आएका थिए ।

२०४६ साल फागुनको प्रसङ्ग हो, एक दिन म आफ्नो कार्यालयमा जाँदा विद्यार्थीहरुको असहज गतिविधि पाएँ । करिब एक सय जना जति विद्यार्थी मेरो कार्यकक्ष बाहिर थुप्रिएका थिए । त्यति नै संख्यामा भित्र पनि विद्यार्थी थिए । जब म ती विद्यार्थीलाइ पन्छाउँदै आफ्नो सेक्रेटरीको कोठामा पुगेँ तब मैले आफ्नो कार्यकक्षको ढोका खुल्लै भएको पाएँ । आफ्नो कार्यकक्षमा प्रवेश गर्दा त दर्जनौँ विद्यार्थी फ्लोरमा बसिरहेका थिए र त्यहाँ कार्यलयमा कोही स्टाफ थिएनन्।

म सरासर डिनको कुर्सिमा गएर बसेँ ।

“के भो ? के भन्न आएका हौ ? सबै एकैचोटि यसरी आउने ?” , मैले भनेँ ।

“सर हामी आफ्ना माग राख्न आएका हौँ । सरले यी माग पूरा गर्छु भनेर सहि गर्नुपर्यो । सहि नगर्ने हो भने हामी तपाइलाइ घेराउ गर्छौ,” विद्यार्थीको कुनै नाइकेले भने ।

केहीबेर उनीहरुलाइ फकाउने कोसिस गरेँ । उनीहरुका मागहरु के–के हुन् , त्यसबारेमा बुझ्ने कोसिस गरेँ । उनीहरुका मागहरुमध्य ५० प्रतिशत राजनितिक प्रकृतिका थिए, जसका बारेमा मैले कुरै गर्न चाहिनँ । म उनीहरुसँग शैक्षिक कार्यक्रम र प्रशासनिक प्रकृतिका मागहरुका बारेमा मात्र छलफल गर्ने पक्षमा थिएँ तर उनीहरुको उदेश्य अर्कै थियो । उनीहरु डिनलाइ हतोत्साहित पारेर आफ्ना सम्पूर्ण मागमा सही गराउने योजनाले आएका थिए वा राजनैतिक आन्दोलनकै त्यो एउटा अंग थियो । मलार्इ खासै थाहा भएन । जति सम्झाउँदा पनि विद्यार्थीहरु मेरो कार्यालयबाट टसको मस भएनन् ।

तीन घण्टा बित्यो । उनीहरुले इन्स्टिच्युटका अन्य कर्मचारीलाइ पनि भित्र प्रवेश गर्न दिएनन् , मलाइ पनि घेराउ गरिरहे । म गम्भिर अवस्थामा पुगेँ । विभिन्न ठाउँबाट मलार्इ फोन आउन थाल्यो । म घेराउमा परेको घटनाका बारेमा चारैतिर खबर फैलियो । मेरो सुरक्षालार्इ लिएर मेरा परिवारका सदस्यहरु बडो चिन्तित हुन थाले । मेरा भार्इ बेनुपराज प्रसाई त्यतिबेला पञ्चायत तथा स्थानीय सहायकमन्त्री थिए । उनले गृहमन्त्रीलार्इ मेरो अवस्थाका बारेमा जानकारी गराइसकेका थिए । सरकार बल प्रयोग गरेर मेरो उद्धार गर्ने भन्ने तयारी गर्दै थियो ।

मलाइ उद्धार गर्न सरकारले कुनै बल प्रयोग गर्नु पर्दैन । उत्पन्न परिस्थितिलार्इ म आफ्नै तरिकाले हल गर्नेछु । मैले गृहका अधिकारीलाइ भनिदिएँ र क्याम्पसमा बल प्रयोग गर्न दिइनँ ।

दिउँसोतिर मलार्इ लाग्यो कि अब यी विद्यार्थीहरुसँग बहस र वादविवाद गरेर समस्याको समाधान हुनेवाला छैन । अब अर्कै समाधान खोज्नुपर्ला ।

म मुसुक्क हाँसे । केहिबेर उनीहरुलार्इ एक–दुर्इ जोक पनि सुनाएँ । केहीबेर पछि मैले भने “तिमीहरुको र मेरो सम्बन्ध अब अलिकति परिवर्तन गरुँ है । अब म पनि तिमीहरुसँगै लाग्छु ।'

म आफ्नो कुर्सिबाट जुरुक्क उठेँ र विद्यार्थीहरुसँगै तल फ्लोरमा गएर बसेँ । “तिमीहरुलाइ केहि भन्नु छ भने म सुनिरहन्छु तर म तिमीहरुको कुराको कुनै मतलब गर्दिनँ”, मैले भनेँ ।

“हैन सर हाम्रा माग तपाइले सम्बोधन गर्नुपर्यो”, विद्यार्थीहरु कराए । तर म मौन भएँ , केही बोलिन । कुनै ध्यान साधकझैँ हलचल नगरी चुपचाप दुवै आँखा बन्द गरिरहेँ । त्यसपछि भने बल विद्यार्थीहरुको कोटमा थियो । म उनीहरुको प्रतिक्रियाको प्रतिक्षामा थिएँ ।

साझँको पाँच बज्यो । अब भने विद्यार्थीहरुलाइ छटपटी हुन थाल्यो ।

साँझमा मैले घोषणा गरेँ ,“तिमीहरुले यो घेराउ कार्यक्रम रद्ध गरेर नगएसम्म म तिमीहरुसँग बोल्दिन र केहि खान्न पनि । मेरो प्रजातान्त्रिक हक खोस्ने तिमीहरुको व्यवहार विरुद्ध म भोक हड्ताल गर्छु ।”

मेरो घोषणाले विद्यार्थी,  मेरी श्रीमती र अन्य आफन्तहरु आत्तिए । सबैलाइ मेरो चिन्ता हुन थाल्यो । हामी घेराउ गर्न आएको डिन आफैँ भोक हड्ताल गरिरहेको छ भन्दै विद्यार्थीहरुले चारैतिर खबर फैलाए । क्याम्पस हातामा प्रहरी प्रवेश गर्न दिनुपर्यो भनेर मलाइ सरकारबाट दबाब आउन थाल्यो तर पनि मैले क्याम्पस हातामा प्रहरीको प्रवेश हुन दिइनँ।

रात परेपछि घेराउमा बसेका करिब ७० प्रतिशत विद्यार्थी त्यहाँबाट गए,  तिनका नाइके मात्र बाँकी रहे । त्यसपछि भने इन्स्टिच्युटका अधिकारीहरु मेरो कोठामा मलार्इ भेट्न आए । मैले उनीहरुर्लाइ तत्काल गइहाल्न भने  र उनीहरु पनि चुपचाप गइहाले ।

राति ८ बजे विद्यार्थी नेताहरुले होस्टेलमा मेरा लागि खाना तयार गराएका रहेछन् । त्यो खाना मेरो कार्यकक्षमा ल्याइयो । तर मैले खाना खान अस्विकार गरेँ र आफ्नो अडानमा दृढ रहेँ । मेरा लागि अब त्यो प्रतिष्ठाको विषय भइसकेको थियो ।

पहिलो दिन मैले केहि खाइनँ । दोस्रो दिन भने विद्यार्थीहरुको व्यवहार केही नरम भयो । फेरि बिहान उनीहरुले मलार्इ ब्रेकफास्टका लागि आग्रह गरे तर मैले मानिनँ।

घेराउ कार्यक्रम बन्द भएको लिखित घोषणा गर अनिमात्र खान्छु । मैले भनेँ ।

अब भने विद्यार्थीहरुलाइ बडा संकट पर्‍यो । उत्पन्न परिस्थितिका बारेमा आफ्ना राजनितिक गुरुहरुसँग सल्लाह गर्न गए । साँझपख विद्यार्थीहरुले आएर भने “सर, हामी यो घेराउ कार्यक्रम रद्ध गर्छौँ । त्यसको लिखित विज्ञप्ति पनि ल्याएका छौँ,  तपाइले भोक हड्ताल तोड्नुपर्यो ।”

अन्ततः विद्यार्थीहरुले नै आन्दोलन फिर्ता लिएपछि मैले पनि ३६ घण्टापछि आफ्नो भोक हड्ताल तोडेँ ।

(डा प्रसार्इ आइओएमका पूर्व डिन साथै शिक्षण अस्पतालका प्रथम डाइरेक्टर पनि हुन्) 
 

स‌ंयोजन:विशद दाहाल

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live