समाचार

म्याग्दीको जलजलामा निःशुल्क मुटु शिविर

स्वास्थ्य खबरपत्रिका

म्याग्दी– जलजला गाउँपालिका–३ मल्लाजमा शुक्रबार सम्पन्न निःशुल्क मुटु शिविरमा ८०० जनाले सेवा लिएका छन्। 

काठमाडौंको मनमोहन कार्डियो थेरासिक सेन्टर, गंगालाल हृदयरोग केन्द्र, जयन्ती मेमोरियल ट्रस्ट र अमेरिकाको युनीभर्सिटी अफ कोलराडोको सहयोगमा मल्लाज स्वास्थ्य चौकीमा सो शिविर सञ्चालन गरिएको हो । 

जलजला गाउँपालिकाको मल्लाज, बाँसखर्क, लेकफाँट, शालीजाका साथै म्याग्दीको बेनीका ८०० जना सर्वसाधारणले सेवा लिएका शिविरका संयोजक विमला न्यौपानेले जानकारी दिए। 

स्वास्थ्य परीक्षण, इसिजी, इकोका साथै निःशुल्क औषधि वितरण र परामर्श सेवा दिइएको थियो । शिविरमा वरिष्ठ चिकित्सक भगवान कोइराला, गंगालाल हृदयरोग केन्द्रका कार्यकारी प्रमुख डाक्टर ज्योतेन्द्र शर्मा र अमेरिकी चिकित्सकको टोलीले सेवा दिएका थिए । 

मुटुरोगको उपचार गराइरहेका पुराना बिरामीको उपचारमा निरन्तरता र नयाँ बिरामी पहिचानका साथै मुटुरोग न्यूनीकरणका लागि जनचेतना फैलाउने उद्देश्यले शिविर आयोजना गरिएको संयोजक न्यौपानेले बताए। 

गाउँमै विशेषज्ञ चिकित्सकको उपस्थितिमा सेवा पाउँदा सर्वसाधारणलाई राहत मिलेको छ । पछिल्लो समय नेपालमा मुटु, मिर्गौला, उच्च रक्तचाप, चिनीलगायत नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको छ । 

अस्वस्थ्य खानपान र विलाशी जीवनशैलीका कारण नसर्ने रोगको समस्या बढेको चिकित्सकले बताएका छन् । शिविरमा उपचारका लागि आएका बिरामीलाई मुटुरोगबाट बच्ने उपायको विषयमा परामर्श दिइएको थियो । रासस

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live