विचार/ब्लग

कतिपय डाक्टरका अक्षर नबुझेरै हैरान

तपेन्द्र खत्री

कैलाली धनगढीका तपेन्द्र खत्रीलाई सानैदेखि रोगले च्यापेका बिरामीलाई औषधि उपलब्ध गराउने कामले प्रभावित पारेको थियो। त्यसैले उनले पनि निधो गरे, ‘म पनि भविष्यमा औषधि पसलमा काम गर्छु। यही विषय पढ्छु।’ 

एसएलसी पास भएलगत्तै उनी सानैदेखिको उद्देश्य पूरा गर्न भन्दै ३ बर्से फार्मेसी अध्ययन गर्न कलेज भर्ना भए। डिप्लोमा इन फार्मेसी उत्तीर्ण भएपछि अहिले उनी राजधानीका औषधि पसलमा काम गरिरहेका छन्। भन्छन्, ‘सानै देखिको इच्छा पूरा भएको छ।’ 

तर, पढाइसकेपछि भने उनले फार्मेसीमा सहजै काम पाउन सकेनन्। हातमा डिग्री त थियो, तर जागिर कसैले दिएनन्। ‘कोही यो सँग अनुभव नै छैन भन्थे, अनि कोही अरु नै बहाना बनाउँथे’ जागिर खोज्दाको दौडधुप सम्झिँदै खत्रीले भने, ‘तर, मिहिनेतको फल मिठो हुन्छ भन्थे, हो रहेछ। म निरन्तर लागिरहेँ र काम पनि पाएँ।’

जागिर पाएको सुरुवाती समयमा निकै समस्या भोग्नु परेको उनी बताउँछन्। सुरुसुरुमा औषधि कसरी बिक्री गर्ने हो भन्ने थाहा नपाउँदा र ग्राहकले मागेको औषधिबारे जानकारी नहुँदा औषधि छैन भनेर समेत फर्काएछन्। तर, अहिले उनी अनुभवी भइसकेका छन्। हाल उनी एभरेस्ट फार्मेसी र हिमांसु फार्मेसी गरेर दुई ठाँउमा काम गर्छन्।

दुई वर्षको अवधिमा दुई स्थानमा काम गर्दा उनले औषधिका विषयमा थुपै्र ज्ञान हासिल गरिसकेका छन्। तर, कतिपय डाक्टरको अक्षर नबुझ्दा भने धेरै पटक समस्यामा परेको सुनाउँछन् उनी।

डाक्टरहरुको अक्षर नबुझ्दा बिरामी वा बिरामीका आफन्तलाई फेरि लेखेर ल्याउनु भनेर फिर्ता पठाउनु परिरहेको छ,’ उनले भने, ‘कतिपय डाक्टरले प्रेस्क्रिप्सनमा लेखेको अक्षर नबुझेर हैरान हुन्छ। सबै डाक्टरको त होइन केहीमा यस्तो समस्या छ। अक्षर नबुझेर गलत औषधि दिनुभन्दा फेरि लेख्न लगाउनु नै राम्रो हो।’

औषधि पसलहरुबीच बढेको प्रतिस्पर्धाका कारण ग्राहक पनि सस्तोमा औषधि पाइनेतिर जाने गरेको उनको अनुभव छ। ‘ग्राहक पनि थरिथरिका हुन्छन्,’ उनी भन्छन्, ‘कोही थर्काउने त कोही हाँसिरहने हुन्छन्।’ उनी काम गर्ने औषधि पसलमा प्रायः सधैं आइरहने बिरामी आउने हुँदा औषधि दिनमा त्यति गाह्रो नपरेको उनी सुनाउँछन्।

तर बेला–बेलामा लागू तथा मनोदीप औषधि माग्न आउनेले दिने दुःखबाट भने उनी हैरान छन्। 

‘डाक्टरको पुर्जीबिना त्यस्ता औषधि दिन मिल्दैन, तर उनीहरु जबरजस्ती भए पनि दिनु भन्दै धम्की दिन्छन्,’ उनले अनुभव सुनाए, ‘कोही त पहिला बसेको दिदीले दिनुहुन्थ्यो दिनु न भन्दै झुटो समेत बोल्छन्।’ 

फर्मेसी पढेकालाई लोकसेवा कोटा निकै कम हुने गरेकोमा उनको दुखेसो छ। नेपालमा धेरै फर्मासिस्ट बेरोजगार भए पनि सरकारले वर्षमा मुस्किलले दुई जनाको मात्र कोटा खोल्द धेरै युवा विदेशिन बाध्य भएको उनले बताए। उनी सरकारी अस्पतालको फार्मेसीको संख्या बढाउँदै जनशक्ति थप्नुपर्नेमा जोड दिन्छन्।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live