टिप्स/जानकारी

सपना पूरा गर्न र सिर्जनशील बन्न मस्तिष्कका विषयमा यस्तो सुझाब 

स्वास्थ्य खबरपत्रिका

भनिन्छ, जे हुन्छ राम्रोका लागि हुन्छ । कुनै काम नगर भन्दा वा निषेध गर्दा हामीलाई नराम्रो लाग्नु स्वाभाविक हो । तर कैयौंपल्ट भने निषेध पनि उपयोगी हुन्छ ।

केही महिनाअघि अमेरिकी गृह मन्त्रालय र बेलायतको यातायात मन्त्रालयले मध्य एसिया र उत्तरी अफ्रिकाको आकाश हुँदै जाने उडानमा स्मार्टफोनबाहेक अन्य इलेक्ट्रोनिक ग्याजेट्स जस्तै ल्यापटप वा ट्याब्लेटलगायत लैजान नपाइने आदेश जारी गरेका थिए ।

इन्टरनेट र इलेक्ट्रोनिक्सको युगमा मानिसका लागि जीवनदायिनी अक्सिजनजस्तो रहेका यी ग्याजेट्स बोक्न प्रतिबन्ध लगाउँदा ठूलै होहल्ला भयो, तर प्रतिबन्ध हटाइएन । 
प्रतिबन्धको मजाक उडाउँदै अरब राष्ट्र जोर्डनको रोयल जोर्डानियन एयरलाइन्सले यस्ता १२ कामको सूची जारी गर्‍यो, जुन काम १२ घन्टा लामो उडानमा कुनै ल्यापटप वा ट्याब्लेटको उपयोग नगरी गर्न सकिन्थ्यो । सूचीमा ११ औं नम्बरमा सुझाएको कुरा थियो– जिन्दगीको अर्थ बुझ्ने प्रयास गर्नुहोस् ।

हुन त रोयल जोर्डानियन एयरलाइन्सले यो सूची अमेरिकी र बेलायती प्रतिबन्धको मजाक उडान तयार पारेको थियो । तर एयरलाइन्सले उडानका बेला समय बिताउन दिएको सुझावमध्ये सबैभन्दा महत्वपूर्ण सुझाव नै यात्रा गरिरहँदा आफ्नो जीवनको महत्व र अर्थमाथि गहिरो सोचविचार गर्नु थियो ।

यथार्थमा यो निकै घतलाग्दो सुझाव हो । समय खाली हुँदा आफैंसँग कुराकानी गर्दै हामी आफ्नो जिन्दगीको महत्व र अर्थमाथि सोचविचार गरौं । आफूलाई समय दिऔं । आजको व्यस्त दिनचर्यामा यस्तो सोच्नु पनि निकै कठिन छ ।

हिजोआज हामीले गर्ने एउटा गुनासो हो– बालबालिका सिर्जनशील काम गर्दैनन् । त्यसो हुनुको मुख्य कारण नै हिजोआज बालबालिका हुन् वा युवा वा अधबैंसे सबै आफ्नो खाली समय स्मार्टफोन, ल्यापटप वा ट्याब्लेटजस्ता ग्याजेट्ससँग मात्र बिताइरहेका हुन्छन् ।

आज मानव जीवन अनेकथरीका मेसिनले घेरिएको छ । साँच्चै भन्ने हो भने हिजोआज मेसिनले नै मानिसको जीवन सञ्चालन गरिहेको छ भन्नु अनुचित नहोला ।
अहिले हामी न राति आरामले मस्त सुत्न पाउँछौं, न त दिउँसो नै एकछिन आराम । कुनै बेला फोनमा कसैलाई जबाफ दियो, कुनै बेला इ–मेलको उत्तर दियो भने कुनै बेला सामाजिक सञ्जालमा नचाहेर पनि म्यासेज ग¥यो वा प्रत्युत्तर दियो । किनभने प्रतिस्पर्धामा अघि रहन पब्लिक रिलेसन कायम राख्न अत्यन्त आवश्यक छ ।

त्यसमाथि तीव्र गतिमा विकसित प्रविधिले हाम्रो हातमा स्मार्टफोन र ट्याब्लेट थमाइदिएको छ । यसले हामी घर वा कार्यालय वा बाहिर जहाँ भए पनि गधाजस्तै लगातार काममा जोतिइरहेका हुन्छौं ।

हामीसँग आफ्ना बारेमा सोच्न एकछिन पनि फूसर्द छैन । कमाउनेबाहेक हामी आफ्नो जीवनमा के चाहन्छौं वा हाम्रो जीवनको अर्थ के हो, हामीसँग यस्ता सार्थक कुरा सोच्ने समय कुनै समय छैन । 

यस्तो बेला रोयल जोर्डानियन एयरलाइन्सले हाम्रो यात्राका बेला आफ्नाबारेमा सोच्ने अवसरका रुपमा उपयोग गर्न दिएको सुझाव अत्यन्त सान्दर्भिक र उपयोगी छ ।
सन् २०१२ मा एउटा अध्ययनले हामीले मन मस्तिष्क खाली राख्दा कैयौं समस्याको समाधान एकैछिनमा निस्कने तथ्य पत्ता लगाएको थियो ।

कैयौंपल्ट सिर्जनशील विचार वा सोच पनि आउँछन्, किनभने मानिस स्वभावैले दिउँसै सपना देख्ने प्राणी हो ।

रचनात्मकता र सपनाको आपसमा गहिरो सम्बन्ध हुन्छ । महान वैज्ञानिकहरूदेखि लिएर नोबेल पुरस्कार जित्ने रसायनशास्त्रीसम्म सबैले खाली मस्तिष्कको सर्वोत्तम उपयोग गरेका छन् ।

यहाँसम्म कि विश्वका महान विचारकहरू पनि चौबिसै घन्टा मन मस्तिष्कलाई कुनै न कुनै काममा व्यस्त नराख्न सुझाव दिन्छन् । बरु मन मस्तिष्कलाई आराम गर्ने अवसर दिनुपर्छ ।

अमेरिकी मनोवैज्ञानिक एमी फ्राइसका अनुसार हाम्रो मन मस्तिष्कले आराम गर्दा हाम्रो अतित पनि सम्झन्छ । र, यस्तो स्थितिमा मन मस्तिष्कले आफैं नै स्वचालित रुपमा हाम्रो वर्तमान स्थितिलाई ती पुराना सम्झना र भावनासँग जोड्छ ।

यसपछि एउटा नयाँ सोच र जुक्ति उत्पन्न हुन्छ । तपाईं आफैंले पनि याद गर्नु भएको हुन सक्छन् कि जब सबै चिन्ताबाट मुक्त भएर कुनै सोचविचार गर्नु हुन्छ भने निकै छिटो र उत्तम समाधान तपाईंको मन मस्तिष्कले सुझाउँछ । 

अमेरिकी ग्राफिक डिजाइनर मेगन किङका अनुसार कहिलेकाहीं कुनै एउटा प्रोजेक्टमा पूरा दिन काम गर्छिन्, तर कुनै नयाँ विचार वा आइडिया फूर्दैैन । र, जब उनी राति मस्त निदाएर उठ्छिन् १५ मिनेटमै विभिन्न नयाँ सोच र आइडियासहित काम गर्न थाल्छिन् ।

तर उनले यसरी मस्त सुत्ने अवसर भने कमै मात्र पाउँछिन्, किनभने कामबाहेक धेरैजसो समय स्मार्टफोनमा व्यस्त हुन्छिन् ।

रिसर्च कम्पनी निल्सनका अनुसार अधिकांश अमेरिकी दैनिक साढे १० घन्टा इलेक्ट्रोनिक ग्याजेट्समा समय बिताउँछन् ।
बेलायतीहरूको स्थिति पनि यस्तै छ । हिजोआज कोही पनि मस्तिष्क खाली राखेर बस्नै चाहँदैनन् ।

केही वैज्ञानिकले गरेको एउटा अध्ययनमा केही व्यक्तिलाई ६ देखि १५ मिनेटसम्म कुनै ग्याजेट नचलाई चुपचाप एक्लै बस्न भने र केहीलाई भने इलेक्ट्रिक सक (विद्यतीय झड्का) लिने विकल्प दिए । अचम्मलाग्दो कुरा के भयो भने अधिकांश सहभागीले दोस्रो विकल्प अर्थात विद्युतीय झड्का लिने बताए ।

अमेरिकाको भर्जिनिया युनिभर्सिटीका मनोविज्ञानका प्रोफेसर डेनियल विलिंघम खाली हुँदा हाम्रो मस्तिष्कले फरक तरिकाले सोचविचार गर्ने बताउँछन् । र, जब हामी कम्प्युटर, ल्यापटप वा स्मार्टफोन चलाउँछौं, त्यसबेला फरक तरिकाले काम गर्छ ।

हाम्रो मस्तिष्कमा दुई भाग हुन्छन्– एउटा भित्री र अर्को बाहिरी । मस्तिष्कको भित्री भाग दिउँसो ज्यादा सक्रिय हुन्छ, जसलाई डिफल्ट नेटवर्क भनिन्छ । हामीले आफ्ना बारेमा सोचविचार गर्दा भित्री भागले बढी प्रभावकारी रुपमा काम गर्छ । 

मस्तिष्कका यी दुवै भाग आपसमा जोडिएका हुन्छन् । तर दुवै भागले एकैपल्ट वा सँगसँगै काम गर्दैनन् । यसको अर्थ एक पटकमा हाम्रो मस्तिष्कको एउटा भागले मात्र काम गर्छ ।
जब हामी कुनै ग्याजेट्समा व्यस्त हुन्छौं, त्यसबेला हाम्रो मस्तिष्क सिर्जनशील हुन पाउँदैन । अहिलेका बालबालिका, किशोर र युवा सबैको सबैभन्दा ठूलो समस्या नै ग्याजेट्स हो ।
तर अहिले धेरैले यसलाई  गम्भिरतापूर्वक लिन थालेका छन् । कतिपयले त ग्याजेट्समा झुन्डिइरहने आफ्नो बानी समेत फेरिरहेका छन् । जस्तो कि ग्राफिक डिजाइनर किङले फेसबुक चलाउन छाडेकी छन्, जबकि उनी सबैभन्दा बढी फेसबुकमा नै व्यस्त हुन्थिन् ।

यसैगरी प्रोफेसर विलिंघम पनि घुुम्न निस्कँदा आफूसँग पहिलेजस्तो पडकास्ट लैजाँदैनन् । साथै उनले टेलिभिजन र स्मार्टफोनको प्रयोग पनि धेरै कम गरेका छन् । 
प्रोफेसर एमी फ्राइस धेरै सिर्जनशील हुन चाहनेले धेरै फोकस गर्नु नपर्ने काम गर्नुपर्ने बताउँछिन् । जस्तो कि खाली समयमा आफैंसँग कुराकानी गर्ने वा घुम्न जाने । 

दिउँसो खाली बसेर सपना (दिवास्वप्न) देख्ने प्रयास गर्ने वा कल्पनामा डुब्ने । आफूले देखेका सपना पूरा गर्न मस्तिष्कलाई केही समय दिने, सन्तुलित भोजन गर्ने र नियमपूर्वक दैनिक व्यायाम गर्ने सल्लाह उनी दिन्छिन् ।

सबैभन्दा महत्वपूर्ण कुरा हो पर्याप्त सुत्ने वा मस्त निदाउने । हामीले यति सबै गर्‍यौं भने हामीलाई सिर्जनशील हुनबाट कसैले पनि रोक्न सक्दैन । 

हामीले अनेकौं व्यस्तताबीच पनि आफ्ना लागि समय निकाल्न अत्यन्त जरुरी छ । सिर्जनशील हुन बाहेक पनि मानसिक र शारीरिक रुपमा स्वस्थ रहन मन र मस्तिष्कलाई आराम दिन अत्यन्त आवश्यक छ । र, आफूले देखेका सपना पूरा गर्न मस्तिष्कलाई सोचविचार गर्ने पर्याप्त समय दिने ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live