घरमै डाक्टर

घरमै डाक्टर– कुन अवस्थामा रक्तदान गर्न मिल्दैन ? 

स्वास्थ्य खबरपत्रिका

फाइल तस्बिर

मलाई रक्तदान गर्न मन छ तर कुन अवस्थामा रक्तदान गर्नुहुँदैन भन्ने बारे जानकारी पाए आभारी हुने थिएँ । 
जनेश


रक्तदान गर्ने व्यक्ति स्वस्थ हुनु जरुरी छ, ताकि रगत लिनेलाई कुनै प्रकारको रोग नलागोस्। दान गरिने रगतमा जीवाणु, परजीवी, औषधि तथा कुनै पनि प्रकारका हानिकारक पदार्थ हुनु हुँदैन। रक्तदान गर्नुअगाडि रक्तदाताको स्वास्थ्य परीक्षण गरिने भए पनि हाम्रो सन्दर्भमा प्रायः परीक्षण विस्तारमा गरिएको  हुँदैन।

निम्न अवस्थामा रक्तदान गर्नु हुँदैन

औषधि सेवन

ज्वरो आएको तथा एन्टिबायोटिक लिइरहेको अवस्था।

आइसोट्रेटिनोइन, एकुटेन, फिनास्टेराइडजस्ता डन्डिफोर  तथा पिसाबको ग्रन्थी बढेको अवस्थामा प्रयोग गरिने औषधिको  अन्तिम मात्रा खाएपछि एक महिना नपुगेको अवस्था।

पिसाबको ग्रन्थी बढेको अवस्थामा प्रयोग गरिने डुटास्टेराइड औषधिको  अन्तिम मात्रा खाएपछि ६ महिना नपुगेको अवस्था।

एस्पिरिन खाइरहेकाहरुले पर्खनुपर्छ भन्ने छैन, तर तीन दिन पर्खंदा वेश।

हेपारिन, वार्फारिनजस्ता रगत पातलो पार्ने औषधि लिइरहेका बिरामीहरुले चिकित्सकद्वारा औषधि छुटाइएको अवस्थामा सात दिनपछि मात्र रक्तदान गर्नु पर्छ।

टिक्लोडिपिन, क्लोपिडोग्रेल जस्ता रगत जमाउन कम गर्ने औषधि लिइरहेकाहरुले औषधि छोडेपछि १४ दिन पर्खनुपर्छ।

ग्रोथ हर्मोन लिएकाहरुले रक्तदान गर्नु हुँदैन।

सोरियासिस नामक छालाको रोगका लागि इट्रेटिनेट औषधि लिइरहेकाहरुले कहिल्यै पनि रक्तदान गर्नु हुँदैन। एसिट्रेटिन औषधि लिइरहेकाहरुले पनि औषधि छोडेको तीन वर्षसम्म रक्तदान गर्नु हुँदैन।

छालाको क्यान्सरमा प्रयोग गरिने भिस्मोडेगिल  औषधि लिइरहेकाहरुले औषधि छोडेको ७ महिना नपुगेको अवस्था।

प्रतिरक्षात्मक शक्ति कमजोर हुने रोगमा प्रयोग गरिने टेरिफ्लुनोमाइड औषधि लिइरहेकाहरुले औषधि छोडेको २ वर्षसम्म रक्तदान गर्न मिल्दैन।

खोप

दादुरा, हाडे, रुबेला, ठेउला तथा जनै खटिरा विरुद्ध खोप लगाएको चार हप्तासम्म रक्तदान गर्नु हुँदैन।

हेपाटाइटिस 'बी' का रोगीको  सम्पर्कमा नआएका तर हेपाटाइटिस 'बी' खोप लगाएकाहरुले तीन हप्तासम्म रक्तदान गर्नु हुँदैन।

हेपाटाइटिस 'बी' का रोगीको सम्पर्रकमा आएका, हेपाटाइटिस 'बी' इम्युन ग्लोबुलिन  लगाएकाहरुले एक वर्ष नपुगेसम्म रक्तदान गर्नु हुँदैन।

स्वास्थ्य अवस्था

प्रति एक सय मिलिलिटर रगतमा हेमोग्लोबिन महिलामा १२ दशमलब ५ ग्राम तथा पुरुषमा १३ ग्रामभन्दा कम वा २० ग्रामभन्दा बढी भएकाहरुले रक्तदान गर्नु हुँदैन।

गर्भवती महिलाले बच्चा जन्मेको ६ हप्तासम्म रक्तदान गर्नु हुँदैन।

हृदयघात, मस्तिष्कघात, कलेजो तथा मिर्गौला फेल भएकाहरुले रक्तदान गर्नु हुँदैन।

तराई क्षेत्रमा व्यावहारिक नहुन सक्छ, तथापि मलेरियाको उपचार गरेको तीन वर्षसम्म तथा मलेरिया हुने क्षेत्रमा भ्रमण गरेको एक वर्षसम्म रक्तदान गर्नु हुँदैन।

रगत बग्न सजिलै नरोकिने रोगी वा रगत पातलो पार्ने औषधी खाइरहेकाहरुले रक्तदान गर्नु हुँदैन।

हेमोक्रोमेटोसिस नामक रोग भएकाहरुले रक्तदान गर्नु हुँदैन।

रक्तनलीबाट लागूपदार्थ सेवन गर्नेहरुले रक्तदान गर्नु हुँदैन।

रगत तथा ग्रन्थीको क्यान्सर भएकाहरुले रक्तदान गर्नु हुँदैन। पूर्णरुपमा उपचार गरिएका क्यान्सर रोगीहरुले पनि एक वर्षपछि मात्र रक्तदान गर्न सक्छन्।

डा. नारायणसिंह गुरुङ

 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live