नर्सिङ

के हो कस्मेटिक नर्सिङ, के छ नेपालमा सम्भावना ?

जानकी श्रेष्ठ, कस्मेटिक नर्स 

कस्मेटिक नर्सिङ मानिसको सुन्दरतामा निखार ल्याउने पेसा हो । यद्यपि, नेपालमा पिसिएल, बिएससी, एमएससी नर्सिङ पढाइ हुन्छ तर कस्मेटिक नर्सिङ पढाइ हुँदैन।

कस्मेटिक नर्सहरुले अस्पताल, मेडिकल स्पा, प्लास्टिक सर्जरी हुने संस्थामा काम गर्न सक्छन् । कस्मेटिक नर्स बन्नका लागि कस्मेटिक सम्बन्धी तालिम लिनुपर्छ । कस्मेटिङ नर्सिङको अध्ययन र तालिम सहज रुपमा हुने हो भने यो क्षेत्रमा अवसरको सम्भावना छ । 

नेपालमै डाक्टरी अध्ययन गर्नेहरुले डर्मेटोलोजी भनेर ‘कस्मेटिक’ विषय छान्न पाउँछन् तर नर्सका लागि त्यो सुविधा छैन । कस्मेटिक विषय छान्न पाउने हो भने यो नयाँ क्षेत्रमा धेरै नर्सले रोजगारी पाउन सक्छन् । किनकि, धेरै मानिस कस्मेटिक सर्जरीका लागि विदेश जानुपर्ने वाध्यता छ । 

नेपालमा कस्मेटिक नर्सिङ भनेर छुटै पढाइ हुँदैन । नर्स परेकाले थप तालिम लिएर यस क्षेत्रमा काम गरिरहेका मात्र हुन् । म आफैं पनि भारतमा तालिम लिएर आएकी हुँ । कस्मेटिङ नर्सलाई नर्सिङ काउन्सिलले समेत दर्ता गर्दैन । 

नर्सिङको कोर्समा कस्मेटिक विषयबारे पढाइ हुँदैन यो छुटै फिल्ड हो । तर, यसमा नर्सको लागि धेरै राम्रो अवसर छ । नेपालमा कस्मेटिक नर्सिङ भनेर पढाइ नहुने भएकाले यसको विस्तार हुन नसकेको हो । यदि कस्मेटिङ नर्सिङ पढाइ हुने हो भने यो पेसाले धेरैलाई आकर्षित गर्न सक्छ । 

कस्मेटिक नर्स भन्ने बित्तिकै नक्कल पार्ने, राम्री बनेर बस्ने भन्ने सोचाइ धेरैमा पाइन्छ, त्यो एकदमै गलत हो । कस्मेटिक नर्स नक्कल परेर बस्ने होइनन् काम गर्ने हुन् र सौन्दर्यमा निखारता ल्याउन उनीहरुको भूमिका महत्वपूर्ण छ भन्ने बुझ्नुपर्छ । 

कस्मेटिक फिल्डमा लागिसकेपछि आफूलाई पनि मेन्टेन गर्न जरुरी छ । त्यसैले सुन्दर बनेर बसेका कस्मेटिक नर्सहरुलाई नक्कल पार्छे भन्ने गरिएको होला । तर, आफूले सुन्दरता ‘मेन्टन’ गरे पो अरुलाई हामी तपाईंलाई राम्रो बनाउँछौं भनेर बुझाउन सकिन्छ त । कस्मेटिक नर्स सुन्दर बनेर, चिटिक्क परेर बस्नुको एउटा कारण यो पनि हो ।

कस्मेटिक सम्बन्धी जानकारी र उपचार गराउन आउने मानिसलाई सम्झाउनका लागि आफूलाई पहिले तयार राख्नुपर्छ । बाहिरको रुपलाई निखार्ने कुरा भएकाले आफू पनि आत्मविश्वासका साथ तयारी अवस्थामा रहनुपर्छ । 

नेपालमा कस्मेटिक नर्सको आवश्यकता ठूलो छ । अधिकांश मानिसलाई आफ्नो रुपरङप्रति चासो हुने गर्छ, पछिल्लो समय नेपाली समाजमा पनि त्यो कुरा झल्किन थालेको पाइन्छ, तर त्यसअनुसारको सेवा दिने कस्मेटिङ नर्सको भने अभाव छ ।

नर्स भएपछि अस्पतालमै बिरामीको सेवा मात्र गर्नुपर्छ भन्ने बुझाइ गलत हो । धेरै नर्सले काम गर्ने भएकाले नर्स भनेकै अस्पतालमा काम गर्ने मात्र हुन् भन्ने सोच्नु सामान्य होला, तर नर्सिङका पनि आ–आफ्ना विधा हुन्छन् । यहाँ पढाइ हुँदैन भन्दैमा कस्मेटिक नर्स चाहिँ नर्स नै होइनन् भन्ने मान्यता राख्नु राम्रो होइन । नर्सले आफूले चाहेको क्षेत्रमा काम गर्न पाए भने राम्रो नतिजा दिन सक्ने हो । त्यसैले नर्सिङ कोर्समै कस्मेटिक पनि भयो भने धेरै राम्रो हुन्छ भन्ने मेरो बुझाइ हो । 

कस्मेटिक नर्सिङलाई नेपालमा स्थापना गर्न सकियो भने धेरै नर्सको आर्कषण बढ्नेछ भन्ने कुरामा द्विविधा छैन । 

आफूलाई मनपर्ने फ्याकल्टी पढ्न पाइयो भने मात्र त्यसले अध्ययन गरेर निस्कने जनशक्तिको कार्य दक्षता बढाउँछ । 

छाला चाउरी पर्न सुरु भयो भने चाउरी नपरोस् भनेर उपचार गर्न आउने धेरै हुन्छन् । विदेशतिर ४० वर्ष नाघेका मानिस पनि २२–२५ का जस्तै देखिनुमा यही उपचार विधिले काम गरेको हुन्छ । नेपामा पनि यो चलन बढ्न थालेको छ । 

सौन्दर्यप्रति मानिसको जति चासो बढ्दै जान्छ, त्यति कस्मेटिक नर्सको आवश्यकता महसुस हुने हो । यो नयाँ क्षेत्र भएकाले धेरै नर्सलाई समेत यसबारे जानकारी नहुन सक्छ । त्यसैले मैले बारम्बार भन्ने गरेको नर्सिङमा कस्मेटिक फ्याकल्टी चाहिन्छ । यद्यपि, कस्मेटिक नर्स बन्नका लागि तालिम लिएर यो पेसामा आउन भने सकिन्छ ।

(श्रेष्ठ आवरण स्किन एन्ड हेयर क्लिनिकमा कार्यरत छिन्)

प्रस्तुतिः सिर्जना खत्री
 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live