विचार/ब्लग

महिला स्वास्थ्य स्वयंसेविका दिवस : ग्रामीण स्वास्थ्यमा अतुलनीय योगदान

गंगाराज अर्याल

नेपालको स्वास्थ्य नीति अनुसार आधारभूत स्वास्थ्य सेवा जनताको घरदैलोमै पुर्याउने उद्देश्यलाई साकार गराउन आर्थिक वर्ष २०४५/४६ तिर तत्कालीन स्वास्थ्यमन्त्री (पूर्व राष्ट्रपति) डा. रामवरण यादवको कार्यकालमा स्वास्थ्य स्वयम्सेवक कार्यक्रम लागुगर्ने निर्णय भयो। भारतको आँगनवाडी कार्यक्रमकै मुर्तरुपमा नेपालमा सो कार्यक्रम सञ्चालन गर्ने जमर्को गरियो। जसको प्रमुख उद्देश्य मुलुकका हरेक वडामा एकजना स्वास्थ्य स्वयम्सेवक छनौट गरी, तालिम दिई सेवा गर्न खटाउने। 

स्वयम्सेवा भएकाले तालिम, गोष्ठी वा अन्य कार्यमा परिचालन गरिँदा खाजा भत्ता र मासिक एक सय रुपैयाँ मात्र पारिश्रमिक पाउने गरी कार्यक्रम शुरु गरियो। अब कसलाई स्वास्थ्य स्वयम्सेवकको रुपमा परिचालन गर्ने भन्ने छलफल भइरहँदा केन्द्रीय जनवर्गीय महिला संगठनले स्वास्थ्यमन्त्रीलाई अनुरोध गरेपछि सो कार्यक्रमका स्वयम्सेवक महिलालाई नै परिचालन गर्ने निर्णय भयो। स्वास्थ्य स्वयम्सेवक कार्यक्रमबाट सुरुमा २७ जिल्लामा र क्रमैसँग देशका सबै जिल्लामा महिला स्वास्थ्य स्वयम्सेविका कार्यक्रमका लागु भयो। जुन अझै सञ्चालन भइरहेको छ।

हरेक वडाबाट साक्षर वा निराक्षर, २५ वर्ष उमेर माथिका, स्थानीय वडाका बासिन्दा, बालबालिका जन्माएको अनुभव वा सुत्केरी भएका महिलाको समूहलाई ‘आमा समूह’का रुपमा गठन गरी सोही समूहबाट एकजनालाई महिला स्वास्थ्य स्वयम्सेविकाका रुपमा छनौट गरी १५ दिने आधारभूत तालिम दिपछि वडामै परिचालन गरिएको थियो। पछि १५ दिनबाट परिमार्जन गरी शुरुमा ९ दिन र परिचालित भएको ६ महिनाभित्र पुनः ९ दिन गरी १८ दिने तालिमको व्यवस्था गरियो। हाल देशका ग्रामीण तथा सहरी क्षेत्रमा गरी ५१ हजार ४ सय १६ महिला स्वास्थ्य स्वयम्सेविका सेवारत छन्। 

आ–आफ्नो वडामा आधारभूत प्राथमिक स्वास्थ्य सेवाभित्र पर्ने सुरक्षित मातृत्व, परिवार नियोजन, बालस्वास्थ्य तथा समुदायमा आधारित स्वास्थ्य कार्यक्रमको प्रवर्धन गर्ने शिलशिलामा वडाभित्रका जनतालाई प्रेषण तथा स्वास्थ्य सन्देश फैलाउनुकासाथै राष्ट्रिय स्वास्थ्य कार्यक्रममा सघाउने जस्ता महत्वपूर्ण उद्देश्य लिई परिचालित महिला स्वास्थ्य स्वयम्सेविकाले राम्ररी काम गरेका छन्। 

वैदेशिक सहयोगबाट मासिक पाउने पारिश्रमिक कटौती भएपछि महिला स्वास्थ्य स्वयम्सेविकाहरुमा नैराश्यता बढ्न थाल्यो। तालिम तथा गोष्ठीमा भत्ता र खाजा मात्र उपलब्ध हुन थाल्यो। महिला स्वास्थ्य स्वयम्सेविकाले आफू स्वयम्सेवकका रुपमा सेवारत भन्ने तथ्य बिर्सेर घरदैलोमा पुर्याउने सन्देश र सल्लाह समेत दिन छाडे। तर, सरकार, स्वास्थ्य मन्त्रालयले भने महिला स्वास्थ्य स्वयम्सेविकाको महत्वपूर्ण योगदानको फलस्वरुप नै देशले स्वास्थ्य क्षेत्रका महत्वपूर्ण र सम्पूर्ण उपलब्धि हासिल भएको भनी बखान र पुरस्कृत गर्दै गयो। हुन पनि महिला स्वास्थ्य स्वयम्सेविकाले नेपालको ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवामा पुर्याएको योगदान अतुलनीय नै छ। 

तर बीचमा, पारिश्रमिक नपाउने र सित्तैमा कति सेवा गर्नु भन्ने भावनाका कारण महिला स्वास्थ्य स्वयम्सेविकामा निराशा देखिएकै थियो। यस्तै, पहिले वडा संख्याका आधारमा राखिने महिला स्वास्थ्य स्वयम्सेविका २०५० देखि जनसंख्याका आधारमा मनोनित गर्न थालियो। तालिम लिएर जनताको घरदैलोमै पुगी स्वास्थ्य चेतना र सेवा दिने सेविकाको उच्च सम्मान गर्दै बर्सेनि असोज १५ गतेलाई महिला स्वास्थ्य स्वयम्सेविका दिवसका रुपमा मनाउन थालियो, पछि परिमार्जन गरी अन्तर्राष्ट्रिय स्वयम्सेवक दिवस डिसेम्बर ५ तारिखलाई नै महिला स्वास्थ्य स्वयम्सेविका दिवसका रुपमा मनाउन थालिएको छ। 

कुनै कारणबस महिला स्वास्थ्य स्वयम्सेविकालाई काम गर्न मन नलागेमा उनकै सिफारिसमा अर्को महिलालाई छनौट गरी तालिम दिई काममा परिचालन गर्न सकिन्छ। 

अहिले हरेक महिला स्वास्थ्य स्वयम्सेविकालाई पोषाक भत्ता स्वरुप वार्षिक ६ हजार रपैयाँ उपलब्ध गराउन थालिएको छ। स्वयम्सेविका कोषका रुपमा वार्षिक १० हजार रुपैयाँ उपलब्ध गराइन्छ। निराक्षर महिला स्वास्थ्य स्वयम्सेविकालाई शिशुलाई जटिल स्वास्थ्य समस्या पर्दा दिइने ‘जेन्टामाइसिन सुइ’ र नवजात शिशुलाई श्वास–प्रश्वास समस्यामा निकै सतर्कताकासाथ तालिम प्राप्त स्वास्थ्यकर्मीले प्रयोग गर्न सक्ने ‘डिली सक्सन मेसिन’ समेत प्रयोग गर्न दिने निर्णय भयो तर स्वास्थ्यकर्मीले आवाज उठाएपछि कार्यान्वयनमा भने आउन सकेन। 

यसरी, स्वास्थ्य मन्त्रालयले वर्षौं लगाएर अध्ययन गरेका योग्य स्वास्थ्यकर्मीलाई बेवास्ता र अवमूल्यन गरी महिला स्वास्थ्य स्वयम्सेविकाको मात्र प्रसंशा गरेको भन्ने गुनासो सुनिन्छ अचेल। स्वयम्सेविकाको नाममा ५० हजार रुपैयाँको अक्षयकोष समेत खोलिएको  छ। हरेक सेविकालाई एक एकवटा मोबाइलसेट उपलब्ध गराइएको छ। 

सरकारले सकेजति सुविधा बढाउँदै लगे पनि महिला स्वास्थ्य स्वयम्सेविकाहरुले सरकारले केही गरेन, कुनै सुविधा दिएन भन्ने गुनासो गरिरहेका हुन्छन्। सरकारले योग्य र सक्रिय महिला स्वास्थ्य स्वयम्सेविकालाई ‘अक्जुलियरी नर्स मिडवाइफ’को तालिम दिने व्यवस्था गरेको जानकारी प्राप्त भएको छ।

सरकारले जनस्वास्थ्य कार्यक्रम प्रवर्धन, स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार सम्बन्धी सन्देश वडाबासीलाई पुर्याउन र सरकारी स्वास्थ्य संस्थालाई सघाउन स्वयम्सेविका परिचालन गरेको हो। जसको फलस्वरुप मात्रृ–शिशु स्वास्थ्य, शिशु तथा बालबालिका स्वास्थ्य आदिमा उपलब्धि हासिल हुन सघाउ नपुगेको भने होइन। त्यसैले महिला स्वास्थ्य स्वयम्सेविकाले वडास्तरमै जनतालाई स्वास्थ्य सूचना, शिक्षा र सञ्चार सम्बन्धी सन्देश फैल्याएर पुर्याएको योगदानको कदर गर्नुपर्छ। तर, करिब ९ हजारभन्दा बढी स्वास्थ्यकर्मीले अहोरात्र पुर्याएको सेवालाई नजर अन्दाज गर्न भने नमिल्ला।

(पाणिनी–८, पाली, अर्घाखाँचीका अर्याल स्वास्थ्य सेवामा ४० वर्ष सेवा गरी निर्देशकबाट सेवानिवृत्त भएका हुन्)
 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live