प्रवास

सञ्चार दक्षता चिकित्सकका लागि महत्वपूर्ण

डिबी खड्का

सप्तरी औरहीका डा सुरेश यादव विगत १७ वर्षदेखि अमेरिकामा छन् । सिद्धार्थ वनस्थलीबाट एसएलसी गरेका उनले सन् १९९२ मा एमबिबिएस चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)बाट गरेका हुन् । त्यसपछि केही समय नर्भिक, पाटन र बी एन्ड बी हस्पिटलमा गरे । सन् २००१ मा अमेरिका पुगेका हुन् । अमेरिकामै इन्टरनल मेडिसिनमा एमडी गरेका उनले अमेरिकाका तीनटै स्वास्थ्य प्रणाली अन्तर्गतका हस्पिटलमा काम गरिसकेका छन्। उनले आफ्नो चिकित्सकीय अनुभव स्वास्थ्यखबरसँग बाँडेका छन्ः

बिरामी र चिकित्सक बीच सम्बन्ध जति सुमधुर भयो त्यति दुइटै पक्षलाई सहज हुन्छ । डाक्टरले आफ्नो ज्ञानसिपको प्रयोग निर्धक्क गर्न सक्छ भनेर बिरामीले डाक्टरमाथि भरोसा गर्न सक्छ । तर, कतिपय अवस्थामा यस्तो हुँदैन । यसो नहुनुमा सञ्चारको भूमिका पनि ठूलो रहन्छ। बिरामीलाई डाक्टरले उसलाई भएको रोग र उपचार बारे जति स्पष्टसँग बुझाउन सक्यो, त्यति नै उपचारमा सफलता हासिल हुन्छ ।

अमेरिकामा प्रचलित तिनै प्रकारका स्वास्थ्य प्रणालीमा काम गरिसकेको छु मैले । यसकारण सञ्चार दक्षता डाक्टरमा हुनुपर्ने गुणहरुको पहिलो पंतिमै पर्छ । के भएको हो, कसरी उपचार गरिँदैछ भन्ने कुरा सामान्य भाषामा बुझाइदिनुपर्छ । जसले चिकित्सक र बिरामीबिच कुनै प्रकारको असमझदारी पैदा हुन दिँदैन । अमेरिकामा बिरामी र उनीहरुका आफन्तको चाहना पनि डाक्टरले सकेसम्म उपचारका क्रममा त्यसबारे आफूलाई स्पष्ट बुझाइदिए हुन्थ्यो भन्ने हुन्छ ।

बिरामीले डाक्टरको र डाक्टरले बिरामीको उत्तिकै महत्व बुझ्नुपर्छ । त्यही अनुसार एकअर्काप्रति सम्मानभाव उब्जिन्छ । जसले सञ्चार प्रक्रियामा रहेका त्रुटीहरु पनि सच्याउन मद्दत गर्छ । नेपालमा पछिल्लो समय डाक्टर र बिरामीबीचको आत्मीयता फाटो आइरहेको देखिन्छ । देख्दा त्यस्तो देखिएपनि खाशगरी समाजबाटै हार्दिकता हराउनुको असर यहाँसम्म पनि पुगेका हो ।  कसैले कसैलाई नचिनेपनि आँखा जुध्दा मुस्कुराएर ‘हेल्लो’ भन्ने गरिन्छ अमेरिकातिर। यसले मानवीयता सँगै हार्दिकता प्रकट गरिरहेको हुन्छ । हामी नेपालीमा पहिलेदेखि रहँदै आएको यो आत्मीयता पछिल्लो समय घटिरहेको छ ।

डाक्टरले बिरामीका बारेमा बुझाउनुपर्छ नै । बिरामीले पनि डाक्टरले भनिरहेका कुरा सकारात्मक रुपमा बुझ्नु जरुरी हुन्छ । अमेरिकाको स्वास्थ्य प्रणालीमा डाक्टरको सल्लाहलाई बिरामी वा बिरामी पक्षले गम्भीर भएर सुन्छ । धेरै जानेबुझेकै हुने भएपनि सोही क्षेत्रको विशेषज्ञले जति अरुले बुझ्न नसक्ने कुरा उनीहरुलाई थाहा छ ।

नेपालमा यस्तो समस्या आउनुको अर्को कारण अस्पतालमा हुने भीडभाड हो । जता हेर्‍यो, त्यतै अव्यवस्थित हुनु हो । मान्छेको चाप सवै देशका अस्पतालमा हुन्छ तर सवै एउटा प्रणाली अनुसार चल्ने भएकाले अव्यवस्थित भीडभाड देखिदैन । यस्तो भीडभाड र अव्यवस्थाले पनि बिरामीले सहजै आफूले चाहेको जाँच गराउन पाउने र डाक्टरले उपचार गर्ने माहोल बन्दैन । यसले आन्तरिक रुपमा बढीरहेको तनाव हस्पिटल प्रशासन वा डाक्टरमाथि पोखिन सक्ने देखिन्छ ।

अमेरिकाको परिवार प्रणालीमा छोराछोरी टाढा हुन्छन् । सधैं आफैं जँचाउन लिएर जान पाउँदैनन् । तर, आफन्तको स्वास्थ्य बारे जानकारी राख्छन् । यसका लागि उनीहरु डाक्टरको सम्पर्कमा बस्छन् । उनीहरुलाई यथार्थ बताइदिएर सन्तुष्ट पार्न सक्नुपर्छ । मेरो अनुभवमा बुढेशकालमा आमाबुवाको उपचारमा छोरा भन्दा पनि छोरीहरु बढी अस्पताल आउने गरेको देखेको छु।  

स्वास्थ्य विमा र इलेक्ट्रोनिक मेडिकल रेकर्डले उपचार प्रक्रिया सहज बनाएको छ । सवै अवस्थामा र सवैले गल्ती नै नगरी उपचार गर्छन् भन्ने हुँदैन । तर, गल्तीलाई सच्याउने प्रणाली हुन्छ । एउटाले गरेको उपचार प्रक्रिया ‘भेरिफाइ’ गर्ने अर्को प्रणाली हुन्छ । सामान्य गल्ती भएको भए तुरुन्तै सच्याउन सकिन्छ । चेक एन्ड ब्यालेन्स गर्ने अस्पतालको आफ्नै प्रणाली हुन्छ।

कदमकदाचित उपचारमा गल्ती भइहाल्यो भने बिरामी वा बिरामीका आफन्तलाई भनिदिनु राम्रो मानिन्छ । उपचारमा गलत भएका कारण मुद्दा चलेमा पनि बिरामीलाई अवगत गराए/नगराएको कुरालाई सुरुमा उठाइन्छ । यसले गल्ती भएपनि  नियत गलत नरहेको भन्ने ठानिन्छ । यहाँको उपचार प्रणालीमा एउटा गल्ती ढाकछोप गर्न खोज्दा अरु गल्ती  हुने संभावना पनि बढी रहन्छ । त्यसैले कसैले त्यस्तो गर्दैन । गल्ती भइहाल्यो भने स्वीकार्छ ।

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live