विचार/ब्लग

डाक्टरसा’ब, महिनावारी गडबड हुँदा विवाहबारे प्रश्न किन ?

सिंधुवासिनी त्रिपाठी

१३–१४ वर्षकी एक किशोरी डाक्टरसामु बसेकी छिन् ।  डाक्टर सोध्छन्, ‘तिमी विवाहित हो ?’

किशोरीले आमातिर जिज्ञासु नजरले हेरिन् । सोचिन्– बिसन्चो हुनुमा यो विवाह कुरा कसरी जोडियो ? उनी ‘छैन’को संकेतमा टाउको हल्लाउँछिन् ।

तर, पछिल्लो दुई सातादेखि उनको महिनावारी रोकिएको छ । उनले यो कुरा आफ्नी आमालाई बताएपछि स्वास्थ्य परीक्षण गराउन उनलाई डाक्टरकहाँ लगियो ।
भर्खरै हुर्किंदै गरेकी यी किशोरीलाई केही थाहा छैन, महिनावारी रोकिएको कुराले अरु सबैले उनलाई कुन नजरले हेरिरहेका छन् ।

उनले आमासँग पटक–पटक सोधिन्, ‘डाक्टरले किन सोधेको म विवाहित हो कि होइन भनेर ?’

जब डाक्टरले सिकाए नैतिकताको पाठ
फरक–फरक विषयमा जागरुकता फैलाउने र सामाजिक परिवर्तनका पक्षमा आवाज उठाउने बेभसाइट चेन्ज डट ओआरजीमा मैले भर्खरै यस्तो पढेकी थिएँ,
म एक अविवाहित केटी हुँ । केही दिनयता मेरो महिनावारी गडबड भएको छ र म जँचाउन डाक्टर कहाँ गएँ । म ढुक्क थिएँ कि डाक्टरले मेरो समस्याको समाधान गर्नेछिन् । मलाई औषधि दिनेछिन् र मेरो सहयोग गर्लिन् । तर, भयो ठीक यसको उल्टो ।

उनले मलाई अचम्मलाग्दा प्रश्न सोधिन् । जस्तै– तिम्रो बिहे भयो ? तिम्रो केटा साथी छ कि छैन ? तिमी सेक्स गर्छ्यौ ? तिम्रो बाआमालाई यसबारे थाहा छ कि छैन ?
म डाक्टरको यस्तो रवैया देखेर छक्कै परेँ ।

यस्तो घटना पूजाले बेहोरेकी थिइन् । उनी चाहन्छिन् डाक्टरले अविवाहित महिला÷युवतीसँग यस्ता छेउ न टुप्पाका प्रश्न नसोधुन् र नैतिकताको पाठ नपढाउन् ।
उनले बेवसाइटमै आग्रह गरेकी छिन् कि यस्ता मामिलामा डाक्टरले पालन गर्नुपर्ने केही गाइडलाइन्स (निर्देशिका) बनाउन आवश्यक छ ।

यौन स्वास्थ्यसँग जोडिएका समस्या आउनासाथ अधिकांश डाक्टरहरू वैवाहिक अवस्थासँग जोडिएका प्रश्न सोध्ने गर्छन् । खासमा सोधिनु पथ्र्यो– तिमी यौन क्रियाकलापमा सक्रिय छौ कि छैनौ ?

बिरामीको वैवाहिक सम्बन्धसँग के छ साइनो ?
डाक्टर तृप्ति पेसाले स्त्री रोग विशेषज्ञ हुन् । उनी भारतको राजधानी नयाँ दिल्लीको विद्यासागर हेल्थ सेन्टरमा काम गर्छिन् । उनकोमा सहरियाहरूका साथै दिल्लीका ग्रामीण भेगका बिरामी पनि स्वास्थ्य परीक्षण गराउन आउँछन् ।

डा तृप्तिका अनुसार डाक्टरले बिरामीको उपचार गर्न उसको यौन जीवन र सक्रियताबारे थाहा पाउन आवश्यक छ ।

साथै उनी के पनि ठान्छिन् भने बिरामी विवाहित हो होइन, यौन सम्बन्धमा कति सक्रिय छिन्, यस्ता कुरामा डाक्टरले चासो राख्न भने जरुरी छैन ।

बिबिसीसँगको कुराकानीमा उनले भनिन्, ‘मकहाँ आउने केटीहरूलाई म सुरक्षित यौन सम्पर्क गर्ने सल्लाह दिन्छु । एक वयस्क युवतीले विवाह नगरी यौन सम्पर्क गर्ने वा नगर्ने कुराको निर्णय आफैं लिन सक्छिन् ।’

उनी अगाडि भन्छिन्, ‘महिलाको महिनावारी गडबड हुनु यौन स्वास्थ्यसँग मात्रै जोडिएको हुँदैन । यसबाहेक पनि अनेकौं कारण हुन सक्छन्, जस्तो कि यौन संक्रमणले फैलिने रोगहरू ।’

निजी क्लिनिक र साना अस्पतालका डाक्टरले मात्र यस्तो व्यवहार गर्दैनन् । ठूला र कर्पोरेट अस्पतालमा समेत युवतीले यस्ता वाहियात प्रश्नको सामना गर्नु दिनुपर्छ ।


रुढीवादी सोचबाट भइरहेको छ उपचार ?
दिल्लीकी २५ वर्षीया अर्शिया धर आफ्नो अनुभव सार्वजनिक गर्दै भन्छिन्, ‘भेजाइनल इन्फेक्सन हुँदा म एक जना गाइनोकोलजिस्टकहाँ जँचाउन पुगेकी थिएँ । मैले उनीसँग सोधें, ‘कहीं यो (यौनरोग) एसटिडी त होइन ?’

डाक्टरले भने, ‘तिमी विवाहित होइनौ भने यौनरोगको त प्रश्नै भएन ।’

अर्शिया भन्छिन्, ‘डाक्टर पनि यस्तो ठान्छन् कि केटीले यौन सम्बन्ध त्यतिबेला मात्रै बनाउँछन्, जब उसको विवाह हुन्छ । मलाई उनको यो सोचप्रति असाध्यै रिस उठ्यो र मैले फेसबुकमै यसबारे लेखें पनि ।’

आमाबुवालाई भन्न आवश्यक छ ?
डाक्टर प्रवीण झाले भारतमा यस्ता धेरै केस हेरेका छन् । अहिले उनी नर्वेमा काम गर्छन् । उनी भन्छन्, ‘गाइडलाइन्सको कुरा गर्ने हो भने सानातिना समस्याका लागि बिरामी बाहेक अरुसँग कुरा गर्न आवश्यक छैन । तर, कुरा गर्भधारणसम्म पुगेको छ भने केटीको साथी वा नजिकको आफन्तलाई भन्न आवश्यक छ ।’

उनी भन्छन्, ‘कतिपल्ट गाउँका यस्ता केटीहरू मकहाँ आउँथे जसलाई आफू गर्भवती भएको थाहै थिएन । उनीहरूलाई बस यत्ति थाहा थियो, उनको पेट दुखिरहेको छ ।’ यस्तो अवस्थामा उनका आमाबुवासँग कुरा गर्न आवश्यक छ । किनभने कसैलाई नभनी गर्भपतन गराउनु जोखिमपूर्ण हुन्छ । बिरामीको ज्यान तलमाथि पनि पर्न सक्छ ।’

कहिलेसम्म इशारामा कुरा गर्लिन् केटी ?
‘पुरुष यौन दुर्बलताको उपचार’, ‘यौन रोगका लागि’, ‘जवानीमा भूल भएको छ भने नपछुताउनुहोस्’ जस्ता सांकेतिक वाक्यहरू भित्ताभित्तामा पढ्न पाइन्छ । केटाको यौन दुर्बलता, यौन रोग उपचार हुनुपर्छ र यो सवैले थाहा पाउनुपर्छ भनेजस्तो गरि सार्वजनिक प्रचारप्रसार गरिएजस्तो । तर, जब कुरा केटीको आउँछ, सबै चुप लाग्छन् । कहीँ ठाउँ छैन गोप्य रुपमा उपचार गराउने । त्यसपछि सुरु हुन्छ इशारामा कुरा ।

हाम्रा डाक्टर पनि त्यही समाजबाट आउँछन्, जुन समाजमा हामी बाँचिरहेका छौं । मेडिकल साइन्स र विज्ञानको पढाइले उनीहरूलाई दक्ष त बनाउँछ तर उनीहरूको मानसिकता त्यही समाजकै जस्तो हुन्छ । उनीहरू बुझ्दैनन् कि उनीहरूको काम भनेको प्रभावकारी उपचार गर्नु मात्र हो । त्यसभन्दा अघि बढेर यौन सम्पर्कबारे सही गलतको फैसला गर्ने र नैतिकताको लेक्चर दिने काम उनीहरूको होइन ।

के हामी यस्तो समाजको परिकल्पना गर्न सक्छौं, जहाँ केटी/युवती/महिलाहरूले सजिलैसँग आफ्ना यौन जीवनसँग जोडिएका समस्याबारे कुराकानी गर्न वा छलफल गर्न पाउन् ? कमसे कम डाक्टरलाई त आफ्ना यौन समस्या खुलस्त बताउन पाउन् ?

(त्रिपाठीले बिबिसी हिन्दीमा लेखेको यो ब्लग स्वास्थ्यखबरकर्मी डिबी खड्काले अनुवाद गरेका हुन्)

 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live