मुख्य समाचार

वायु प्रदूषणले नयाँ दिल्लीका शिशुको मस्तिष्क क्षतिग्रस्त भइरहेको छ : युनिसेफ

स्वास्थ्य खबरपत्रिका

एजेन्सी - संयुक्त राष्ट्र संघको जनसंख्यासम्बन्धी निकाय युनिसेफले भारतको राजधानी नयाँ दिल्लीको वायु प्रदूषणले त्यहाँका एक वर्षमुनिका १ करोड ७० लाख शिशुको मस्तिष्क क्षतिग्रस्त बनाइरहेको जनाएको छ ।
प्रदूषणबाट दक्षिण एसियाका शिशुहरू सबैभन्दा बढी प्रभावित छन् । दक्षिण एसियाका १ करोड २० लाखभन्दा बढी सामान्य प्रदूषणस्तरभन्दा ६ गुणा बढी प्रदूषणमा बाँच्न बाध्य छन् ।
पूर्वी एसिया र प्रशान्त क्षेत्रमा करिब ४० लाख शिशु यस्तै प्रदूषणमा बाँचिरहेका छन् ।
युनिसेफले अत्यधिक वायु प्रदूषणमा सास फेर्दा शिशुका मस्तिष्कका टिस्यु क्षतिग्रस्त हुने र ‘कग्निटिभ’ (मानसिक क्षमता) अवरुद्ध हुने चेतावनी दिएको छ ।
युनिसेफले जारी गरेको प्रतिवेदनमा विभिन्न विद्यालयका विद्यार्थीको आईक्यू तथा स्मरणशक्ति, परीक्षणको अंक, विद्यालयका परीक्षालगायत स्नायुसम्बन्धी विभिन्न समस्या र प्रदूषणबीच सम्बन्ध देखिएको उल्लेख छ ।
प्रतिवेदनका अनुसार प्रदूषणको यस्तो प्रभाव जीवनभर रहन्छ ।
‘बढ्दो सहरीकरणसँगै प्रदूषण घटाउने उपाय नअपनाइँदा र पर्याप्त सुरक्षा नहुँदा भविष्यमा अझै धेरै बालबालिका प्रदूषणबाट प्रभावित हुनेछन्,’ युनिसेफले चेतावनी दिएको छ ।
युनिसेफले मास्क र वायु फिल्टर प्रयोग गर्न तथा अध्यधिक वायु प्रदूषण भएका बेला बालबालिकालाई यात्रा नगराउन पनि सुझाव दिएको छ ।
गएको नोभेम्बरमा अत्यधिक मात्रामा बढेको वायु प्रदूषणका कारण दिल्ली बाक्लो तुवाँलोले ढाकिँदा पूरै सहर ‘ग्यास च्याम्बर’जस्तै बनेको त्यहाँका मुख्यमन्त्री अरबिन्द केजरीवालले भनेका थिए ।
अत्यधिक वायु प्रदूषणले गर्दा दिल्लीका विद्यालय करिब एक साता बन्द भएका थिए । 
अत्यधिक वायु प्रदूषणले नयाँ दिल्लीको फिरोजशाह कोटला स्टेडियममा बुधबार समाप्त भएको भारत–श्रीलंका तेस्रो टेस्ट खेलिरहँदा खेलाडीले मैदानमै भमिट गरेपछि श्रीलंकाली खेलाडीले मास्क लगाएर खेलेका थिए । 
उता, उत्तरी चीनमा पनि वायु प्रदूषणले ३ वर्ष आयु नै घटाएको अनुमान गरिएको छ । सरकारले वायु प्रदूषण न्यून गर्न कडा उपाय लागू गरेको छ । 
युनिसेफका अनुसार अफ्रिकी सहरमा पनि वायु प्रदूषण बढ्दै गएको भूउपग्रहका तस्बिरबाट प्राप्त डाटाले देखाएको छ ।
यसैगरी, बेलायती वैज्ञानिकहरूले लन्डनका अस्पतालहरूमा गरेको बेग्लै अध्ययनले त्यहाँ बढ्दो वायु प्रदूषणबाट जन्मदर घट्नुका साथै नवजातको मृत्युदर बढेको र बिरामी हुने अनुपात बढेको देखाएको छ ।
 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live