विचार/ब्लग

बिरामीका आफन्तलाई मृत्यु कुर्नुको विकल्प छैन भन्नु पर्दा झरेको आँशु

डा. शेरबहादुर पुन 

कुरा मंसिर १९ को हो। म र मेरा समकक्षीहरु इमर्जेन्सी अगाडि बसिरहेका थियौं। छ वर्षीय बालकलाई रेबिज रोग भयो भनेर अब्जरभेसनमा राख्न ल्याइएको थियो। घटना २ महिना अगाडिको रहेछ। देशको राजधानी काठमाडौँमै नै एक बहुला कुकुरले हातमा टोकेको रहेछ। रेबिज बिरुद्धको खोप लगाइएनछ। बच्चा पानी र हावादेखि तर्सिने भइसकेको थियो, जुन रेबिज संक्रमित जनावरले टोकेपछि देखिने क्लासिकल लक्षणहरु मध्येका हुन् ।

अब जोगाउन सकिने सम्भावना नरहेको परामर्श बिरामीको नातेदारलाई दियौं । यो भन्दै गर्दा म आफूलाई एउटा जित्ने युद्ध पनि हारिरहेको सिपाही जस्तो महसुश गरिरहेको थिएँ। कारण थियो, यति सहज र निशुल्क सरकारले वितरण गरेको अवस्थामा त्यो पनि काठमाडौंजस्तो ठाउमा रेबिजको कारणले मृत्युवरण गर्नु मलाई अस्वाभाविक र असहज महशुस भइभैरहेको थियो। हुनत काठमाडौँमै बर्षेनी टेकु अस्पतालमा औसतमा १६ जनाको हाराहारीमा रेबिजकै कारणले मानिसहरु मृत्युवरण गरिरहेका छन् जुन स्वीकार्य हुनै सक्दैन। अझ टेकु अस्पतालमा दर्ता नभएको बिरामीको संख्या जोड्ने हो भने यो संख्या कयौं गुणा बढी हुन सक्दछ।

यो एउटा त्यस्तो रोग हो जसको लक्षणहरु देखा परिसकेपछि टुलुटुलु हेर्नु सिवाय वा बिरामीलाई मृत्युवरण गर्न सहज बनाउनु बाहेक हामी  चिकित्सकहरुको लागि बचाउने उपाय केही हुँदैन। मुटु, फोक्सो, मृगौला लगायतका रोगहरुमा कम से कम कोशिस गर्ने ठाउँहरु त प्रशस्तै छन् । अझ भनौं बिरामीको जीवन लम्ब्याउने बिभिन्न औषधिहरुको बिकासश भइसकेको अवस्था पनि छ तर रेबिज रोगको कुनै उपाय नै नभएकोले यो रोग नै लाग्न नदिन सुइ एक मात्र विकल्प हो। तर अज्ञानताको करणले वा थाहा हुदाहुदै आफ्नै हेल्चेक्रैले सहजै रुपमा बच्न सकिने रोगबाट पनि ठूलो संख्यामा वर्षेनी नेपालीहरु मर्न बाध्य छन् । अधिकांश नेपालीहरु टिटानसको सुर्इ लगाएर ढुक्क भएको देखिन्छ जुन रेबिज हुनुको अर्को कारण पनि भएको देखिन्छ। वबर्षेनी करोडौ रुपैयाँ खर्च गरेपनि रेबिजको संख्यालाई बिगतका वर्षहरुको तुलनामा घटाउनमा खासै उल्लेखनीय सफलता पाउन सकेको देखिदैन। यसले खोप निःशुल्क मात्र दिएर पुग्दैन भन्ने देखाउँछ भने नयाँ रणनीतिको आवश्यकताको पनि महसुस गराउँछ।   

रेबिज रोग लागेको जनावरको नियन्त्रण गर्न हामीले पर्याप्त मात्रामा ध्यान नसकेको वा चुकेको देखिन्छ। केहीहि हप्ताअघिको कुरा हो, दुर्इ महिला र एक युवक रेबिज बिरुद्धको खोप लगाउन आएका थिए र  ती व्यक्तिहरु  सडकमा छाडिएका छोडिएका कुकुरहरुको व्यवस्थापन गर्नमा सहयोग गर्ने सस्थासंग आबद्ध रहेछन्। उनीहरुको भनाइ अनुसार काठमाडौंमा गएको छ महिनामा मात्र कम्तिमा आधा दर्जन रेबिज लागेको कुकुरहरुको व्यवस्थापन गरेको कुरा मसंगको अन्तरक्रियामा सुनाएका थिए । यसले देशकै राजधानी काठमाडौँ नै रेबिजको बिगबिगी कति रहेछ भन्ने कुरा देखाउँछ। एक हप्ता अगाडी मात्र एउटा टोखा निवासीको पनि रेबिजकै कारणले मृत्यु भएको थियो भने लगभग एक महिनाअघि किर्तिपुर निवासी एक बयस्कलाई पनि रबिज लागेर टेकु अस्पताल आएका थिए। हरेक महिना औसतमा दुर्इतीन जनाको मृत्यु रबिजको कारणले हुने गरेको अस्पतालको तथ्यांकले  देखाउँछ जुन भयावह हो। 

आखिरी नि:शुल्क सर्वसुलभ रुपमा रेबिज बिरुद्धको खोप सरकारले उपलाप्ध गराउँदा गराउँदै  किन नेपालीहरु रेबिज लागेर मरिरहेका छन्? किन हामीलाई सुर्इ लगाउनु पर्छ भन्ने ज्ञान हुँदाहुँदै पनि लगाउन हेल्च्याक्र्याइँ गर्दैछौं? किन सुर्इ लगाउने दिन लाई बेवास्ता गरेर  अरु नै काम भ्याएर मात्र खोप लाई प्राथमिकता दिदैछौं? किन टिटानसको सुर्इ लगाएर ढुक्क भइरहेका छौं? यी कुराहरु मेरो मनमा खेलिरहँदा अचानक ती छ बर्षिय रेबिज लागेको बालकलाई सम्झन पुगेछु।  ती आमालाई जो आफ्नो छोरो गुमाउँदैछु भन्ने आभाष आँखाबाट  प्रष्टै देखिन्थ्यो। जुन मेरो लागि अत्यन्तै पिडादायक थियो। ती महिलाका श्रीमान् बितिसकेको अवस्था र छोरो पनि अबको केही दिनमा दैबले छिन्दैछ भन्ने कटु सत्य र अझ त्यो बालकको निर्दोष अनुहार र मृत्यु बारेको अनविज्ञता साथ खेलिरहेको सम्झेर घर फर्कदै गर्दा आँखाहरु कति बेला रसाएर आशु झरेछन् थाहै पाइएन। एउटा कुरा चाहिँ पक्कै हो, हामीमा रेबिज बिरुद्धको सुर्इ लगाउनुपर्छ भन्ने ज्ञान वा चेतना भएता पनि जबसम्म हाम्रो व्यवहारमा त्यो लागु गर्दैनौं । तबसम्म हामी खोपमा करोडौं पैसा खर्च गरेपनि खासै  रेबिज रोगको संख्यालाई न्यूनीकरण गर्न सकिंदैन भन्ने कुरा बिगतको अनुभव र तथ्यांकहरुले देखाइरहेका छन्। हुनत रेबिज रोगलाई विश्वमा नै बेवास्ता गरिएको रोगको रुपमा लिने गरिन्छ तर कमसे कम जनावरको टोकाईबाट घाइते भइसकेका दाजुभाई तथा दिदीबहिनीहरुले त यसको बेवास्ता नगरौं। मेरो अनुभवमामा हामीमा जनचेतना त छ, तर खोप लगाउनमा हेलचक्राइँ गर्नु नै रेबिज संख्यामा उल्लेखनीय रुपमा नघट्नु मुख्य कारण देख्छु। हामी रेबिज मुक्त देशको कल्पना गरौं र यसको लागि व्यवहारमा पनि लागु गरौं।

डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन् ।

 

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live