टिप्स/जानकारी

स्तन क्यान्सरबाट जोगाउने फर्सी

None

काठमाडौं-

स्तन क्यान्सरबाट जोगाउने फर्सी 
प्रमुख भिटामिन र खनिज पर्याप्त मात्रामा पाइने फर्सी देशभर सजिलै पाइन्छ । फर्सी खाँदा हुने फाइदा यस्ता छन्।
फर्सी नरम फलफूलको वर्गमा पर्छ । सामान्यतया फर्सी सुन्तला रंगको गोलो र ठूलो आकारको हुन्छ । यसको बोक्रा कडा र चिल्लो हुन्छ । यसको भित्र बीउ र गुदी हुन्छ । पूरै फर्सी खान सकिन्छ– बीउ अड्किएका त्यान्द्राबाहेक बोक्रा, गुदी र बीउ सबै।

फर्सीमा पाइने पोषक तत्व
फर्सीमा पोटासियम र बिटा क्यारोटिन प्रचुर मात्रामा पाइन्छ । बिटा क्यारोटिन एउटा क्यारोटिनोइड हो, जुन पछि भिटामिन एमा परिणत हुन्छ । यसमा क्याल्सियम र म्याग्नेसियमसहित भिटामिन ई, सी र भिटामिन बीका केही प्रकार पाइन्छ। 
दैनिक करिब सय ग्राम फर्सी खानु स्वास्थ्यका लागि फाइदाजनक छ। 

छालाका लागि कति स्वस्थ्यकर
फर्सीमा भिटामिन सी र ईसँगै बिटा क्यारोटिन पाइन्छ । यी सबै पोषक तत्वहरूले हाम्रो छाला स्वस्थ्य राख्न महत्वपूर्ण भूमिका रहन्छ।

हाम्रो शरीरले प्राकृतिक रुपमा भिटामिन सी बनाउँदैन । त्यसैले पनि हामीले भोजनबाट भिटामिन सी प्राप्त गर्नु आवश्यक छ । भिटामिन सीले कोलाजिन निर्माणमा मद्दत गर्छ । कोलाजिनले चोटपटक र घाउ निको पार्न सघाउँछ।

भिटामिन ई महत्वपूर्ण एन्टिअक्सिडेन्ट हो, जसले भिटामिन सीसँगै सक्रिय भएर घामले हाम्रो शरीरमा पार्ने नकारात्मक प्रभाव र छाला सुख्खा हुनबाट जोगाउँछ । भिटामिन ए वा बिटा क्यारोटिनले पनि छालाको सुरक्षा गर्छ र घामका पराबैजनी किरण (अल्ट्रा भ्वाइलेट रे) बीबाट जोगाउँछ । साथै यसले घामबाट हाम्रो शरीर डढ्नबाट बचाउँछ । तर यति मात्र पर्याप्त नहुने भएकाले सनस्क्रिन पनि लगाउन आवश्यक छ ।

आँखा स्वस्थ्य राख्न फर्सी
भिटामिन एको कमीले दृष्टि क्षमता घट्छ वा अन्धोपन हुनसक्छ । बिटा क्यारोटिन, भिटामिन सी र ईले दृष्टि क्षमता जोगाउनुका साथै वृद्धावस्थामा पनि दृष्टि क्षमता कमजोर हुनबाट जोगाउँछ ।

के फर्सीले मेटाबोलिक सिन्ड्रोमको जोखिम पनि घटाउँछ ?
मधुमेह, मोटोपन र उच्च रक्तचाप सबैलाई समग्रमा मेटाबोलिक सिन्ड्रोम भनिन्छ । यस्तो स्थितिमाा यी सबैले एकैपल्ट मुटुसम्बन्धी रोग र मस्तिष्कघातको जोखिम उच्च बताउँछन् । 
सन् २०१५ मा जापानमा भएको एउटा अध्ययनले फलफूलमा पाइने (सुन्तला, पहेंलो र हरियो रंगका) धेरै क्यारोटिनोइडयुक्त भोजनले मेटाबोलिक सिन्ड्रोमको जोखिमबाट जोगाउने पत्ता लगाएको थियो ।

के फर्सीले रोग प्रतिरोध क्षमता बढाउँछ ?
चहकिलो सुन्तला रंग हुने फर्सीमा पर्याप्त बिटा क्यारोटिन पाइन्छ, जुन हामीले खाएपछि भिटामिन एमा परिणत हुन्छ । विभिन्न अध्ययनले रोग प्रतिरोध क्षमता बढाउन भिटामिन एले महत्वपूर्ण भूमिका खेल्ने र त्यसमध्ये ८० प्रतिशत भिटामिन ए हाम्रो पाचन प्रणालीमा रहने देखाएका छन् । अध्ययनहरूले भिटामिन एयुक्त भोजनले प्रत्यक्ष रुपमा रोग प्रतिरोध क्षमता बढ्ने देखाएका छन् । 

के फर्सीले क्यान्सरबाट पनि जोगाउँछ ?
अहिलेसम्म क्यान्सरबाट जोगाउने कुनै एउटा विशेष खानेकुरा वा ‘सुपरफुड’ छैन । त्यसमाथि कुनै कुनै क्यान्सरको त खानेकुरा वा भोजनसँग गोरुबेचेको साइनो पनि फेला परेको छैन । तर विभिन्न अध्ययन अनुसन्धानले सन्तुलित र स्वस्थ्यकर भोजन गर्नाले क्यान्सर हुने जोखिम भने घट्ने देखाएका छन् । साथै फर्सीमा पाइने क्यारोटिनोइड, भिटामिन ए र भिटामिन ईजस्ता एन्टिअक्सिडेन्टले स्तन क्यान्सरबाट जोगाउने केही प्रमाण अध्ययनमा फेला परेको छ ।

फोक्सोको क्यान्सर घटाउनमा क्यारोटिनोइडको भूमिकाबारे अहिले अनुसन्धान भइरहे पनि क्यान्सर घटाउने प्रमाणित भइसकेको छैन ।
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने