डक्टर्स आर्टिकल

ओछ्यानमै पिसाब गर्ने समस्या र समाधान

डा. सञ्जीव शर्मा

सुतेका बेला ओछ्यानमै पिसाब गर्ने समस्या आम बालबालिकामा हुन्छ । अधिकांश बालबालिकामा भने यो समस्या हुर्कंदै गएपछि आफैँ ठीक हुन्छ । यो बालबालिकाको मिर्गाैला रोग, अल्छीपना वा चकचकेपनाका कारण भएको होइन । तर, बालबालिका र तिनका परिवारका लागि यो चिन्ताको विषय बनेको हुन्छ ।
६ वर्षको उमेरसम्मका बालबालिकाले ओछ्यानमा पिसाब गर्छन् । पाँच वर्षको उमेरमा १५ देखि २० प्रतिशत बालबालिकामा ओछ्यानमा पिसाब गर्ने समस्या हुन्छ । उमेर बढ्दै जाँदा, ओछ्यानमा पिसाब गर्ने समस्या हुने बालबालिकाको संख्या अनुपातिक रूपबाट कम हुँदै जान्छ । १० वर्षसम्म पाँच प्रतिशत, १५ वर्षसम्म दुई प्रतिशत र वयस्क एक प्रतिशतमा यो समस्या हुन सक्छ ।
कस्ता बालबालिकाको ओछ्यानमा पिसाब गर्ने समस्या हुन सक्छ ?
बालबालिका जसका बाबुआमामा बाल्यकालमा त्यस्तै समस्या थियो ।
स्नायुको विकास ढिलो भई मूत्रथैली भरिएको थाहा पाउने क्षमता कम भएका बालबालिकामा ।
गहिरोसँग निदाउने बालबालिकामा ।
केटीभन्दा केटाहरू यो समस्याले बढी प्रभावित हुन्छन् ।
मनोवैज्ञानिक वा शारीरिक तनाव बढ्नाले ।
अत्यन्त कम प्रतिशत बालबालिकामा, मूत्रनली संक्रमण, मधुमेह, मिर्गाैलाले काम गर्न छोड्दा, कब्जियत, सानो मूत्रथैली, स्नायु विकासमा कमी भएको, केटा मान्छेको मूत्रनलीको भल्भमा खराबी भएको आदि कारण पनि यो समस्या हुन सक्छ ।
केही रोग वा संरचनात्मक समस्याको आशंका गरिएका बालबलिकालाई मात्रै पिसाब, रगतमा चिनीको मात्रा, ढाडको एक्सरे र मिर्गौला वा मूत्रथैलीको अल्ट्रासाउन्ड वा अन्य परीक्षण गरिन्छ ।
उपचार
ओछ्यानमा पिसाब गर्ने समस्याको उपचार गरिरहनु पर्दैैन । समयसँगै ओछ्यानमा पिसाब गर्ने समस्या रोकिन्छ र निको हुन्छ भन्ने आश्वासन दिनुपर्छ । उनीहरूलाई गाली गर्न वा सजाय दिनुहुँदैन ।
ओछ्यानमा पिसाब गर्ने समस्याको प्रारम्भिक उपचार भनेको शिक्षा, उत्प्रेरणात्मक उपचार तथा तरल पदार्थ पिउने र पिसाब फेर्ने बानी परिवर्तन नै हुन् । यी उपायले पनि ओछ्यानमा पिसाब गर्ने समस्यामा सुधार आएन भने औषधोपचार पनि गर्न सकिन्छ ।
बालकलाई ओछ्यानमा पिसाब गर्ने समस्याबारे राम्रोसँग शिक्षा दिनुपर्छ ।
ओछ्यानमा पिसाब गर्ने समस्या बालबालिकाको गल्ती होइन, त्यसैले उनीहरूलाई यो समस्याका लागि आरोप लगाउने वा सजाय दिने गर्नुहुँदैन ।
कसैले पनि बालकलाई ओछ्यानमा पिसाब गर्ने समस्याका लागि जिस्क्याउनुहुँदैन । ओछ्यानमा पिसाब गर्ने समस्याले गर्दा बालकले भोग्नुपर्ने तनाव कम गर्नुपर्छ । बालकको परिवार सहयोगी हुनुपर्छ र बालकलाई उसको यो समस्या निको हुने अस्थायी समस्या हो भनेर सम्झाउनुपर्छ ।
राती बाल्ने बत्तीको व्यवस्था गरेर राति सजिलै शौचालय जान सक्ने बनाउने ।
थप पाइजामा (पेन्ट), तन्ना र तौलिया सँगै राख्ने जसले गर्दा ओछ्यानमा पिसाब गरेर बालक राति उठ्यो भने उसलाई लुगा फेर्न सजिलो होस् ।
डस्ना नबिग्रियोस् भनेर डस्नामाथि प्लास्टिकले ढाक्ने ।
तन्नामुनि ठूलो तौलिया राख्यो भने त्यसले पिसाब सोस्छ र बालकलाई चिसो लाग्दैन ।
पिसाब नगन्हाओस् भनेर हरेक बिहान नुहाउन प्रेरित गर्ने ।
राती पिसाब गरेन भने बालकको प्रशंसा गरी उपहारसमेत दिने । सानो उपहारले पनि बालक प्रोत्साहित हुन्छ ।
कब्जियतको समस्यालाई बेवास्ता नगरी उपचार गरिहाल्नुपर्छ ।

तरल पदार्थ कम गर्ने
बालकले सुत्न जाने समयभन्दा दुईदेखि तीन घन्टाअघि पिउने तरल पदार्थको मात्रा सीमित गर्ने तर उसले दिउँसो पर्याप्त पानी पिओस् भन्ने सुनिश्चित गर्ने ।
चिया, कफी, कार्बनयुक्त पेय पदार्थ (कोला) र चकलेट राती नखाने । ती चिजले पिसाब लगाउँछन् र ओछ्यानमा पिसाब गर्ने समस्या बढाउँछन् ।

पिसाब निथार्र्ने बानीका लागि सुझाव
सुत्न जानुअघि दुईपटक पिसाब निथार्न लगाउने । पहिलोपटक सधैँ सुत्न जानुअघि र दोस्रोपटक निदाउनुभन्दा पहिले ।
दिनभर निश्चित समयावधिमा शौचालय जाने बानी बसाल्ने ।
पिसाब निथार्न प्रत्येक राती बालक निदाएको तीन घन्टाजति पछि उसलाई उठाउने । आवश्यक परे अलार्मको प्रयोग गर्ने ।
ओछ्यानमा पिसाब गर्ने समय निर्धारण गरेर उसलाई उठाउने समय मिलाउन सकिन्छ ।

ओछ्यानमा पिसाब गर्दाको अलार्म
ओछ्यानमा पिसाब वा ओसको अलार्म ओछ्यानमा पिसाब गर्ने समस्या नियन्त्रण गर्ने सबैभन्दा प्रभावकारी विधि हो र सात वर्षभन्दा माथिका बालबालिकाका लागि यसको प्रयोग गरिन्छ ।
यस अलार्ममा बालकको कट्टुमा एउटा सेन्सर जडान गरिन्छ । जब बालकले ओछ्यानमा पिसाब गर्न लाग्छ, सो उपकरणले पिसाबको पहिलो थोपा नै थाहा पाउँछ र बज्न थाल्छ । यसरी बालक ब्यूँझन्छ र ब्यूँझेको बालकले शौचालय नपुगेसम्म आफ्नो पिसाब रोकिराख्न सक्छ ।
 सो अलार्मले ओछ्यानमा पिसाब गर्ने समस्या सुरु हुनु ठीक अघि आफैँ ब्यूँझन बालकलाई तालिम दिन मद्दत गर्छ ।
   
मूत्रथैली प्रशिक्षण अभ्यास
ओछ्यानमा पिसाब गर्ने समस्या भएका धेरै बालबालिकाको मूत्रथैली सानो हुन्छ । मूत्रथैली प्रशिक्षणको लक्ष्य मूत्रथैलीको क्षमता बढाउनु हो ।
दिनको समयमा बालबालिकालाई धेरै मात्रामा पानी पिउन लगाइन्छ र पिसाब लागे पनि पिसाब रोकिराख्न लगाइन्छ ।
यस्ता अभ्यासले बालकले लामो अवधिसम्म पिसाब रोकिराख्न सक्छ । यसले मूत्रथैलीको मांसपेशीलाई बलियो बनाउँछ र मूत्रथैलीको क्षमता बढाउँछ ।

औषधोपचार
ओछ्यानमा पिसाब गर्ने समस्या निको पार्न अन्तिम विकल्पका रूपमा मात्र औषधोपचार गरिन्छ र प्रायः सात वर्षभन्दा माथिका बालबालिकामा यो विकल्प प्रयोग गरिन्छ । यो प्रभावकारी त हुन्छ तर यसले ओछ्यानमा पिसाब गर्ने समस्यालाई निको पार्दैन । यसले पिसाब रोक्ने समय बढाउँछ र अस्थायी रूपमा यसलाई प्रयोग गरिन्छ । प्रायः औषधिको प्रयोग बन्द गरेपछि पुनः ओछ्यानमा पिसाब गर्ने समस्या सुरु हुन्छ । औषधोपचारभन्दा पनि अलार्मको प्रयोगबाट स्थायी उपचार सम्भव हुन सक्छ ।
चिकित्सकलाई कहिले देखाउने ?
ओछ्यानमा पिसाब गर्ने समस्या भएका बालबालिकाको परिवारले निम्न अवस्थामा तुरुन्त चिकित्सकलाई सम्पर्क गर्नुपर्छ ः
दिउँसो ओछ्यानमा पिसाब गर्ने समस्या भएमा ।
सात–आठ वर्षपछि पनि ओछ्यानमा पिसाब गर्ने समस्या रहिरहेमा ।
कम्तीमा ६ महिना ओछ्यानमा पिसाब गर्न छोडेपछि पुनः सुरु गरेमा ।
दिसा गर्दा पिसाब नियन्त्रण गुमाएमा ।
ज्वरो आएमा, दुखेमा, पिसाब निरन्तर भएमा, पोलेमा, अनावश्यक तिर्खा लागेमा तथा अनुहार र खुट्टा सुन्निएमा ।
पिसाबको प्रवाह कम भएमा, पिसाब फेर्न कठिनाइ भएमा ।

 

swasthyakhabar

प्रतिकृया दिनुहोस

Updates

पढ्नै पर्ने

Nepali Live