मुख्य समाचार

कैलाली पूर्ण खोपयुक्त जिल्ला घोषणा

None

काठमाडौं-

कैलाली– ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चिता हाम्रो प्रबिद्धता’ भन्ने नाराका साथ कैलाली जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको छ । जिल्लाका सबै शिशुहरु खोपको पहुँच भएपछि पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. विनोदमान श्रेष्ठ र बालरोग महाशाखाका कार्यक्रम निर्देशक बसन्त श्रेष्ठले मंगलबार कैलालीको धनगढीमा आयोजित एक विशेष कार्यक्रमका साथ प्रतिवद्धतापत्रमा हष्ताक्षर गरेर जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरेका हुन् । 

घोषणा कार्यक्रममा बोल्दै डा. श्रेष्ठले पूर्ण खोप युक्त जिल्ला बनेकोमा कैलालीबासीले गर्व गर्नुपर्ने बताए । उनले यो अभियानमा सहयोग गर्ने सरोकारवालाई धन्यवाद दिँदै यो निरन्तर प्रक्रिया भएकाले आगामी दिनमा पूर्ण खोपयुक्त बनाउन लागि पर्नुपर्ने बताए । 
उनले पुर्ण खोप घोषणा गर्न सहज भएको र दिगो राख्न चुनौति भएको बताए । डा. श्रेष्ठले पूर्ण खोपलाई दिगो राख्न स्वास्थ्यकर्मी, आमा समूह, महिला स्वयम्सेविका, सञ्चारकर्मी, नगरवासीलाई थप जिम्मेवारी आएको बताए ।

बालरोग महाशाखाका कार्यक्रम निर्देशक बसन्त श्रेष्ठले बिगतमा स्वास्थ्य मन्त्रालयबाट गर्ने कामहरु सबै स्थानीय तहमा आएको भन्दै जनप्रतिनीधीलाई स्वास्थ्य समस्याका लागि संयम रहन आग्रह गरे । उनले आजको बच्चा स्वस्थ भए नेपालको भविष्य उज्यालो हुने भन्दै यो अभियान सबैको भएको बताए । उनले स्वास्थ्यकर्मीले बढि जिम्मेवारी लिनुपर्ने भए पनि नागरिक समाजको पनि यसमा महत्वपूर्ण भूमिका हुने बताए ।

कार्यक्रममा कैलाली प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले स्वास्थ्य आमसर्वसाधारणको आधारभुत आवश्यकता भएको बताए । विभिन्न रोगबाट बच्न, अकालमै मृत्यु हुन नदिन खोपले सघाउने बताउँदै कैलाली प्रजिअ रिजालले भने, ‘समयमै अभिभावकले आफ्ना बच्चालाई खोप लगाउन जरुरी छ ।’

मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयकी निर्देशक डा. रिता भण्डारीले लामो समयपछि जिल्लालाई पूर्ण खोप घोषणा गर्ने लक्ष्य सफल भएको बताइन् ।

जिल्ला स्वास्थ्य कार्यालय कैलालीका वरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाईले सबै सर्बेक्षण गरेर मात्र कैलाली जिल्लालाई पुर्ण खोपयुक्त जिल्ला घोषणा अभियान सफल भएको बताए । 
जिल्लाका ४१ वटै स्वास्थ्य सस्थालाई झण्डै १३ हजार ६ सय ६३ बालबालिकाले एक वर्ष भित्र ११ प्रकारका रोग विरुद्धको खोप पाएकाले जिल्ला घोषणा गर्न सम्भव भएको बताए । पुर्ण खोप गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि पूर्ण खोपका लागि समाज जागरुक हुनुपर्ने बताए । 

साविकको मुनुवा गाविसबाट सुरु भएको पूर्ण खोप युक्त गाविस घोषणा कार्यक्रम धनगढी उपमहानगरपालिकामा पुगेर सकिएको थियो । कैलाली देशको ३० औं पूर्ण खोप युक्त जिल्ला हो भने यस प्रदेशमा स्थानीय निकायको निर्वाचनपछि घोषणा भएको तेस्रो जिल्ला हो । ७ नम्बर प्रदेशको डोटी र बाजुरालाई पुर्ण खोप घोषणा भएपछि देशकै पहिलो पुर्ण खोप प्रदेशका रुपमा चिनाउन सकिने क्षेत्रीय स्वास्थ्य निर्देशनालयका कार्यक्रम निर्देशक केशव साउँदले बताए । उनले क्षेत्रीय स्वास्थ्य निर्देशनालयले सो अनुसार काम गरिरहेको पनि बताए ।

जिल्ला खोप समन्वय समितिका अध्यक्ष एंव जिल्ला समन्वय समितिका संयोजक सुर्यबहादुर थापाको अध्यक्षतामा कार्यक्रमममा चुरे गाउपालिकाका अध्यक्ष धनबहादुर रोक्का मगर, गोरीगंगा नगरपालिकाका नगर प्रमुख भीमबहादुर देउवा, कैलारी गाउपालिकाका स्वास्थ्य संयोजक भुपेन्द्र महरा, गोदावरी नगरपालिकाका स्वास्थ्य संयोजक हर्कबहादुर खड्का लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

चार जना सम्मानित
जिल्लालाई पुर्ण खोपयुक्त गर्ने अभियानमा सहयोग गरेको भन्दै खोप समन्वय समितिले विभिन्नलाई सम्मान गरेको छ ।

सम्मान हुनेमा अनुमोदन दैनिकका संवाददाता शेरबहादुर ऐर, कैलाली जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक महेश चन्द, अहेव जयकला रावल र कार्यालय सहयोगी रामबहादुर खत्री रहेका छन् ।

यस्तै जिल्लालाई पुर्णखोपयुक्त गर्ने अभियानमा सहयोग गरेको भन्दै स्वास्थ्यकर्मी, महिला स्वयम्सेविका, आमा समूह, स्थानीय तहका जनप्रतिनिधी, कैलाली प्रमुख जिल्ला अधिकारी, जिल्ला जनस्वास्थ्य कार्यालय लगायतलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने