समाचार

कैलालीका स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण 


कैलाली– संघीयता कार्यान्वयन गर्दै जिल्लाका स्वास्थ्यसंस्था स्थानीय तहमा हस्तान्तरण गरिएका छन् । स्वास्थ्य मन्त्रालयले मंगलबार स्थानीय तहका प्रमुखलाई लिखित सहमति गरी संस्था जिम्मा लगाएको हो । ती संस्था अब सम्बन्धित गाउँपालिका र नगरपालिकाले सञ्चालन गर्नेछन् । मन्त्रालयका विशेषज्ञ प्रमुख डा विनोदमान श्रेष्ठ, जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापा, जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका वरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागार्इंले स्वास्थ्यसंस्था हस्तान्तरण गरेका हुन् । 

धनगढी उपमहानगरपालिकाकाको सेती अञ्चल अस्पताल, टीकापुर, मालाखेती अस्पताल, चारवटा प्राथमिक स्वास्थ्य केन्द्र, ३७ वटा स्वास्थ्य चौकी, १२ वटा शहरी स्वास्थ्य केन्द्र, चारवटा सामुदायिक केन्द्र, दुई सय गाउँघर क्लिनिक, दुई सय ७५ खोप केन्द्र, सामुदायिक स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरण गरिएको हो ।

मन्त्रालयका वरिष्ठ प्रमुख डा. श्रेष्ठले मुलुक संघीय संरचनामा गइसकेकाले संविधान कार्यान्वयन गर्न स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण गरिएको बताए । ‘स्वास्थ्य संस्थाबाट सर्वसाधारणले सहजरूपले स्वास्थ्य सेवा पाउनुपर्छ,’ उनले भने । स्वास्थ्यकर्मीका तर्फबाट हर्कबहादुर खड्काले स्वास्थ्य संस्थाहरू स्थानीय तहमा हस्तान्तरण हुँदा केही अन्योल थपिएकाले स्थानीय तहका पदाधिकारीको सहयोग आवश्यक रहेको बताए । ‘स्वास्थ्य चौकीहरूमा जनशक्ति अभाव छ । बजेट पनि कमै छ । यी समस्याको समाधान स्थानीय तहबाटै हुनुपर्छ,’ उनले भने ।

जिल्ला समन्वय समिति कैलालीका संयोजक सूर्यबहादुर थापाले स्थानीय तहमा स्वास्थ्यसंस्था हस्तान्तरण भएपछि प्रभावकारीरूपमा सञ्चालन हुने प्रतिबद्धता जनाए । तर, स्वास्थ्य केन्द्रमा अझै पनि चिकित्सक र स्वास्थ्यकर्मीको अभाव रहेको उनले बताए ।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने