डक्टर्स आर्टिकल

के हो पिसाब संक्रमण, कसरी थाहा पाउने?

प्राडा उत्तम शर्मा

मिर्गौलाबाट पिसाबको थैली हुँदै नलीबाट बाहिर निस्कने जुनसुकै ठाउँमा किटाणुले  हुने संक्रमण (इन्फेन्सन) नै पिसाब संक्रमण हो।  

पिसाब संक्रमण यौनअंगको सरसफाई नगर्दा वा शरीरको कुनै भागमा भएको संक्रमण रगतको नली हुँदै पिसाब नलीमा पुग्यो भने हुनेगर्छ। 

मिर्गौला हुँदै पिसाबको थैली, पिसाबको नली वा पिसाब आउने बाटोमा कहीँ पनि समस्या भयो वा अवरोध भयो भने पनि पिसाब जमेर संक्रमण हुनसक्छ।

उदाहरणका लागि एउटा तालको पानी आउनेजाने भएमा स्वच्छ रहन्छ, यदि त्यो पानी कहीँ जान पाएन वा बाटो अवरोध भएमा पानी जमेर लेउ लाग्छ। त्यस्तै पिसाब पनि सजिलै बाहिर जान नपाएमा संक्रमण हुन्छ।

पिसाब संक्रमण सबै उमेर समूहका मानिसलाई  हुनसक्छ। कुनै बच्चालाई आमाकै गर्भमा रहँदा शरीरको बनोट बिग्रेर आएको छ भने पनि असर पार्छ।

पुरुषमा पिसाब थैलीबाट पिसाब फर्केर माथि जान्छ, पिसाब राम्ररी निख्रेको छैन वा पिसाब नली साँघुरो छ भने संक्रमण हुने जोखिम धेरै हुन्छ। 

वृद्ध पुरुषहरुमा हुने प्रोस्टेट ग्रन्थीका कारण पिसाब नली साँघुरो हुँदै जाने हुनाले पनि संक्रमण हुन्छ। 

पुरुषलाई भन्दा महिलालाई पिसाबको संक्रमण बढी हुने गर्छ। किनकि महिलाको पिसाब नली सानो हुन्छ भने पुरुषको नली लामो हुने भएकाले बाहिरी संक्रमण पुरुषलाई कम हुन्छ। 

महिलामा नली सानो हुने, पिसाब नली, महिनावारी हुने नली र दिसा गर्ने नली सँगसँगै हुने भएकाले बाहिरी संक्रमण छिटो हुने सम्भावना हुन्छ। महिलालाई बाहिरी संक्रमण बढी हुनुको कारणमा कुनै एक नलीमा भएको इन्फेन्सन अर्कोमा सजिलै सर्नु पनि हो। 

महिलालाई एक पटक संक्रमण भएपछि घरिघरि दोहोरिरहन्छ। एक पटक निको भएपछि किन दोहोरिरहन्छ भन्ने प्रश्न पनि उब्जन सक्छ। किनकि महिलामा नली सँगसँगै रहेका गन्थ्रीमा संक्रमण बसिरहन्छ। औषधि खाँदा ती गन्थ्रीमा किटाणु सुषुप्त अवस्थामा बस्छन् र बिस्तारै औषधिको काम कम हुन थालेपछि ती किटाणु फेरि सक्रिय हुन थाल्छन्। संक्रमण दोहरिरहन्छ। 

त्यसैले हामीले मिर्गौलाबाट बसेको पिसाब सरासर थैलीमा गई बिना अवरोध बाहिर निस्कियोस् भनेर सरसफाइमा धेरै ध्यान दिनुपर्छ। अझ बढी महिलाले ध्यान दिनुपर्छ। पत्थरी नहोस्, अन्य अवरोध नहोस् भनेर समय–समयमा पिसाबको जाँच गराइरहनुपर्छ। 

कसरी थाहा पाउने पिसाबको संक्रमण?

धेरैलाई पिसाबको संक्रमण भइरहे पनि थाहा नहुन सक्छ। समस्या बढी हुन थालेपछि मात्र मानिस चिकित्सककहाँ पुग्छन्।

यस्ता छन् लक्षण 

पिसाब गर्दा पोल्ने, 
घरिघरि पिसाब जान मन लाग्ने, 
पिसाबको धारा मसिनो हुँदै जाने, 
पिसाब गर्दा कोखा दुख्ने,
पिसाबमा रगत जाने, 
पिसाब नलीबाट पिसाबसँगै पिप देखिने, 
उच्च तापमानको ज्वरो आउने, 
शरीर काप्ने,
पिसाब गरेपछि पनि तल्लो पेट भारी हुने, दुख्ने,
बच्चालाई ज्वरो आइरहने, पेट दुख्ने आदि। 

माथिका लक्षण देखिएमा पिसाबको संक्रमण भयो कि भनेर चेकजाँच गर्नुपर्छ। 

भर्खर विवाह गरेका महिलालाई पनि पिसाब संक्रमण हुने जोखिम उच्च हुन्छ। शारिरीक सम्पर्कमा सक्रिय हुदाँ किटाणु बाहिरबाट भित्र पस्छन् र संक्रमण हुन्छ, जसलाई ‘हनिमुन सिस्टाइटिस’ पनि भनिन्छ। यसका कारण केही महिला अस्पतालमै भर्ना हुनुपर्ने अवस्थासम्म पुग्छन्। 

धेरै समयसम्म उपचार गरिएन भने मिर्गौलामा पिप जम्ने (रेनल एब्सेस) हुनसक्छ। यदि यस्तो भएमा लामो समयसम्म उपचार गर्नुपर्ने हुनसक्छ। त्यो पिपलाई तान्नुपर्ने हुन्छ। यस्तो अवस्थामा लामो समय औषधि खानुपर्ने हुनाले युरोलोजिस्टसँग सल्लाह गर्नुपर्छ। 

यस्तै, बच्चाको पिसाब माथि फर्केर गएको छ कि छैन भनेर विचार गर्नुपर्छ। त्यो एक्सरे गरेर हेर्न सकिन्छ। 

मधुमेहका बिरामी, शरीरमा रोगप्रतिरोधात्मक क्षमता कम भएका मानिस, अधवैंशे महिला, सेक्सवर्कर, पत्थरी भएका व्यक्ति आदि पिसाब संक्रमणको उच्च जोखिममा हुन्छन्। 

यसबाट बच्नका लागि हामीले गुप्तांगको सरसफाइमा ध्यान दिनुपर्छ। हामीले यसलाई बेवास्ता गर्यौं, उपचार भएन भने बिस्तारै मिर्गौलामा असर पुग्ने, पिसाब नली, पिसाब थैलीमा समस्या आउने हुन्छ।

धेरै बेवास्ता गरेमा मिर्गौला नै खराब हुने खतरा बढ्छ। तसर्थ, हरेक ६ महिना वा १ वर्षमा आफ्नो पिसाबको जाँच गर्नुपर्छ। जो बढी जोखिममा छन् उनीहरुले ३–३ महिनामा पिसाब जाँच गरिरहनुपर्छ।

(युरोलोजिस्ट, मिर्गौला प्रत्यारोपण सर्जन प्राडा शर्मा आइओएम शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत छन्) 

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

पढ्नै पर्ने

Nepali Live