मुख्य समाचार

सिरहाबासीले पाउने भए गाडीमै ल्याब, एक्सरे लगायतका उपचार सेवा


सिरहा– जापान सरकारबाट फूलकुमारी महतो मेमोरियल हस्पिटललाई सुविधा सम्पन्न मोबाइल गाडी उपलब्ध गराउने भएको छ । 

नेपालका लागि जापानका राजदुत मासाशी ओगावा र अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले एक समारोह बीच उक्त सम्झौतामा आज २०७४ मंसिर २७ गते हस्ताक्षर सम्पन्न भएको छ । जापान सरकारले ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट अन्र्तगत यसपटक मोबाइल कार उपहार स्वरुप प्रदान गरेको हो । 

करिब ६५ लाख मूल्य बराबरको उक्त मोबाइल क्लिनिकले तराई क्षेत्रका धेरै जनताहरुलाई उनीहरुकै घरदैलोमा स्वास्थ्य उपचार सेवा प्रदान गर्न सहयोग पुग्ने राजदुत ओगावाले बताए।

स्वास्थ्यकर्मी सहित उक्त मोबाइल क्लिनिक विभिन्न गाउँहरुमा नियमित रुपमा गई स्वास्थ्य उपचारमा संलग्न हुने भएकोले सिरहा, धनुषा, उदयपुर र सिन्धुलीका जनताहरुले क्लिनिकबाट प्रत्यक्ष लाभ पाउने उनले बताए। 

‘दूरदराजका जनताहरु जसलाई अस्पतालसम्म आई उपचार गर्न गाह्रो हुन्छ उनीहरुका लागि मोबाईल क्लिनिक बरदान सावित हुनेछ,’ फूलकुमारी महतो मेमोरियल हस्पिटलका अध्यक्ष डा. उपेन्द्र महतोले भने। 

गाउँमा सामान्य स्वास्थ्यकर्मीहरुको अभावमा आफ्नो आमाको निधन हुँदाका पीडाले गर्दा आफूले गाउँमा सुविधा सम्पन्न हस्पिटलको स्थापना गरेको बताउनु हुंदै उनले अब मोबाइल क्लिनिकले अझ बढी जनताहरुलाई प्रत्यक्ष सेवा गर्न सजिलो भएको डा. महतोले बताए। 

टोय फ्याक्ट्री जापानको अवधारणा बमोजिम तयार गरिएको टोयोटा गाडीमा चिकित्सक परामर्श तथा उपचारका कक्षको ब्यवस्था गरिएको छ । साथै पोर्टेबल एक्सरे एवं ल्याब सहितको सुविधा रहने उक्त अस्पतालका प्रमुख अस्पताल प्रशासक विजय रिमालले बताए। विशेषगरी राजमार्गमा हुने दुर्घटनाका घाइतेहरुलाई तत्काल दुर्घटनास्थलमा पुगी उपचारमा संलग्न हुन सजिलो हुने उनले बताए। 

टोय फ्याक्ट्री जापानका सल्लाहकार तादाहारु मियाकोशीले यसप्रकारको मोबाइल क्लिनिकको संसारभरी बढ्दो मांग रहेको र धेरै भन्दा धेरै मानिसहरु यसबाट लाभान्वित भएको बताए। नेपालमा आफूहरुले पहिलो पटक यसप्रकारको क्लिनिक ल्याउन लागेको र यसले नेपालका ग्रामीण भेगका जनताहरुलाई सहयोग पुग्ने विश्वास लिएको बताए। 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने