फिचर

प्रतिस्पर्धाकै दिन घुँडाको शल्यक्रिया गर्नुपरेको त्यो क्षण


सन् २०१० मा बंगलादेशमा आयोजना भएको एघारौं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटनको अघिल्लो दिन नेपाली खेलकुदका लागि कालो दिन हो । जुन दिन नेपाली जुडो टिमले लिफ्ट दुर्घटनामा परी ठूलो क्षति व्यहोर्नुपरेको थियो । 

दुर्घटनामा नेपाली जुडो टिमका सबै खेलाडी परेका थिए । दुर्घटनामा स्वर्णको आशा गरिएका रमेश मगर पनि परे । दुर्घटनामा घाइते भएपछि मगर ६६ केजीमुनि तौल समूहमा प्रतिस्पर्धामा उत्रन सकेनन् । जुन दिन उनको खेल थियो त्यही दिन घुँडाको शल्यक्रिया गरिएको थियो। गलामा मेडल झुन्डाएर स्वदेश फर्कने लक्ष्य लिएका मगर वैशाखीको सहारामा विमानस्थलमा अवतरण गर्दा भावविह्वल बनेका थिए ।

लिफ्ट दुर्घटनामा परेपछि रमेशले हिम्मत हारेनन् । दुर्घटनाको ८ महिनापछि उनी खेल जीवनमा फर्किए । दुर्घटनामा परेयता उनले आधा दर्जन अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिइसकेका छन् । गत वर्ष भारतमा भएको १२औं सागमा काँस्य जितेर मगरले ढाका दुर्घटनाको पीडा भुलाए । ७ वर्षअघिकोे कहालीलाग्दो दुर्घटना र खेलमा फर्कन गरेको मिहिनेतबारे २९ वर्षे मगरले स्वास्थ्य खबरका सीताराम कोइरालासँग बताएका छन्:

000

सन् २०१० मा बंगलादेशमा सागका दौरान भएको लिफ्ट दुर्घटना मेरो खेल जीवनको कालो दिन हो । 

दुर्घटना पर्नुअघि दुई महिना भारतीय राष्ट्रिय टिमसँगै बसेर प्रशिक्षण लिएका थियौैं । भारतीय प्रतिद्वन्द्वीसँगै अभ्यासको अवसर पाएँ । अभ्यासका बेला उनलाई सजिलै हराएको थिएँ । दक्षिण एसियामा अब्बल भारतीय खेलाडीलाई अभ्यासमा हाराएकाले स्वर्ण जित्ने विश्वास पलाएको थियो । तर, प्रतिस्पर्धामा उत्रनु भन्दा एक दिनअघि लिफ्ट दुर्घटनामा परें । 

हामी होटलबाट निस्कने क्रममा लिफ्ट दुर्घटनामा परेका थियौं । खसेको लिफ्टबाट निस्किएँ । सारासर हिँडेर कुर्सीमा बसें । अफिसियलहरुले तत्काल अस्पताल जान सुझाव दिइरहेका थिए । तर, मैले ‘गम्भीर घाइते भएका साथीलाई लैजानु, म ठिक छु’ भनें । त्यतिबेला मनमनै भगवानलाई धन्यवाद दिँदै भोलिपल्ट खेल्न सक्ने मनोबल बनाएको थिएँ। 

दुर्घटना हुँदा ठोक्किएकाले घुँडामा अलिअलि दुखिरहेको थियो । साथीहरुसँगै अस्पताल जान उठें। उठ्न खोज्दा घुँडाको दुखाइ बढ्दै गयो। एक्काकी ढलें । 

उता मेरा प्रतिस्पर्धी खेल खेलिरहेका थिए, यता मेरो अप्रेसन भइरहेको थियो । नेपालबाट जानुभएका डा बुलन्द थापाले मेरो अप्रेसन गर्नु भएको थियो । एक साता अस्पताल बसेपछि नेपाल फर्कियौं ।

नेपाल फर्किंदाको पीडा अहिलेसम्म भुलेको छैन । गलामा स्वर्ण पदक झुन्ड्याएर फर्कने लक्ष्य लिएर उडेको थिएँ । तर, वैशाखी टेकेर फर्कंदा मन त्यसैत्यसै अमिलो भएको थियो । 
काठमाडौं फर्के लगत्तै जोरपाटीको अर्थोपेडिक अस्पतालमा भर्ना भएँ । दुई महिना उपचार गरेपछि सामान्य हिँड्न सक्ने भएँ । फिजियोथेरापी र अभ्यास दिनरात गर्थें । 
लिफ्ट दुर्घटनामा परेको ८ महिनापछि मात्र प्रतिस्पर्धामा उत्रन सक्ने भएको हुँ । 

जीवनमा त्यो ८ महिना कहिले पनि बिर्सन सक्दिनँ । थेरापी गर्ने बेलामा प्रशिक्षण गर्न औधी मन लाग्थ्यो। तर के गर्नु, खुट्टा चलाउन सक्दिनँ थिएँ । वैशाखीको प्रयोग गरेर मन खिन्न बनाएर हिँड्नु पथ्र्यो । खेल्न नसक्के भए पनि आफू प्रशिक्षण गर्ने स्थानमा वैशाखी टेकेरै पुग्थें । घुँडालाई चोट नपर्ने गरी हात मात्र चलाएर भए पनि अभ्यास गर्थें । 

बिस्तारै घुँडा ठीक भयो । राष्ट्रिय छनोटमा उत्कृष्ट हुँदै पाकिस्तानको इस्लामावादमा सन् २०११ मा भएको दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा सहभागिता जनाएँ । दुर्घटनापछि सहभागी भएको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो त्यो । जहाँ मैले टिम इभेन्ट्समा स्वर्ण पदक र व्यक्तिगत स्पर्धामा कास्य पदक जितें । 

जापानको ग्रान्डस्लाम र दक्षिण कोरियामा भएको एसियाली खेलकुदमा सहभागिता जनाएँ । एसियन खेलमा ५ मिनेट म्याटमा टिकेर रेकर्ड बनाएँ । त्यो रेकर्ड अहिलेसम्म कसैले तोड्न सकेको छैन । 

सन् २०१० मा बनाएको लक्ष्य २०१६ मा पूरा गर्ने अवसर थियो । तर, घुँडाले साथ दिएन । लिफ्ट दुर्घटनाको असर पाकिस्तानको प्रतिस्पर्धापछि देखियो । बेलाबेलामा घुँडा सर्ने समस्याले राम्रोसँग प्रतिस्पर्धा गर्न सकिरहेको छैन । 

दुर्घटनामै परेका बेला चिकित्सकहरुले खेल्न छाड्न सुझाव दिनु भएको थियो । तर, साग खेल्ने धोको पूरा गर्न मैले दिनरात मिहिनेत गर्न छाडिनँ । घुँडा जोगाई–जोगाई खेल्थें । दुर्घटनापछि पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सभागिता जनाएर पदक जित्न पाउँदा मनमा एक प्रकारको शान्ति मिल्थ्यो । जुडो खेल घुँडाको सपोर्टबिना खेल्न गाह्रो हुन्छ । आफ्नै जति तौल भएकालाई फाल्नुपर्ने हुन्छ । तर पनि अहिलेसम्म मिहिनेतले प्रतिस्पर्धा गरिरहेको छु । 

सन् २०१६ मा भारतको गुवाहटीमा भएको साग गेम्समा सहभागी भएर ढाका सागको पीडा भुल्ने कोसिस गरें । तर, कास्य पदकमै चित्त बुझाउन वाध्य हुनुपर्‍यो । सेमिफाइनलमा अफगानी प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्दा मैले जितेको खेल पनि रेफ्रीले रद्द गरिदिए । फेरि भएको सेमिफाइनलमा पराजित भएँ । त्यसपछि बंगलादेशका खेलाडीलाई पराजित गरेर सागमा कास्य जित्न सफल भएँ । 

सन् २०१० को दुर्घटनाले अहिलेसम्म पनि दुःख दिइरहेको छ । फेरि घुँडाको अप्रेसन गर्दैछु । किनकि, सन् २०१९ मा नेपालमा हुने सागमा स्वर्ण जित्ने मेरो लक्ष्य छ । सुरुमा अप्रेसन नगरी घुँडा बङ्ग्याएर भए पनि खेल्ने सोच बनाएको थिएँ । अप्रेसन गरेपछि खेल राम्रो हुने सुझाव आएकाले फेरि घुँडाको अप्रेसन गर्न लागेको हुँ ।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने