नर्सिङ

नेपालमा मिडवाइफको महत्व

img

अर्चना बगाले, नर्स

तराई, पहाड र हिमालको सुन्दर देश नेपालमा अझै पनि मातृ शिशुदर अन्य विकशित मुलुकमा जस्तो कम भइसकेको छैन। घरधन्दा अनि उकाली ओराली अनि मेलापात गर्ने  नेपाली महिलाको दैनिकी अझै सहज हुन सकेको छैन।
 
महिलाको पोषणमा कमि अनि, गर्भावस्थामा पनि जटिल कार्यहरुमा संलग्न हुने जस्तै गरुङ्गो भारि, धेरै काम गर्ने, थोरै आराम, स्वास्थ्य संस्थामा कम जाने अनि स्वास्थ्य संस्था पनि पहुँचभन्दा टाढा हुनु अनि बच्चा जन्माउन स्वास्थ्य संस्थामा जान नसक्नुका साथै त्यसपछिका जटिलताहरुको राम्रोसंग उपचार नहुँदा मातृशिशु मृत्युदर जति घट्नु पर्ने हो त्यति घटेको छैन।  
 
हुन त नेपाल सरकारले यसको समाधान गर्न धेरै नीतिहरु ल्याएको छ। जस्तै स्वास्थ्य संस्थामा बच्चा जन्माउन जाने महिलालाई हिमाली भेगमा १५ सय रुपैयाँ अनि पहाडी भेगमा एक हजार र तराई भेगमा ५०० रुपैयाँ भत्ता दिनुका साथै औषधि खर्च समेत निशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ। संचारमाध्यमहरुले गर्भवती  महिलाको स्वास्थ्य सम्बन्धि जानकारीमुलक कार्यक्रमहरु प्रशारण गरिरहेका छन्।

मातृ शिशु मृत्युदर घटाउन अनि सहज तरिकाले गर्भवती हुँदादेखि बच्चा जन्माउन अनि जन्मिसकेपछि पनि उनीहरुको स्वास्थ्य सुधारका लागि उपयुक्त जनशक्ति भनेका मिडवाइफ हुन्।
 
मिडवाइफ भनेका यस्ता जनशक्ति हुन् जसले एउटा गर्भवती महिलालाई उनको गर्भावस्थादेखि लिएर बच्चाको जन्म भइसकेपछि सम्म सहयोग गर्छन्।

स्वास्थ्य संस्थादेखि घरसम्म महिलाको प्रजनन स्वास्थ्यदेखि शिशुको स्वास्थ्यसम्म हेरचाह गर्ने जनशक्तिलाई मिडवाइफ भनिन्छ।
 
 नेपाल सरकारले पनि यो काममा मिडवाइफलाई  औपचारिकरुपमा संलग्न गराउने निर्णय गरे पनि सुरुवात भइसकेको छैन। विभिन्न विश्वविद्यालयले यो शिक्षालार्इ सुरुवात गर्ने तयारीमा जुटेका छन्।

हाम्रो मुलुकमा जहाँ यातायातको पहुँच हुँदैन ती दूरदराजमा सुत्केरी हुने महिलाहरुमा देखिने समस्या जस्तै अत्यधिक रक्तश्राप, बच्चा जन्मिसकेपछि साल अड्किने अनि अन्य समस्या जसले महिलाको स्वास्थ्यमा  समस्या ल्याउँछन्।
 
महिला स्वास्थ्य हुनु भनेको देश स्वास्थ्य हुनु हो। किनभने महिलाको स्वास्थ्यमा आउने समस्याले देशको आर्थिक, सामाजिक अनि अन्य क्षेत्रमा निकै असर पारिरहेको हुन्छ। हुन त प्रविणता प्रमाणपत्र  तहदेखि नै  यस  सम्बन्धि पढाइ हुन्छ। नर्सिङमा पनि मिडवाइफमै केन्द्रित रहेर माथिल्लो तहसम्म पनि पढाइ भइरहेका छन्।

विभिन्न विश्वविद्यालयमा यसलार्इ अझ शसक्तरुपमा अघि सारेर अनि उत्पादित दक्ष  जनशक्तिलाई  ग्रामिण भेगमा पनि जाने व्यवस्था गराए अझै महिलाको प्रजनन स्वास्थ्यमा सुधार आउने थियो।
 
ग्रामिण क्षेत्रमा अझै पनि यो सेवा आफ्नो दक्षले मातृ शिशु कार्यकर्ताले पुर्याइरहेका छन्। उनीहरुको साथमा अझ माथिलो तहसम्म पढेका मिडवाइफ जनशक्तिले संगै कार्य गरे भने महिला स्वास्थ्यमा आएका बिद्यमान  समस्याहरुको सहज समाधान हुन सजिलो हुन्थ्यो।

नेपाल सरकारले मिडवाइफलाई  अनि यसको पढाइलार्इ सहि तरिकाले अगाडि बढाए राम्रो हुने थियो। हामी नर्सहरुले आर्जन गरेको ज्ञान अनि सिपले यो पेशालाई सम्पूर्ण महिलाको स्वास्थ्य सम्बन्धी हितमा उपयोग गर्ने सहि मौका पाइयोस् अनि महिलाका स्वास्थ्य समस्यालाई न्यूनिकरण गरेर आफ्नो क्षेत्रबाट  देशलाई योगदान गर्न पाइयोस् अनि मिडवाइफको महत्वलार्इ अझ बुझ्न सकियोस्। नेपालमा मिडवाइफको ठूलो महत्व छ।
 
मिडवाइफले गर्ने केही प्रमुख कार्यहरु
 
१. गर्भावस्थामा राम्रोसंग हेरचाह गर्ने जस्तैः आराम, पोसिलो खाना, खानु पर्ने औषधि आइरन, क्यालसियम आदिको बारेमा जानकारी दिने।
 
२. गर्भावस्थामा नियमित स्वास्थ्य संस्थामा जान लगाउने अनि स्वास्थ्य संस्थामा राम्रोसंग आमा र बच्चाको स्वास्थ्य जाँच गरिदिने र समस्या परेको खण्डमा अझ माथिलो तहको स्वास्थ्य संस्थामा पठाइदिने।
 
३. गर्भावस्थामा  देखिने समस्याका बारेमा जानकारी दिने अनि केही समस्या अए भने समाधान गर्ने।
 
४. बच्चा जन्माउन स्वास्थ्य संस्था आएका महिलालाई राम्रोसंग स्वास्थ्य सुबिधा दिएर आमा र बच्चा दुवैको स्वास्थ्यमा ध्यान दिएर स्वास्थ्य सम्बन्धी कार्य गर्ने।
 
५. बच्चा जन्मिसकेपछि आमा र बच्चालाई आउने जटिलताहरुको पहिचान गरी बेलामै समस्याको समाधान गर्ने, समाधान गर्न नसकेको खण्डमा माथिल्लो तहमा पठाइदिने।
 
६. आमालाई आफ्नो बच्चालाई स्तनपान गर्न सिकाउने अनि यसको महत्वबारेमा बुझाउने।
 
७. बच्चाको खोप तालिकाको बारेमा अनि आमाको स्वास्थ्यको नियमित जाँच गराउने सल्लाह दिने आदि।
 
यी कार्यका लागि छुट्टै मिडवाइफको जनशक्तिलाई उत्पादन गरेर देशका सम्पूर्ण स्वास्थ्यका निकायहरुमा परिचालन गरियो भने आमा र बच्चाको स्वास्थ्य हुने समस्यामा सुधार आउने थियो। त्यसैले नेपालमा मिडवाइफको छुट्टै पहिचान हुनु आबश्यक छ।

नर्सिङमा मिडवाइफका विषयमा पढाइ त हुन्छ तर अब महिला स्वास्थ्यको सुधारका लागि यसलार्इ औपचारिकरुपमा अगाडि सारे अझ राम्रो हुने थियो।

लेखिका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा  स्नातकोत्तरतहमा अध्ययनरत विद्यार्थी हुन्

 

swasthyakhabar

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

पढ्नै पर्ने

Nepali Live