विचार/ब्लग

सधैं अरुको उपचारमा खट्ने शल्य चिकित्सकले आफ्नो स्वास्थ्य ख्याल नगर्ने?


अमेरिकाका वरिष्ठ शल्य चिकित्सक क्याम्पबेलले भनेका थिए, हामीले विद्यार्थीलाई शल्यक्रिया कसरी गर्ने भनेर राम्ररी सिकायौं, तर शल्य चिकित्सक (सर्जन) को रुपमा कसरी जिउने भनेर सिकाउन सकेनौं।’ नेपालमा पनि शल्यचिकित्सक (सर्जन) बाट  बिरामीले, समाजले धेरै आशा गरेको छ। शल्य चिकित्सकले पनि दबाबमा दिनरात सेवा दिइरहेका हुन्छन्। तर, शल्य चिकित्सकले सहजसँग जिउन पाएको छ कि छैन भनेर न त बिरामीले ध्यान दिएका हुन्छन्, न त समाजले। शल्यचिकित्सक आफैंले पनि आफ्नै स्वास्थ्यलाई ध्यान दिएको पाइँदैन।

अहिलेसम्म एकोहोरो रुपमा बिरामीको स्वास्थ्यमा मात्र लागिरहेका चिकित्सकलाई आफ्नो स्वास्थ्यमा पनि ध्यान दिन प्रेरित गर्ने उद्देश्यले यो लेख तयार गरिएको हो। स्वस्थ चिकित्सकबाट नै बिरामीले स्वास्थ्य लाभ गर्न सक्छन्।

धरैतिरको तथ्यांक केलाउँदा शल्य चिकित्सकको अवस्था अति दयनीय भएको थाहा पाइन्छ। १८ प्रतिशत विद्यार्थीले शल्य चिकित्सा पढ्दापढदै बीचमा छाडिदिन्छन् र अन्य विषयको पढाइ वा पेशातिर लाग्छन्। ६० प्रतिशत सर्जनले आफ्नो पेशा तत्काल छाड्न चाहेको बताउँछन् भने साढे १२ प्रतिशतले आगामी दुई वर्षमा आफ्नो पेशा छाड्ने बताउँछन्। 

अन्य पेशामा औसत ६५ वर्षमा बिश्राम लिने गरेकामा सर्जनले ५७ वर्षमा नै बिश्राम लिने गरेको पाइएको छ। ५० वर्ष उमेर पुगेका सर्जनमध्ये ५० प्रतिशतलाई कुनै न कुनै रोगले सताएको पाइन्छ। ४० वर्षमुनिका ७ प्रतिशत सर्जन पनि स्वस्थ छैनन्।

५० वर्ष पुगेका सर्जनमध्ये २५ प्रतिशतले आफ्नै अत्यावश्क जाँच गराउन पाएका हुँदैनन्। यस्ता जाँचमध्ये ठूलो आन्द्राको जाँच विधि कोलोनोस्कोपी, मुटु जाँच तथा पुरुषले गर्नु पर्ने प्रोस्टेट जाँच पर्छन्।

सर्जनमा आफ्नो पेशाप्रति वितृष्णा हुनुमा केही कारणहरु प्रधान मानिन्छन्। ती मध्ये मानसिक रोग, तनाव, आफ्नो अधिनमा नभएको जीवनशैली आदिलाई कारक मानिन्छ। त्यस्तै, महिला सर्जनमा अझ बढी नैरास्यता पाइन्छ। ४ मध्ये १ महिला विद्यार्थीले बीचमै पढाइ छाडेको पाइन्छ। लैंगिक भेदभाव, यौनहिंसा, महिला सर्जनको कमी आदि यसका कारण हुन्। सर्जनले आफ्ना विद्यार्थीलाई राम्रो परामर्श दिन नसक्नु पनि विद्यार्थीले बीचमै पढाइ छाड्ने एउटा कारण हुन सक्छ। 

सर्जनको अभाव भएको हाम्रोजस्तो देशमा सर्जनले भोग्नुपरेको तनाव र पेशा छाड्ने सोचले समाज र देशलाई ठूलो असर पारेको पाइन्छ।

सर्जनले भौतिक र मानसिक असुरक्षा भोगेका हुन्छन्। शल्यक्रियाका क्रममा सर्जनलाई बिरामीबाट हेपाटाइटिस बी, सी, एचआइभीजस्ता संक्रमण सर्न सक्छ। शल्यक्रियामा विकीरणयुक्त उपकरण प्रयोग हुँदा विकीरणले गर्ने असर देखा पर्न सक्छ। यस्तै, शल्यक्रियामा प्रयोग हुने विद्युतीय चक्कुबाट निस्कने धुँवाले पनि सर्जनलाई असर गर्छ। ५७ प्रतिशत सर्जनलाई ढाड दुख्ने, ५१ प्रतिशतलाई टाउको र घाँटी दुख्ने, ४५ प्रतिशतलाई हात दुख्ने, १३ प्रतिशतलाई घँुडा दुख्न,े ६ प्रतिशतलाई काँध दुख्ने र ६ प्रतिशतलाई खुट्टा दुख्ने समस्या पाइएको छ।

मानसिक स्वास्थ्यको सन्दर्भमा सर्जनलाई मानसिक रोग, बर्नआउट सिन्ड्रोम र सेकन्ड भिक्टिम सिन्ड्रोमजस्ता समस्या देखा पर्न सक्छन्। बर्नआउट सिन्ड्रोम भएमा सर्जनको कार्यसम्पादनमा ह्रास आउँछ। उदासिनता देखा पर्ने, लागू औषध सेवन गर्नेे, सम्बन्ध विच्छेद हुने जस्ता समस्याबाट एउटा सर्जन गुज्रिनुपर्ने हुनसक्छ। मानसिक चिकित्सा विज्ञान अनुसार मानिस तनाव व्यवस्थापन गर्न नसक्दा बर्न आउट हुने, सोको व्यवस्थापन नहुँदा उदासिनता (डिप्रेसन) हुने र समस्या अझ गम्भीर बन्दै जाँदा आत्महत्यासम्म पुग्ने हुन सक्छ।

बिरामीको उपचारमा सोचेजस्तो परिणाम प्राप्त नहँुदा वा बिरामीको मृत्यु हुँदा सर्जन ‘सेकेन्ड भिक्टिम सिन्ड्रोम’को शिकार पनि बन्न सक्छ। पीडामा परेका आफन्तजन तनावको पहिलो शिकार बन्छन् भने सर्जन दोस्रो शिकारमा पर्छन्। अस्पताल र प्रशासन तेस्रो शिकारमा पर्छन्। अस्पतालमा यदाकदा हुने दुखदायी घटनामा बिरामीका आफन्तजन, उपचारमा संलग्न चिकित्सक र मेडिकल टिम, अस्पताल र प्रशासन सबै पक्ष उत्तिकै चिन्तित र तनावयुक्त हुन्छन्। लगभग आधाजसो सर्जनले आफ्नो पेशामा सेकन्ड भिक्टिम सिन्ड्रोम भोगेका हुन्छन्।

सर्जनको व्यक्तिगत र व्यावसायिक स्वास्थ्य तन्दुरुस्त बनाउन सर्जन आफ्नै, परिवार, समाज र काम गर्ने संस्था सबैको दायित्व रहन्छ।

आफू स्वस्थ रहन सर्जनले के गर्ने?

शल्यक्रियाका क्रममा विभिन्न जीवाणुबाट संक्रमित बिरामीबाट रोग सर्ला भनेर दुई जोडी पन्जा लगाउनुपर्छ। एक जोडी पन्जा लगाउने सर्जनलाई १३ प्रतिशत जोखिम बढी पाइएको छ। शल्यक्रियाका क्रममा सियोले घोच्यो भने विवरण राख्ने बानी बसाउनुपर्छ र उपचार पनि गर्नुपर्छ। विकीरणबाट बच्न विकीरण सुरक्षाको रणनीति अपनाउनुपर्छ। लामो र जटिल शल्यक्रिया कम्तिमा पनि २ जना सर्जनले गर्नुपर्छ र बीच–बीचमा पालैपालो छोटो विश्राम लिनुपर्छ। 

कम्पनीहरुले पनि शल्यक्रियामा प्रयोग हुने उपकरणहरु सजिलै प्रयोग गर्न सकिने बनाउनुपर्छ। शल्यक्रियाका क्रममा आउने धुँवाको सही व्यवस्थापन गर्नुपर्छ। सेकन्ड भिक्टिम सिन्ड्रोम र बर्नआउट सिन्ड्रोम व्यहोरेका सर्जनलाई सहयोग गर्ने रणनीति बनाउनुपर्छ।

प्रत्येक रात ८ घन्टा सुत्ने बानी बसाल्नुपर्छ। काम र घरपरिवारलाई दिने समयको तालमेल मिलाउन जान्नुपर्छ। काम बाहेक परिवार, खुशी, शान्ति, मनोरञ्जन, खेलकुद आदि पनि छन् भनेर समयको व्यवस्थापन गर्नु जरुरी छ। समय–समयमा उमेर अनुसारको स्वास्थ्य जाँच गर्नुपर्छ। 

हेपाटाइटिस बीको खोप लगाउनुपर्छ। नियमित व्यायाम गर्ने बानी बसाउनुपर्छ। स्वस्थ खाना खाने, मदिरा र चुरोटबाट टाढै रहने, लागू औषधका दुव्र्यसनीबाट टाढै रहने जीवनशैली अपनाउनुपर्छ।

विश्वासिलो साथी र परिवारका सदस्यलाई आफ्नो तनावबारे बताउनुपर्छ। आवश्यक परेमा चिकित्सकीय सुझाव लिनुपर्छ। आध्यात्मिक अभ्यास, धार्मिक क्रियाकलाप,  प्रकृतिसँगको घुलमिल र कम्तिमा पनि हप्तामा आधा दिन पूरै विश्राम लिनाले मानसिक रुपमा शान्ति प्राप्त हुन्छ। 

(डा कोइराला किस्ट मेडिकल कलेजका सहप्राध्यापक तथा ओम अस्पतालका वरिष्ठ शल्यचिकित्सक हुन्।)

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने