घरमै डाक्टर

घरमै डाक्टर– टेस्ट्युब बेबी कस्ता दम्पत्तीका लागि उपयुक्त ?

None

काठमाडौं-

हाम्रो विवाह भएको ५ वर्ष भयो । तर, सन्तानको रहर पूरा भएन । साथीहरुले टेस्टट्यु बेबी जन्माउन भनिरहेका छन् । यो कस्तो प्रक्रिया हो । बताइदिनुभए आभारी हुने थिएँ । – राेहिणी 


मानिसको जन्म प्राकृतिक संरचनाअन्तर्गत शरीर विज्ञानसँग सम्बन्धित विषय हो । महिला र पुरुषबीच यौनक्रिया भएपछि पुरुषको वीर्यबाट शुक्रकीट महिलाको डिम्बबाहिनी नलीमा प्रवेश गरेर डिम्बसँग मिसिन्छ । डिम्ब र शुक्रकीटको मिलनबाट भ्रुण तयार हुन्छ र पाठेघरमा पुगेर विकसित हुन्छ । महिना दिनपछि यस भ्रुणले शिशुको रूप धारण गर्छ । तर, कहिलेकाहीँ दम्पत्तिले चाहँदा–चाहँदै पनि गर्भ नरहने हुन्छ । युरोपमा भएको एक अध्ययनअनुसार गर्भ नरहनुमा महिला तथा पुरुषको ४०–४० प्रतिशत जिम्मेवारी हुने गरेको छ, बाँकी २० प्रतिशत साझा समस्या देखिने गरेको छ । यहीकारण सन्तान हुन नसक्नुमा महिला तथा पुरुष दुवै समान रुपमा जिम्मेवार मानिन्छन् भनिएको हो ।

 कहिलेकाहीँ दम्पत्तिमै खराबी नहुँदा पनि गर्भ रहन कैयौं वर्ष लाग्नसक्छ । गर्भ रहनु भनेको एउटा आकस्मिक घटना हो । स्वस्थ हुँदाहुँदै पनि पुरुषको शुक्रकीटले महिलाको अण्डा भेट्ने अवसर नपाएको हुनसक्छ । कतिपय अवस्थामा महिनावारी भएको समय र सहवासको समय नमिलेका कारण पनि सन्तान नहुन सक्छ । विवाहित जोडीमा बच्चा नभएपछि समाजले स्त्रीलाई बाँझी र जोडीलाई निसन्तानको संज्ञा दिन्छ ।

 तर, सन्तान नभएको भनेर जीवनभर नै निराश बस्नुपर्ने स्थिति अहिले  छैन । विज्ञानले विभिन्न उपायको आविष्कार गरेको छ । त्यसमध्ये एक हो, टेस्टट्युब अर्थात् आइभीएफ विधि । यसमा पुरुषको शुक्रकीट र स्त्रीको डिम्ब संकलन गरी सिसाको ट्युब वा प्लेटमा राखेर एकअर्कासँग मिलन गराई भु्रण तयार गरिन्छ । यसरी टेस्टट्युबमा गर्भाधानको प्रक्रिया पूरा भएपछि भ्रुणलाई सिरिन्ज (सानो पाइप)को सहायताले स्त्रीको गर्भाशयमा प्रतिस्थापित गरिन्छ । त्यसपछि साधारण अवस्थामा जस्तै भ्रुण विकसित भई शिशुको रुप धारण गर्दछ । यसरी जन्मने भएकाले बच्चालाई टेस्टट्युब बेबी भनिएको हो ।

प्रा. रबर्ट एडवार्ड्सले सन् १९५० देखि ७० सम्म अथक रुपमा गरेको अनुसन्धानको उपलब्धिस्वरुप सन् १९७८ मा पहिलोपटक टेस्टट्युब बेबीको जन्म सम्भव भएको थियो । विश्वकै पहिलो टेस्टट्युब बेबी बेलायतकी लुइस ब्राउन हुन् ।  उनको जन्म सन् १९७८ को जुलाई २५ मा भएको थियो । क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक रबर्ट एडवार्ड्सले टेस्टट्युब बेबी विधिको सुरुवात गरेर बाँझोपनाको समस्या हटाउन सफल भएकाले उनी नोबेल पुरस्कारबाट समेत सम्मानित भैसकेका छन् ।

नेपालमा पहिलोपटक २०६१ साल फागुन २० गते ओम अस्पतालको आईभीएफ सेन्टरबाट बाबु राजेन्द्र तामाङ र आमा सन्ध्याको कोखबाट पहिलो टेस्टट्युब बेबीको जन्म भएको थियो ।

 
आइभीएफ कस्ताका लागि ?

 अण्डाशयमा अण्डा नबन्ने अथवा थुपै साना–साना डिम्ब बनेपनि नबढ्ने, पाठेघरको नली पूरा बन्द भएमा, पिप या पानी जमेमा, पाठेघरको झिल्ली क्षयरोग अथवा कुनै कारणबाट पातलो भएमा, हर्मोनमा गडबडी, पाठेघरको झिल्लीमा मासु बढ्नु, गर्भाशयको मुख ज्यादै सानो हुनु जस्ता अवस्थामा आइभिएफ विधिको सहायता लिइन्छ ।

 प्रसूतिसम्वन्धी विशेषज्ञ सेवा दिने मुलुकको एक मात्र सरकारी अस्पताल परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबाट तीन निःसन्तान महिलाले टेष्टटयुब बेबी प्रविधिबाट सन्तान प्राप्त गरेका छन् । नेपालमा सरकारी अस्पतालबाट भएको यो जन्म नै पहिलो हो । डा. उषा श्रेष्ठको नेतृत्वमा नर्सहरू गायत्री सुवेदी, राधा शाक्य, रोशनी शिलाकार र जमुना पोखरेलसहितको प्रयासले पहिलोपटक सरकारी अस्पतालमा टेष्टट्युब बेबीको जन्म भएको हो । प्रसूतिगृहमा यो सेवा एक लाख ६० हजार रुपियाँमा नै उपलब्ध छ भने अन्य निजी अस्पतालमा ३ देखि ५ लाखसम्म खर्च गर्नुपर्ने हुन्छ ।

 आईभीएफ गर्नुपूर्व महिलाको सम्पूर्ण जाँच गरिन्छ । महिनावारी नियमित भए नभएको, गर्भपतन गरे नगरेकोजस्ता विभिन्न कारणले गर्भ नरहेको हुनसक्छ । महिलाको पाठेघरमा ट्युमर भएमा पनि गर्भ रहदैन । महिलाको अवस्था सम्पूर्ण ठीक भएपनि पुरुषको खराबीले पनि बच्चा नहुन सक्छ । यस्तो अवस्थामा ‘इक्सी’ गरिन्छ । पाठेघरको २ वटै नली बन्द भएमा पनि बच्चा हुँदैन । बच्चा हुनका लागि कम्तीमा पनि एउटा नली खुलेको हुनुपर्छ । अण्डा निस्कने प्रकृया महिनैपिच्छे भैरहेको हुन्छ । यदि अण्डा नै बनेन भने वा सानो ( पोलिसिस्टिक ओभरी डिजिज) भए आईभीएफ विधि अपनाउनुपर्ने हुन्छ । सबै ठीक भएपनि ४० वर्षको उमेर हुँदासम्म पनि बच्चा नभए विभिन्न हर्मोनको जाँच गरी आईभीएफ गर्न सकिन्छ ।


प्रक्रिया के ?

 परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल सरकारी भएकाले कमाइभन्दा पनि सेवामा जोड दिएका छौं । जसले गर्दा सुरुमा हामी बिरामीको छनोटमा विशेष ध्यान दिन्छौं । आइयुआई गरेर पनि बच्चा नहुने, अण्डा नै उत्पादन नहुने, महिनावारी नियमित नहुने महिलाका लागि आईभीएफ विधि अपनाइदैंन । त्यसकारण सुरुमा महिलाको छनोट गरी ‘स्टिमुलेसन’ गरिन्छ । सानो–सानो अण्डाशयलाई ठूलो बनाउन हर्मोनहरु दिइन्छ । त्यसपछि हर्मोन जाँच गर्ने र नियमित अल्ट्रासाउण्ड गर्नुपर्छ ।

महिनावारी भएको २ दिनमा र ६/७ दिनमा पुनः जाँच गरिन्छ । त्यसपछि हर्मोन बढाउने र घटाउने गरिन्छ । अण्डा बनेमा एचसिजि भन्ने इन्जेक्सन दिइन्छ । त्यसको ४० घण्टामा महिलालाई बेहोस पारी अण्डा निकालिन्छ । तर यसका लागि कुनै शल्यक्रिया भने गर्नुपर्दैन । यसरी निकालिएको महिलाको डिम्ब र पुरुषको शुक्रकिटलाई प्रयोगशालामा एउटा थालमा राखी इन्क्युवेटरमा राखिन्छ, जहाँ निशेचन प्रक्रिया (फर्टिलाइजेसन) हुन्छ  । यसरी बनेको भ्रुणलाई करिब ४८ घन्टापछि महिलाको गर्भाशयमा प्रतिस्थापित गरिन्छ । अधिकांश अवस्थामा चार भ्रुण प्रतिस्थापन गरिन्छ । सबै हुर्कन नसकेपनि कम्तीमा एउटा हुर्कन्छ भन्ने सोच राखिएको हुन्छ । अण्डा निकाल्दा महिलालाई बेहोस बनाए पनि भ्रूण प्रतिस्थापन गर्दा भने बेहोस बनाउनुपर्दैन । भ्रूण प्रतिस्थापन गरेपछि सामान्य शिशुसरह नौ महिना आमाको गर्भमै राखी शिशुको जन्म हुन सक्छ ।

आइभिएफ विधिमा महिलालाई कृत्रिम गर्भाधान गरिन्छ । यसरी गर्भाशयमा भ्रूण प्रतिस्थापन गरिसके पछि महिलालाई  २ घण्टासम्म बेडमा आराम गर्न लगाइन्छ । त्यसपछि बच्चालाई सर्पोट गर्नका लागि हर्मोन इन्जेक्सन प्लस दिइन्छ । गर्भाशयमा भ्रूण प्रतिस्थापन गरेको २ हप्तापछि पिसाब र बेटा–एचसिजि परीक्षण गरी गर्भ भए–नभएको जाँच गरिन्छ । त्यसको ४८ घण्टापछि पूनः जाँच गरी निश्चित गरिन्छ । बिएचसीजी र युसएजीमा पाठेघरभित्र भ्रुण बनेपछि आइभीएफको सफल भएको मानिन्छ ।

यसरी गर्भ रहेपनि कहिलेकाहीँ खेर पनि जानसक्ने हुन्छ । यसका लागि महिलाले विशेष ध्यान पु¥याउनुपर्छ । हर्मोन धेरै दिनुपर्ने भएकाले ओएचएसएस हुनसक्छ । गर्भ रहेपछि नियमित परीक्षण गर्नुपर्छ । बीचमा कुनै समस्या देखिएमा तुरुन्तै अस्पताल जानुपर्छ । यसरी जन्मने बच्चाहरुलाई साधारण तरिकाबाट जन्मने बच्चाका लागि भन्दा बढी हेरचाह र स्याहारसुसार आवश्यक पर्छ । आइभिएफका अधिकांश अवस्थामा शल्यक्रियाको जरुरी पर्नसक्छ ।
अण्डा राम्रो बन्न नसक्नु, फर्टिलाइजेशन राम्रोसंग हुन नसक्नु र इम्प्लान्टेशन राम्रो हुन नसक्नु जस्ता कारणले आइभीएफ असफल बन्न सक्छ । यस्तै, गर्भ रहेर पनि गर्भपतन हुन सक्ने, एकभन्दा बढी भ्रुण निर्माण हुने, कम तौलको बच्चा जन्मने, अवधिभन्दा पहिल्यै जन्म हुने जस्ता समस्या देखा पर्न सक्छन् । यस्तै, महिलामा पनि संक्रमणको समस्या देखिन सक्छ ।

डा. भावा श्रेष्ठ मल्ल, इन्फर्टिलिटि युनिट, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने