फिचर

मानव अंग प्रत्यारोपण केन्द्रले अन्याय गरेको भन्दै यसरी भक्कानिइन् नर्स [भिडियो]

None

काठमाडौं-

काठमाडौं- मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा कार्यरत केही नर्सहरु आफूमाथि अस्पताल प्रशासनले अन्याय गरेको भन्दै स्वास्थ्य मन्त्रालय लगायत निकायको दैलो चहारिरहेका छन्। तिनै नर्समध्येकी एक हुन्, सजना देउला। जो प्रत्यारोपण केन्द्रबाट अन्यायपूर्वक निकालिनेहरुमध्ये पर्छिन्।

न्यायको आशा राखेर आइतबार उनी फेरि स्वास्थ्य मन्त्रालयको आँगनमा पुगेकी थिइन्। उनी न्यायका लागि होमिएको ७ महिना भइसकेको छ। तर, अझैसम्म न्याय पाउने छेकछन्द देखेकी छैनन्।

न्याय पाउने चक्करमा लाग्दा उनमा नर्सिङ पेसादेखि मात्र होइन, जिन्दगीदेखि नै विरक्ति जाग्यो। उनले रुँदै भनिन्, ‘बुवाआमाका दुःख सम्झेर र दिदीहरुको साथ पाएर मात्रै बाँचिरहेकी छु। नत्र उहिल्यै मरिसकेकी हुन्थेँ।’

स्वास्थ्य खबरलाई आफूमाथि भएका अन्यायका फेहरिस्त सुनाइरहँदा उनी पटक–पटक भक्कानिइन्। बताउन नसकिने पीडा उनले आँसुबाट दर्शाइन्।

सजना मात्रै होइन, उनी जस्तैका पक्षमा आवाज उठाउने सोही अस्पतालकी अर्की नर्स त्रजिना जति पनि निकालिएकी थिइन्। सोही अस्पतालमा कार्यरत उनकै बहिनी सपना देउला समेत आफूमाथि पनि अन्याय भइरहेको बताउँछिन्।

यो पनि पढ्नुहोस्-
स्वास्थ्यमन्त्रीलाई एक नर्सको पत्रः ममाथिको ज्यादतिको क्षतिपूर्ति के?

स्वास्थ्य मन्त्रीलाई नर्सको दोस्रो पत्र: मैले न्याय पाउँछु कि विदेश भासिनुपर्ने हो?
जब अत्याचारीका मतियार पनि पीडितका लाइनमा उभिए!

स्वास्थ्य मन्त्रालयले यस विषयमा छानबिन गर्न तीन वटा समिति बनाएको थियो। तर, त्यसमध्येको दुई वटा समितिले त छानबिनको सुरसार नै गरेन। मन्त्रालयका उच्चपदस्थलाई आफ्नो प्रभावमा राख्न सफल प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र नर्सिङकी प्रमुख इन्दिरा प्रधानका विरुद्धमा उठेका नर्सहरुको आवाज झन् दबाउन खोजियो।

मन्त्रालयले पीडित पक्षका मान्छे नै सहभागी नगराई छानबिनको एउटा नाटक मञ्चन गर्‍यो। छानबिन प्रतिवेदन पीडितका पक्षमा आएन। बरु उल्टै सम्झौताका लागि बाध्य पारियो।

आफूमाथि अन्याय परेको भनेर पहिलोपल्ट उठेका नर्सका आवाज केही प्राविधिक र कानुनी टेकोका आधारमा निमोठिए पनि उनीहरु थाकेका छैनन्। न्यायको लडाइँ जारी नै राखेका उनीहरु नर्सिङ पेशामा रहेका मानसिक, शारीरिक र श्रम शोषणहरु विरुद्ध अझ बलियो बनेका छन्। 

यतिबेला उनीहरु स्वास्थ्य मन्त्रालयमा वारपारको लडाइँ लड्न आइपुगेका छन्। मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक र नर्सिङ प्रमुख प्रधानले आफूहरुमाथि गरेका अन्यायका फेहरिस्त एउटा किताब लेख्दा पनि नसकिने देउला बताउँछिन्।

कुनै समय फ्लोरेन्स नाइटिंगल जस्तै बन्ने लक्ष्य लिएको बताउने देउला भन्छिन्, ‘नर्सिङ पेसाप्रति नै  वितृष्णा जागिसक्यो। तर, यो लडाइँबाट कुनै पनि हालतमा हारेर पछि हट्दिनँ।’

उनले प्रत्यारोपण केन्द्रले डेढ वर्षभन्दा बढी भोलेन्टिएरका रुपमा काम गराएको र त्यसपछि ‘सेसन बेस्ड’ भन्दै सातै दिन काम लगाएर चार दिनको मात्रै पारिश्रमिक दिएको बताइन्। 

लामो समय सोही अस्पतालमा काम गरिरहेकी देउलामाथि अन्यायको क्रम यहीँ रोकिएन। अस्पतालले निकालेको भ्याकेन्सीमा उनले जाँच दिइन्। लिखितमा उनको नाम भोलेन्टिएर गरिरहेका नर्सहरुमध्ये पहिलो नम्बरमै निस्कियो। तर, अन्तर्वार्ताका क्रममा उनलाई फेल गरियो। उनीभन्दा पछाडिको क्रममा नाम निकाल्नेहरुले अस्पतालको उच्चपदस्थ पदाधिकारीसँगको सोर्सफोर्समा अवसर पाएको उनी बताउँछिन्।

उनलाई सेवाप्रति यति समर्पण थियो, इमर्जेन्सीका बिरामीको अवस्था सम्झेर आधा घन्टाको ब्रेक टाइमलाई १५ मिनेटमा छोट्याउँथिन्। उनले भनिन्, ‘इमर्जेन्सीमा काम गर्दा म चाँडै खाजा खाएर ड्युटीमा जान्थेँ। दिदीहरुले तिमीलाई दिइएको आधा घन्टा त रेस्ट गर भन्नुहुन्थ्यो।’

तर, उनले मरिमेटी गरेको यस्तो सेवाको मूल्यांकन अस्पतालका निर्देशक र नर्सिङ प्रमुखले गरेनन्। उनी खाइपाइ आएको ‘सेसन बेस्ड’ जागिरबाट समेत निकालिइन्। 

यतिबेला आफ्ना लागि भन्दा पनि सत्य र न्यायका लागि लडिरहेको उनी बताउँछिन्। उनी भन्छिन्, ‘सत्यका लागि लड्ने दिदी (त्रजिना जति) पनि अन्यायमा पर्नुभएको छ। म उहाँसँगै सत्यको लडाइँ लडिरहेकी छु। ज्यान दिनु परे पनि सत्यकै लागि दिन्छु।’

उनको यो लडाइँमा सहभागी हुन पोखरादेखि नर्स जिता बराल काठमाडौं आइपुगेकी छिन्। यस्तै, एन्टी करप्सन मुभमेन्टकी नर्स दिया भण्डारी पनि यो संघर्षमा सँगसँगै छिन्। यो आन्दोलनमा नेपाल नर्सिङ एसोसिएसनले पनि समर्थन गरेको छ।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने