मुख्य समाचार

मानव अंग प्रत्यारोपण केन्द्र प्रकरण : छानविन समितिको सुझाव एउटा, मन्त्रालयको निर्णय अर्को

img

डिबी खड्का

काठमाडौं– मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरबाट अन्यायपूर्ण रुपमा निकालिएका कर्मचारीहरुले आन्दोलन चर्काएका छन्। लामो समयको मागपछि स्वास्थ्य मन्त्रालयले गरेको निर्णय पनि एकपक्षीय आएपछि नर्सहरुको आन्दोलन मन्त्रालय केन्द्रित भएको छ। 

विगत ७ महिनादेखि अस्पताल प्रशासनलाई दबाब दिइरहेका उनीहरु स्वास्थ्य मन्त्रालयले पनि एकपक्षीय निर्णय गरेपछि मन्त्रालय घेर्न पुगेको बताउँछन्। 

पीडित र उनीहरुलाई साथ दिइरहेका नर्स र नर्सका संघसंस्थाका प्रतिनिधिले आइतबार मन्त्रालयको नर्सिङ शाखाकी प्रमुख रोशनी लक्ष्मी तुईतुई र स्वास्थ्य सचिव डा पुष्पा चौधरीलाई भेटेका छन्। 

के हो समस्या ?

०७४ साउन २९ गते मानव अंग प्रत्यारोपण केन्द्रले पाँच वर्षदेखि कार्यरत नर्स त्रजिना जतिलाई एक्कासी निस्कासन गरेको पत्र थमाएको थियो। नर्स त्रजिनाका अनुसार कर्मचारी भर्ना लगायतका विषयमा अस्पताल प्रशासनको मनपरी विरुद्ध उनले आवाज उठाउन थालेपछि अस्पताल निर्देशक डा पुकार श्रेष्ठ र उनलाई साथ दिइरहेकी अस्पतालकी मेट्रोन इन्दिरा प्रधान डराएका थिए। 

डायलाइसिस तालिम गरेका अथवा यस्तै संस्थामा काम गरेकाहरूलाई मात्र भर्ना प्रक्रियामा समावेश गराइने भनिए पनि निर्देशक श्रेष्ठ र मेट्रोन प्रधानले आफ्ना चिनजानका लागि उक्त व्यवस्था मिचिएको भन्दै उनले आवाज उठाएकी थिइन्। यसैगरी उनले अन्यायपूर्ण तरिकाले निकालिएका टेक्निसियन विकास महर्जनका पक्षमा बोलेकी थिइन्। योसँगै लामो समय भोलेन्टिएरका रुपमा काम गरेर अस्पतालले खोलेको ‘भ्याकेन्सी’को लिखितमा पहिलो नम्बरमा नाम निकालेकी नर्स सजना देउलालाई अन्तर्वार्तामा फेल गराइएको थियो। सेवा पनि गरिरहेकी र लिखितमा पनि राम्रो अंक ल्याएकी देउलालाई अन्तर्वार्तामा किन फेल गरियो भन्ने विषयमा उनी बोलेकी थिइन्। त्यसपछि तुरुन्तै अस्पतालले नर्स त्रजिनालाई निस्कासन गरेको पत्र थमाएको थियो। 

अन्याय विरुद्ध बोल्दा आफूमाथि पनि अन्याय भएपछि न्यायका विषयमा उनले स्वास्थ्य मन्त्रालय, नर्सिङ एसोसियसन लगायतमा उजुरी गरेकी थिइन् ।  

कमिटीको सुझाव एउटा, निर्णय अर्को

उक्त विषयमा लामो समयसम्म सुनुवाई नगरेको मन्त्रालयले केही समयअघि छानविन समिति बनाएको थियो। 

स्वास्थ्य मन्त्रालय नर्सिङ शाखा प्रमुख रोशनी लक्ष्मी तुईतुई संयोजकत्वको टोलीले छानविन गरी मन्त्रालयमा सुझाव पेश गरेको थियो। तर उक्त समितिले दिएको सुझाव भन्दा फरक निर्णय तत्कालिन सचिव डा किरण रेग्मीको अध्यक्षतामा बसेको बैठकले गरेको पाइएको छ। 

समितिले मन्त्रालय मातहतका संस्थामा ज्यालादारी र भोलेन्टिएर निरुत्साहित गर्ने तथा अस्पतालमा कार्यरत अनुभवी कर्मचारीलाई अस्थायी र स्थायी गर्ने प्रक्रियामा प्राथमिकता दिने सुझाव दिएको छ। 

उक्त अस्पतालको प्रशासन सञ्चालन गर्ने व्यक्ति अदक्ष रहेको निष्कर्ष निकाल्दै दक्ष एवं अनुभवी कर्मचारीको व्यवस्था हुनुपर्ने सुझाव पनि समितिले दिएको छ। 

तर, त्यही सुझावलाई कार्यान्वयन गर्न मन्त्रालयले लेखेको पत्रमा भने उक्त सुझाव विपरित एउटा बुँदा थपिएको छ। जहाँ एकजना कर्मचारी त्रजिना जतिको नाम उल्लेख छ। जुन अस्पताल प्रशासनको प्रभावमा उल्लेख गरिएको स्पष्ट हुन्छ । 

‘नर्स त्रजिनालाई पुनर्वहाली गर्ने कानुनी व्यवस्था नभएकाले निजले कामकाज गरेको प्रमाणित अवधिको तलब भत्ता र अन्य पाउने भए उपलब्ध गराउने,’  छानविन समितिको सुझाव कार्यान्वयन गर्ने सम्बन्धमा लेखिएको पत्रमा भनिएको छ। 

यसले स्वास्थ्य मन्त्रालयको सचिव स्तरीय निर्णय अस्पतालको समग्र छानविन गरी सुधारका पक्षमा नभइ नर्स त्रजिनालाई भित्रिन नदिन केन्द्रीत भएको देखिन्छ। नर्सका हकहितमा लड्दै आएकी नर्स जीता बराल भन्छिन्, ‘न्यायको अपेक्षा गरेर मन्त्रालयमा उजुरी गरियो । मन्त्रालयले अन्याय गर्नेकै पक्षमा निर्णय गरिदियो । त्यसैले अव देशभरिका नर्स यही आन्दोलनमा केन्द्रीत हुनुपर्ने भयो ।’

प्रवृत्ति विरुद्ध लडाइँ जरुरी

यतिबेला पूरै नर्सहरु एउटा अस्पतालको निर्देशक र नर्सिङ प्रमुख विरुद्ध देखिएका छन्। एन्टिकरप्सन मुभमेन्ट नर्सिङकी अध्यक्ष दिया भण्डारी भन्छिन्, ‘यहाँका साथीहरुले आफूमाथि भएको अन्याय बाहिर ल्याए। अन्यत्र अझै सहेरै बसेका छन्। त्यसैले नर्समाथि दोहोरिने यस्ता प्रवृत्ति विरुद्धको लडाइँ हो यो ।’

यही लडाइँलाई वार वा पार गर्न जागिर समेत छोडेर आइपुगेकी छिन् वरिष्ठ नर्स जीता बराल। उनी भन्छिन्, ‘धेर सह्यौं अब मर्छौं तर सहन्नौं।’

प्रत्यारोपण केन्द्रको यो पहिलो मुद्दा होइन। यसअघि पनि विभिन्न नर्सहरुले आफूमाथि अन्याय भएको भन्दै आवाज उठाएका थिए। स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ कर्मचारीलाई आफ्नो प्रभावमा पार्न सफल अस्पतालका निर्देशक श्रेष्ठ विरुद्ध लड्न नसकेर बाहिरिएका थिए। 

यसअघि निर्देशक श्रेष्ठले नियम विपरित उपकरण खरिद, कर्मचारीको तलबी प्रतिवेदन पारित नगरेको, बिनाप्रतिस्पर्धा कर्मचारी नियुक्ति गरेको जस्ता १० गल्ती महालेखा परीक्षकको कार्यालयले आफ्नो प्रतिवेदनमै उल्लेख गरेको थियो।


यो पनि पढौं :

मानव अंग प्रत्यारोपण केन्द्रले अन्याय गरेको भन्दै यसरी भक्कानिइन् नर्स [भिडियो]

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live