विचार/ब्लग

मानव अंग प्रत्यारोपणकै डाक्टरको खुलासा– अनियमितताको राज खुल्ने डरले निकालिए कर्मचारी र नर्स


स्वास्थ्यखबर डटकममा प्रकाशित नर्स सजना देउलाको रोदनले भरिएको भिडियोमा आँखा अड्किए। साह्रै नरमाइलो लाग्यो। यस घटनाक्रमलाई मैले निकै नजिकबाट नियालेको थिएँ। सो घटनाक्रमका बेला म त्यही अस्पतालमा कार्यरत थिएँ। अस्पताल प्रशासनको कदम गलत छ। मनोमानी, अन्यायपूर्ण र हेपाहा प्रवृत्तिको पराकाष्ठा छ त्यहाँ। अति भएपछि उक्त निन्दनीय प्रवृत्तिविरूद्ध उभिएका त्यहाँका थुप्रै कर्मचारीसँगै पीडितले न्याय पाउनुपर्छ भनेर अवाज उठाउनेमा म पनि एक थिएँ।

आजभन्दा करिब सात महिनाअगाडि न्याय पाऊँ भन्दै स्वास्थ्यमन्त्रीलाई सम्बोधन गरेर तीन वटा खुल्लापत्र लेखिन् नर्स त्रजिना जतिले। करिब १५-१६ दिनको अन्तरालमा ती पत्रहरू विभिन्न शीर्षकमा एउटै उद्देश्य 'न्याय पाऊँ' भन्दै लेखिएका थिए। 

प्रस‌ंग थियो एउटा घटनाक्रम जहाँ अस्पताल प्रशासनका कार्यकारी अधिकृत, प्रशासन प्रमुख र नर्सिङ डाइरेक्टरले आफ्नो दम्भ देखाउँदै मनोमानी ढंगले कर्मचारी भर्ना गराए। जब उनीहरुका गतिविधि गलत छन् भन्ने आवाज उठ्यो। अनेक बाहनाबाजी अघि सार्दै तीन जना कर्मचारी निकालिए। यस घटनाको सुरूवात तब सुरू भयो, जब वर्षौदेखि त्यस अस्पतालमा डायलायसिस टेक्निसियनका रूपमा काम गर्दै आएका विकास महर्जनलाई एक्कासि जागिरबाट निकालियो। महर्जन निकै अनुभवी डायलाइसिसका टेक्निसियन थिए।

कहलिएको फ्रेसनस कम्पनीका डायलायसिस मेसिनमा उनको अनुभव नेपालभरिमा उत्कृष्ट रहेको त्यहीँ कार्यरत टेक्निसियन पटकपटक भन्ने गर्थे। उनी साह्रै भद्र र मिलनसार थिए। कुनै अनुशासन उलंघन, अमर्यादित कार्य गरेकाले उनलाई निकालिएको थिएन। एउटै कारण थियो- अस्पतालमा नयाँ कम्पनीबाट डायलाइसिस मेसिन खरिद गरिँदै थियो- डाएलाइफ कम्पनीको। डाएलाइफका मेसिन खरिद गर्न मध्यस्तता गर्नेले सो मेसिन ८ लाखमा पाइने खुलासा खुलमखुल्ला रूपमै भनेका थिए। तर उक्त मेसिन झन्डै १२ लाखमा खरिद गरिएको कागजात बनाइयो। सो विषयमा महर्जन सचेत थिए। नेपालकै अनुभवी डायलायसिस टेक्निसियन र स्थापनाकालदेखि झन्डै ६ वर्ष काम गरेका महर्जन कुने गल्ती र कमीकमजोरीबिनै निकालिए। उनको करार नवीकरण नगरिएको भन्दै रोजगारी खोसिँदा सबै कर्मचारी आश्चर्यचकित परे। 

यसको सबैभन्दा ठूलो मार डायलायसिस बिरामीले भोग्नुपरर्‍यो। ४० वटा मेसिन रहेको दाबी गर्ने अस्पतालको चालू अवस्थामा रहेका मेसिन १२-१४ वटा थिए। तत्कालै अर्को डाइलायसिस टेक्निसियन ल्याउनुको सट्टा आफ्नै मान्छे भर्ती गरिएको गाइँगुइँ बिरामीबीच चल्यो। मेसिन बिग्रेर थन्किएपछि मर्मत अभावमा चालू मेसिन झन् २४ घन्टा  डायलायसिस चलाइयो। मध्यराति बिरामीको डायलायसिस गर्दा धेरै बिरामीले कष्ट बेहोर्नुपर्‍यो। बिरामीसँगै परिवारका सदस्यले पनि मार खेप्नुपर्‍यो। साथसाथै प्रशासनको यो कमजोरी नेपालकै व्यवस्था यस्तोउस्तो भन्दै ढाकछोप गरियो। राज्यले घोषणा गरेको मिर्गौलापीडितको नि:शुल्क डायलायसिस सेवा अत्यन्तै जटिल बन्दै गयो। बिरामी र बिरामीका परिवारलाई यसको प्रत्यक्ष मार पर्दै गयो। कैयौँ पटक आन्दोलन, धर्ना र स्वास्थ्य मन्त्रालयमा ताकेता गरिरहे तर न्युन साधन रहेको भन्दै अस्पताल प्रशासन पन्छिइरह्यो। 

नयाँ मेशिनपछि समस्या समाधान होला भन्ने सबैको आस ८ वटा मेसिन जोड्दा पनि जस्ताको तस्तै रह्यो। कारण एउटै थियो, मेसिन बनाउने दक्ष टेक्निसियनको अभाव। 

यही सिलसिलामा नर्स भर्ना प्रकरण भयो। झन्डै डेढ वर्ष भोलेन्टिएरका रुपमा सेवा दिएकी नर्स सजना देउलालाई अनुभव र तालिमको कमी भन्दै निकालियो तर तालिम बेगरका आफ्ना नजिकका र राजनीतिक पहुँचका कर्मचारी भर्ती गरियो। स्थापनाकालदेखि नै झन्डै ७ वर्षदेखि काम गर्नुभएकी नर्स त्रजिना जतीलाई यो अन्याय चित्त बुझेन र प्रशासनमा साथीहरू, बिरामी र कर्मचारी लिएर दक्ष डायलायसिस टेक्निसियन विकास महर्जन र नर्स सजना देउलाको विषयमा सवाल उठाइन। सो क्रममा अस्पतालमा एउटा नाटक रचियो। उनीभन्दा जुनियर स्टाफले सबको अगाडि बिनाकारण एक्कासि आएर हात हालिन्। अनि त्यहाँ तनावको सिर्जना गराइयो। यो सब प्रत्यक्ष देखिरहेका सबै कर्मचारीलाई प्रशासनको चालबाजी चित्त बुझेन र सबै कर्मचारी आन्दोलित बने। आश्चर्यमा सबै कर्मचारी तब परे जब उनलाई केही समयलाई निलम्वनको पत्र थमाइयो। अनि बन्दै नबनेको छानबिन कमिटीको सिफारिसमा भन्दै पछि अनुशासन पालना नगरिएको भन्दै नर्स त्रजिना जती, सजना देउला र हातपात गर्ने अर्को एक जना नर्सलाई निष्काशित गरिएको पत्र थमाइयो। 

त्यसपछि सम्पूर्ण मेडिकल अधिकृत, कन्सलटेन्ट डाक्टर, नर्स र बिरामी  सबै यस घटनापछि आन्दोलित भए। ओपिडी पनि बन्द रह्यो। अस्पताल प्रशासनको यस्तो रवैयाप्रति सबै आक्रोशित बने। मिडियाहरू बोलाइए। पीडितहरू सहित सबै कर्मचारी धर्ना बसेको फोटा खिचिए, श्रव्यदृश्य खिचिए, कर्मचारी र पीडित मुद्दा प्रत्यक्ष खिचिए। दुई दिन ओपिडी बन्द गरिएको समाचार बटुलिए तर अचम्म त यस अन्यायविरूद्ध सामान्य समाचारसम्म पनि बनेन। यसको सोधखोज गर्दा बल्ल बुझियो यी समाचाहरू संकलन भएर राष्ट्रिय रूपमा ख्याति कमाएका पत्रपत्रिका र टेलिभिजनका प्रधान कार्यलय पुग्नुअघि नै समाचार प्रसारण नगर्न दबाब आएको र सो समाचार सम्प्रेषण गर्न नसकिएको तितो यथार्थ संवाददाता स्वयंले सुनाए। यद्यपि स्वास्थ खबरपत्रिका र अन्य केही साना अनलाइनमा मात्रै उक्त समाचारले स्थान पायो।

पढ्नुस् यो पनि : मानव अंग प्रत्यारोपण केन्द्रले अन्याय गरेको भन्दै यसरी भक्कानिइन् नर्स [भिडियो]

फेरि वार्ताको निम्ति आह्वान गरियो, वार्ता कमिटीले एक सूत्रीय माग राख्यो अन्यायपूर्ण निष्काशित कर्मचारीको पुनर्बहाली। प्रशासनले केही दिन लाग्ने भन्दै आश्वासन दिलायो।विडम्बना, त्यसपछि अस्पताल प्रशासनले राजनीतिक सहारा लिँदै अन्यायपूर्ण कदमलाई वैध गर्न पूर्ण प्रयत्नमा लाग्यो। कुरै बुझ्दै जाँदा यस घटनासँग थुप्रै विषयहरू भ्रष्टचार र काला कर्तुतहरूको रहस्योद्घाटन खुलासा हुने डरले अस्पताल प्रशासन साम, दाम, दण्ड, भेदसहित दबाउन लागिपरेको रहेछ। 

राज्यको राजनीतिक समस्या, चुनाव, प्राकृतिक प्रकोप, स्वास्थ्य मन्त्रलयमा भएको धर्नाबाजी जुनबेला डाक्टरहरूको आन्दोलन चल्दै थियो र अन्य घटनाक्रमका चेपुवामा न्यायको लागि गरिएको चित्कार, पुकार फितलो बन्यो र अस्पताल प्रशासनले यस घटनालाई दबाउने राम्रो अवसर पायो। यस अन्यायपूर्ण कदमका विरूद्ध समय बित्दै जाँदा अस्पतालमा थुप्रै कर्मचारीलाई एक्लैएक्लै बन्द कोठामा बोलाएर जागिर खाइदिने धम्की दिइयो। 

पीडितहरूले अस्पतालमा हंगामा मच्चाउँदा बिरामीलाई असर पर्ने कुरा ध्यानमा राखी मन्त्रालय र जिल्ला प्रशासनको साहयतामा यस समस्याको समाधान निकाल्न र न्याय माग्दै धाए। पूर्वजानकारी गराएर वार्ताको मिति तय गरिसकेपछि जिल्ला प्रहरी कार्यलय र भक्तपुर जिल्ला प्रशासनबाट स्वयं प्रजिअ पीडितहरूकै अगाडि वार्ताका लागि बोलाउँदा पनि हुँदै नभएको शल्यक्रियामा व्यस्त, मिटिङमा व्यस्त भन्दै विभिन्न बहाना बनाएर आएनन् बरू स्वयं प्रशासनको धज्जी उडाए। प्रजिअले वार्ताको लागि पीडित पक्षकै अगाडि कल गरेर नआउने मात्र आसय दर्शाएनन् बरू उल्टै केही समय बित्न नपाउँदै उहाँलाई थुप्रै राजनीतिक वृत्तबाट कल आएर त्यस घटनालाई निस्तेज पार्न दबाब आएको पीडित पक्षकै अगाडि देखियो। 

प्रजिअले हात जोडेर आफूले भनेको केही सिप नलाग्ने बरू मन्त्रालयमै ताकेता गर्न अनुरोध गरे। त्यसपछि पीडितहरू स्वास्थ्य मन्त्रालयमा हारगुहार गर्न पुगे, स्वास्थ्यमन्त्रीलाई भेट्न समय छुट्टाइयो र झन्डै ८० प्रतिशत कर्मचारीको दस्तखत रहेको उजुरी कागजमा तोक लगाइयो र समय दिइयो।

रमाइलो कुरा त जुन दिन बिरामी पक्षबाट, कर्मचारी र पीडितलाई भेट्न दिने समय थियो त्यस दिन तोक लागेको उजुरीपत्र हराएको भन्दै मन्त्रालयका कर्मचारी पन्छिए।

त्यतिखेर लाग्यो, यो अस्पताल प्रशासनले आफूले गरेका कर्तुतहरू डायलायसिस मेसिन खरिद प्रकरण र मनोमानी ढंगका कर्मचारी नियुक्तिका पर्दाफास सँगसँगै चरम लापरबाही र भ्रष्टचारका मुद्दा पर्दाफास हुने डरले यस घटनालाई हरसम्भव दबाउन लागिपरेछ। यस सम्बन्धमा स्वास्थ्य मन्त्रलय पनि अछुतो रहेनछ भनी बुझियो। पछि पीडितहरू श्रम मन्त्रालय धाए तर सबैतिर अस्पताल प्रशासनले दबाब सिर्जना गरेर यस घटना निस्तेज गर्न लागिपर्‍यो। 

हस्ताक्षर संकलन गरेर उनीहरूले दिएको उजुरीहरू च्यातिदिने, हराएको र फेरि ल्याउनु भन्दै पटकपटक झुलाइयो। तर पीडितले न्याय पाएनन्।

नर्सिङ संघ, मजदुर संगठन लागिपरे तर उनीहरूको केही सिप लागेन। कर्मचारीमा त अस्पताल प्रशासनको कर्तुतविरूद्ध जाने पीडितका बोली त्यतिसम्म त दबाउने क्षमता रहेको उदाहरण दिइयो र 'जसले प्रशासनविरूद्ध बोल्न खोज्छ उसले जागिरबाट हात धोए हुन्छ' भन्ने खालको मनोवैज्ञानिक दबाब सिर्जना गरियो।

सबै थाकिसके पनि आज नर्स ट्रजिना जती र सजना देउला न्यायको लागि हारगुहार गर्दै लडिरहेका छन्। थाहा छैन, तिनले न्याय पाउँछन् कि पाउँदैनन् तर यो सब नजिकबाट नियालेको म जस्तै अन्य मेडिकल अधिकृत, नर्स, बिरामी र अन्य कर्मचारी खुलेरै भन्न सक्छौं कि नर्स सजना देउला र त्रजिना जती विशुद्ध अहिले नर्सिङ पेसाको हक र हितका लागि लड्दैछन्। यिनका जायज मागहरू राज्य र सम्बन्धित निकायले यथासक्दो सम्बोधन गरोस् अन्यथा नेपालको राज्यव्यवस्था, न्यायप्रणालीप्रति यी जस्तै थुप्रैको आस्था टुट्छ। 

समस्या केही व्यक्तिलाई अन्याय भएको मात्र होइन। समस्या आज नर्सिङ पढेका दक्ष जनशक्ति विदेश भासिने कारण र कारकतत्व पहिचानको हो। अस्पतालमा हुने यस्ता खालका समस्यासँगै न्युन पारिश्रमिक, प्रशासनको दादागिरी, मनोमानी, राजनीतिक चलखेल, रोजगारीको ग्यारेन्टी र सुरक्षा नहुने र वर्षौ भोलेन्टिएर गराएर गरिने चरम श्रम शोषण, कर्मचारीप्रति अपमान, पाइने सेवा सुविधाबाट वञ्चित गराइने, हक र अधिकारका लड्दा आफ्नै पेसाका सिनियरहरूबाट अपमान खेप्नुपर्ने भएकाले नै आज थुप्रै नर्स र साथसाथै अन्य क्षेत्रका कर्मठ युवाहरू विदेश भासिन हातमा पासपोर्ट लिएर विभिन्न राष्ट्रको राजदूतावासको ढोकामा उभिएका छन्।

यदि राज्यमा विद्यमान असली समस्याको पहिचान गरेर सही सम्बोधन नहुने हो भने जतिसुकै राज्यसत्ताको नेतृत्व परिवर्तनले केही अर्थ राख्नेछैन।

(घटनाको समय सोही अस्पतालमा मेडिकल अफिसरका रुपमा कार्यरत डा. गेलाल अहिले उक्त अस्पतालबाट बाहिरिइसकेका छन्।)

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने