फिचर

कर्मचारी आन्दोलनले १८ दिनदेखि किस्ट मेडिकल कलेज बन्द, व्यवस्थापन पक्ष सम्पर्कविहीन


ललितपुर- आइतबार किस्ट मेडिकल कलेज बन्द भएको १७औं दिन थियो। बिहान ९ बजे पुग्दा अस्पताल सुनसान थियो। अस्पताललाई दुई जना प्रहरी र एक जना सेक्युरिटी गार्डले पहरा दिइरहेका थिए।

हामी अस्पताल परिसरभित्र प्रवेश गर्यौं। दुई नौला मान्छे गेटभित्र पसेको देखेर सुरक्षा गार्डले सोधे, कसलाई खोज्नुभएको?’ हामीले इमर्जेन्सीतिर औंला सोझ्यायौं। उनले रोकेनन्। इमर्जेन्सीको ढोका त खुला थियो, तर कुनै चहलपहल थिएन। तीन जना युवती (सायद नर्स) नर्सिङ स्टेसनमा गफिइरहेका थिए। केही थाहा नभए जस्तोगरी सोध्यौं– अस्पताल बन्द छ हो?

उनीहरुले ‘हो’ को संकेतमा टाउको हल्लाए। एकजना बोलिन्, ‘अस्पताल त बन्द छ तर निकै दुखाइ भएर आएकालाई इमर्जेन्सीमा हामी नदुख्नेसम्म बनाएर रिफर गर्न सक्छौं।’

इमर्जेन्सीका नर्सले आफ्नो कर्तव्य बन्दका बीच पनि पूरा गरिरहेका रहेछन्। उनीहरुलाई ड्युटी गर्न अनिवार्य छैन। तर, विगत १७ दिनदेखि सबै सेवा बन्द हुँदा पनि उनीहरु आपत परेर आउनेलाई ‘म्यानेज’ गरेर अर्को अस्पताल रिफर गरिरहेका छन्। 

साढे ९ बजेपछि अस्पतालमा कर्मचारी आउने क्रम बढ्यो। १० बजुन्जेल १ सयभन्दा बढी कर्मचारी आइपुगिसकेका थिए। अस्पतालको दक्षिणपट्टीको कुरुवा बस्ने ठाउँमा राखिएको हाजिरी रजिस्टरमा सही गर्दै उनीहरु कोही घाम ताप्न थाले, कोही गफ चुट्न।

हामी यी दृश्य अवलोकन गरिरहेका थियौं। एकजना महिलालाई अपरिचित मान्छे लागेछ। नजिकै आएर सोधिन्, ‘कसैलाई खोज्नुभएको हो?’

हामीले अस्पतालमा आन्दोलन गरिरहेका कर्मचारीका नेतालाई भेट्न खोजेको बतायौं। उनले एकजना कोटधारीतिर संकेत गर्दै भनिन्, ‘उहाँ सबैभन्दा सिनियर कर्मचारी हो, उहाँलाई सबै थाहा छ।’

उनी थिए मोहन घिमिरे। किस्ट अस्पतालमा जारी आन्दोलनको नेतृत्व गरिरहेका मध्ये एक जना उनी नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका केन्द्रीय सदस्य हुन्। हामीलाई ‘अस्पताल किन बन्द गर्नुभएको?’ भनेर सोध्नु थिएन। किनभने अस्पतालको गेटदेखि भित्तासम्म माग टाँसिएका थिए र ती हामीले पहिल्यै पढिसकेका थियौं। 

हामीले सोध्यौं, ‘कहिले खुल्छ अस्पताल?’ 

उनले अनविज्ञता प्रकट गर्दै भने, ‘हामी खोल्ने प्रयास गरिरहेका छौं।’

‘बन्द गर्नेले पनि खोल्ने प्रयास गर्छ कहीँ?’ हामीले प्रतिप्रश्न गर्यौं।

उनले भने, ‘बन्द होस् भन्ने चाहना हाम्रो होइन। हामीले त हाम्रो नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनको नियम अनुसार सेवा सुविधा अध्यावधिक गर्न माग गरेका हौं। २ वर्षमा पनि सेवासुविधा नबढे आफ्ना माग राखेर बढाउन दबाब दिने हाम्रो नियममै छ।’

उनले दुःख सुनाए, ‘हामीले २०७२ सालमै माग राख्नुपर्ने थियो। भूकम्प गयो। मेडिकल कलेज र अस्पताल पनि राम्ररी चलिरहेको छैन भनेर चित्त बुझायौं। फेरि २ वर्षपछि स्वभाविक रुपमा माग राख्यौं। तर, व्यवस्थापनले सुनिदिएन। हामीले माग राखेर धर्ना बस्न मात्रै खोजेका थियौं। व्यवस्थापन पक्ष आफैंले सबैतिर ताला लगाएर हिँड्यो।’

आन्दोलनरत कर्मचारीको भनाइ

यसबीचमा व्यवस्थाप पक्षसँग सहमतिका लागि भएका पहलबारे आन्दोलनरत कर्मचारीका पक्षबाट वार्ता कमिटी संयोजक उमेश बर्तौलालाई सोध्यौं। उनले व्यवस्थान र अस्पताल प्रशासन सम्पर्कविहीन रहेको बताए। 

उनले भने, ‘उताबाट सम्पर्क नगर्ने मात्रै होइन। सम्पर्क गर्दा फोन समेत उठ्दैन। हामी श्रम विभाग पुगेर वार्ताका लागि पहल गरिदिन भनिरहेका छौं।’ 

कर्मचारीको एउटै स्वर थियो, ‘महँगी दिनदिनै बढिरहेको छ। २ वर्षमा एकपल्ट सेवासुवधा थप गर्न माग गर्दा पनि बेवास्ता गरियो।’

आन्दोलनरत कर्मचारीहरुको मागको पहिलो बुँदा छ, खाइपाई आएको तलबमा ८ हजार रुपैयाँका दरले वृद्धि गरियोस्। यस्तै, कर्मचारी कल्याणकारी कोष फिर्ता, कर्मचारीलाई उपचारमा शतप्रतिशत र परिवारलाई ९० प्रतिशत छुट, गाडीभाडा बापत १५ सय रुपैयाँ भत्ता, बढुवा, बिदा, अवकाश लगायतका विषयसँग जोडिएका १५ बुँदे माग कर्मचारीको छ। 

हामीले मागका धेरै बुँदा देखेपछि बर्तौलालाई सोध्यौं, ‘यति धेरै माग राखेपछि व्यवस्थापन हच्किएको हो कि?’

उनले निरास हुँदै भने, ‘वार्ताको टेबलमा आए त कुरा मिल्दै जान्थ्यो होला, वार्ता गर्नै चाहँदैनन्। कोसँग वार्ता गर्ने अब? खोज्दै हिँड्नुपर्ने भइसक्यो।’

घरपायकको अस्पताल बन्द हुँदा स्थानीयलाई पनि समस्या परेको छ। स्थानीय तहका नेताहरुले पनि अस्पताल सञ्चालकसँग समस्या समाधानका लागि पहल गरेको बर्तौलाले बताए। 

१७ दिनसम्म बन्द हुँदा पनि सञ्चालक नतातेपछि कर्मचारी र स्थानीयबीच अनेक हल्ला फैलिएका छन्। 

–    मेडिकल कलेज व्यवस्थापनभित्र यसलाई बन्द गराउने ‘भाइरस’ पसेको छ। यसलाई तहसनहस बनाउने र सञ्चालक उठ्नै नसक्ने गरी घाटामा गएपछि ‘कौडी’को भाउमा किनेर आफू चलाउने प्रपञ्च रचिँदैछ।

–    पहिलेदेखि नै अस्पताल घाटामा चलिरहेको थियो। एमबिबिएसको १ सय ५० सिट पाउने र मनलाग्दी शुल्क लिँदासम्म धानिएको थियो। तर, पछिल्लो समय झन् घाटामा गएपछि वाध्य भएर बन्द गर्ने बहाना खोजिएको छ।

–    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख लोकमानसिंह कार्कीका भाइ (बालमानसिंह कार्की) सञ्चालक हुन्। आयुक्त कार्कीको ‘पावर’ले मेडिकल कलेज चलेको थियो। उनी पावरविहीन भएपछि मेडिकल कलेजको अवस्था पनि बिग्रिँदै गयो।

–    आन्दोलनको बहानामा कर्मचारी घटाउने तयारी गर्दैछ व्यवस्थापन। आदि।

अस्पतालमा कार्यरत डाक्टरहरु पनि आन्दोलन सुरु हुनासाथ एकाएक अस्पताल पूरै बन्द भएको घटनाले चकित छन्। उनीहरुलाई अस्पताल प्रशासनले फोनमार्फत ‘अर्को सूचना जारी नभएसम्म नआउनू’मात्रै भनेको छ।

मेडिकल कलेजको व्यवस्थपान पक्ष भने सम्पर्कविहीन छ। न आन्दोलनरत कर्मचारीसँग वार्ता गर्न सम्पर्क गरिरहेको छ, न यसबारे बुझ्न खोज्ने सञ्चारकर्मीसँगै सम्पर्कमा आउन चाहन्छ। 

किस्ट अस्पतालको यो अस्तव्यवस्तताले उक्त मेडिकल कलेजमा अध्ययनरत ५ सयभन्दा बढी विद्यार्थी, डाक्टर, नर्स र कर्मचारीको भविष्य अन्यौलमा परेको छ। 

उनीहरुको चिन्ता छ, कतै किस्ट मेडिकल कलेज पनि एक समयको जानकी मेडिकल कलेजकै बाटोमा त गइरहेको छैन?

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने