मुख्य समाचार

त्रिविका कारण रोकियो एमबिबिएस भर्ना, मेडिकल कलेजको सिट थप्न उपकुलपतिको दबाब

None

काठमाडौं-

काठमाडौं– चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)मा स्नातक तहका अन्य १० विषयको पुष १३ गतेदेखि पढाइ नै सुरु भइसकेको छ । तर, सोही तहको एमबिबिएसको भर्ना प्रक्रिया नै थालिएको छैन। 

त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँका कारण एमबिबिएसको प्रवेश परीक्षाको नतिजा सार्वजनिक भएको महिना बित्दा पनि भर्ना सुरु नभएको हो। आइओएमले आफू अन्तर्गतका विभिन्न मेडिकल कलेजको एमबिबिएस कोटा निर्धारण गरेर पठाएपनि उपकुलपति खनियाँले रोकेर राखेका छन् ।मेडिकल काउन्सिलले कोटा निर्धारण गरेकै २ महिना नाघिसकेको छ।

त्रिविले एमबिबिएस कोटा अनुमोदन गरेर पठाउनुपर्नेमा केही मेडिकल कलेजको प्रभावमा उपकुलपतिले रोकेर राखेको स्रोतले बताएको छ। ‘आइओएमले निर्धारण गरेर पठाएको कोटा केही मेडिकल कलेजका सञ्चालकलाई मन परेको छैन। उनीहरुले त्रिविमा चलखेल गरेका छन् । उनीहरुकै प्रभावमा उपकुलपति खनियाँले रोकेर राखेका छन्,’ स्रोतले भन्यो।

त्रिविले अनुमोदन गर्न ढिलाई गरेपछि आइओएमका डिन डा जगदीश प्रसाद अग्रवालले भने केही दिन बिदा लिएका छन् । त्रिविबाट घुमाउरो ढंगले कोटा बढाउन दबाब आएपछि उनी बिदामा बसेको बुझिएको छ । डिनको पद सम्हालेदेखि नै बढी दौडधुप रहेकाले केही दिन आराम गर्न  भन्दै उनी ‘सम्पर्क विहीन’ भएर बसेका छन्। 

एमबिबिएसको भर्ना प्रक्रियामा भइरहेको ढिलाइ बारे आइओएमका डिन डा राजेन्द्र गुरागाईंसँग बुझ्दा आफूले त्रिविबाट कोटा अनुमोदन हुन केही दिन लाग्ने जानकारी पाएको बताए। उनले भने, ‘आइओएमको विद्या परिषदबाट कलेजलाई कति सिट दिने भनेर निर्णय गरी पठाइसकेका छौं । अनुमोदन हुन केही दिन लाग्ने जानकारी पाएका  छौं । अरु कारण थाहा छैन।’

नेपाल मेडिकल काउन्सिलले गरेको निर्णय र आइओएमले निर्धारण गरेको मापदण्डमा टेकेर कोटा निर्धारण गरी त्रिविमा पठाउने गरिन्छ। त्रिविले सिट अनुमोदन गरेपछि त्यही अनुसार भर्ना प्रक्रिया आरम्भ हुन्छ ।

भर्ना प्रक्रिया सुरु नभएपछि प्रवेश परीक्षामा उत्तिर्ण विद्यार्थीहरु अन्योलमा परेका छन् । आइओएममा दैनिक विद्यार्थी पुग्ने, इमेल लेख्ने र फोन गर्ने गरिरहेका छन् । सहायक डिन डा गुरागाईंले विद्यार्थीले आफूलाई दैनिक १० भन्दा बढी फोन र त्यस्तै इमेल गर्ने गरेको बताए । 

आइओएमले एमबिबिएसमा महाराजगञ्ज मेडिकल कलेजको ७६, किष्ट मेडिकल कलेज ललितपुरको ९०, गण्डकी मेडिकल कलेज पोखराको ९०, नेशनल मेडिकल कलेज वीरगञ्जको ९०, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको १००, चितवन मेडिकल कलेजको ९०, युनिभर्सले मेडिकल कलेज भैरहवाको १०० र जानकी मेडिकल कलेज जनकपुरको ८० सिट निर्धारण गरी त्रिविमा पठाएको छ। 


 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने