नर्सिङ

नर्सहरु, यतिबेला बोलेनौं भने कहिले बोल्ने, अब पनि लडेनौं भने कहिले लड्ने?

None

काठमाडौं-

हामीले नर्सिङ क्षेत्र रोज्यौं। किनकि फ्लोरेन्स नाइटिंगलबाट प्रभावित भयौं। जसले युद्धको अँध्यारोमा पनि सेवाको उज्यालो छरिन्। त्यो बाटो पछ्याइरहँदा हामीले कहिल्यै आफ्नो लागि सोचेनौं। बिरामीको दुखाइमा मल्हम लगाइरह्यौं। 

बिरामीका घाउ सन्चो बनाउन जुटिरहँदा पछिल्लो समय परिस्थितिले हाम्रै मनमा गहिरो घाउ बनाउन थालेको छ। अन्याय, विभेद र श्रम शोषणले बनाएका घाउ अब दुख्ने मात्रै होइन, चहर्‍याउन थालेका छन्। तैपनि हामी सहनशील बनिरहेका छौं।

साथी हो, वर्षौंदेखि हामीभित्र रहेको धैर्यको बाँध तोड्ने बेला आएको छ। किनकि अब पेशाको लागि लड्ने बेला आएको छ। मर्यादाको लागि लड्ने बेला आएको छ । समग्रमा नेपालको नर्सिङ पेशाको इतिहास कोर्न जुट्ने बेला आएको छ। यो लडाइँ त्यसरी लडौं, इतिहासको कोसेढुंगा साबित होस्।

सबैलाई थाहा छ, यतिबेला हामी मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरबाट बिनासूचना निष्कासित नर्सहरु त्रजिना जति, सजना देउला लगायतको न्यायका लागि लडिरहेका छौं। धेरैलाई यो विषय एउटा अस्पताल र त्यहाँका केही नर्सको विषय लागिरहेको होला। तर, एकचोटि आफ्नै अवस्थालाई नियाल्नुस् त। तपाईंको कार्यक्षेत्रमा तपाईं सुरक्षित हुनुहुन्छ? तपाईंले पाउनुपर्ने जति पारिश्रमिक पाइरहनुभएको छ? आफ्नो पेशामा निर्धक्क रमाउन सक्ने वातावरण छ?

यी प्रश्नको जवाफ सोच्दा सायद तपाईंले सकारात्मक पाउनुभएन होला।

मानव अंग प्रत्यारोपण केन्द्रको स्थापनाकालदेखि नै सेवा दिइरहेकी नर्स त्रजिना जतिलाई अस्पताल प्रशासनले गत साउनमा एकाएक निष्कासन पत्र थमायो। उनलाई निष्कासन गर्नुको कारण थियो, त्यसअघि अन्यायपूर्ण तरिकाले निकालिएका नर्सहरुको पक्षमा बोल्नु।

सहकर्मीमाथि भएको अन्याय देख्न नसकेकी त्रजिना अहिले आफैं अन्यायमा परेकी छन्। अन्याय विरुद्ध निरन्तर लड्न थालेको ७ महिना पुगिसकेको छ। उनले तत्कालीन स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेललाई पत्र लेखिन्। उनीमाथि अन्याय भएको देखेका अस्पतालका डाक्टर, नर्स र कर्मचारी गरी ९१ जनाको हस्ताक्षर संकलन गरेर स्वास्थ्य मन्त्रालय बुझाइयो। भक्तपुर जिल्ला प्रशासनलाई गुहारे। कहीँबाट न्याय पाउने छाँटकाँट नदेखेपछि नर्सहरुकै छाता संगठन नेपाल नर्सिङ एसोसिएसन (नान)मा उजुरी गरिन्। नर्सिङ र स्वास्थ्य क्षेत्रका अन्य संघसंस्थालाई गुहारिन्। ७ महिनादेखि जुधिरहँदा न्याय नपाए पनि उनले हार मानेकी छैनन्।

यो लडाइँमा यतिबेला हामी जोडिएका छौं। नान जोडिएको छ, युवा नर्सहरुको एसोसिएसन जोडिएको छ, एन्टिकरप्सन मुभमेन्ट नर्सिङ जोडिएको छ र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन जोडिएको छ। किनभने अब योे त्रजिना एक्लैको लडाइँ रहेन। मानव अंग प्रत्यारोपण केन्द्र वा उनीमाथि अन्याय गर्ने निर्देशक डा पुकारचन्द्र श्रेष्ठ विरुद्धको लडाइँ रहेन। यो त नर्सलाई हेप्ने, कमजोर ठान्ने र उनीहरुको सहनशीलता र धैर्यको फाइदा उठाउने प्रवृत्ति विरुद्धको लडाइँ भइसक्यो।

हामी नर्समाथि कहाँ विभेद छैन? अस्पतालको आँगनदेखि नीति निर्माणको टेबलसम्म ‘दोस्रो दर्जा’को व्यवहार हुन्छ। यसको उदाहरण स्वास्थ्य मन्त्रालयमा हेरे काफी हुन्छ। त्यहाँ चिकित्सकहरुका कुरा सुन्न चिकित्सा महाशाखा छ, तर नर्सका समस्या सुन्ने महाशाखा छैन। आवाज उठाउँदा पनि सुनुवाइ भएन। 

समग्र चिकित्सा शिक्षा सुधारका लागि माथेमा आयोग बन्यो। तर, नर्सको प्रतिनिधित्व जरुरी ठानिएन। चिकित्सा शिक्षा ऐन बन्यो, नर्सिङ शिक्षा समेटिएन। डाक्टरका लागि पोस्ट ग्य्राजुएट शिक्षा निःशुल्क बन्यो, तर नर्सले पैसा तिरेरै पढ्नुपरिरहेको छ।

स्वास्थ्य क्षेत्र सुधारका लागि विभिन्न उच्चस्तरीय समिति बन्छन्। तर, स्वास्थ्यकै महत्वपूर्ण पाटो नर्सिङबाट प्रतिनिधित्व जरुरी ठानिँदैन। नेपालमै स्नाकोत्तर तहको नर्सिङ शिक्षा सुरु भइसक्यो। तर, त्यो अनुसारको पद अस्पतालहरुले सिर्जना गरेका छैनन्। बिरामीको चापसँगै अस्पतालमा बेड संख्या थपिन्छन्, नयाँ उपचार सेवा थालिन्छन्, डाक्टरको दरबन्दी बढाइन्छ, अन्य टेक्निसियनको पद सिर्जना हुन्छन्। तर, नर्सिङ क्षेत्रतिर ध्यान दिइँदैन।

नर्सिङ क्षेत्रमा लैंगिक विभेद र हिंसाका घटना पनि बढिरहेका छन्। महिला मात्रै कार्यरत रहेकाले समग्र पेसा नै लैंगिक विभेदमा परेको देखिन्छ।

अहिले संघीय संरचना अनुसारको स्वास्थ्य प्रणाली निर्माण गर्दा पनि नर्सहरुमाथि विभेद भएको छ। स्वास्थ्य क्षेत्रका हरेक विधालाई समेटेर स्वास्थ्य मन्त्रालयमा आठ वटा महाशाखा राख्ने निर्णय भयो। तर, लामो समयदेखि स्वास्थ्य मन्त्रालयमा नर्सिङ महाशाखा हुनुपर्ने आवाज उठाइरहेका हाम्रो माग भने सुनुवाइ भएन।

त्यसैले हाल अन्यायमा रहेका साथीहरुका लागि मात्रै होइन, हामी नर्सिङ पेशामा रहेका सबैको भविष्यका लागि लड्ने समय आएको छ। हामी कम छैनौं, ७० हजार जना छौं। हामी कमजोर छैनौं, अन्याय विरुद्ध जुन हदसम्म पनि उत्रिन सक्छौं भन्ने देखाउन लड्नुपर्नेछ। 

यसका लागि यतिबेला नेपाल नर्सिङ संघले चालेको कदममा हामीले कदम मिलाएर अघि बढ्न जरुरी देखिन्छ। आउनुस्, आफ्नो पेशाका लागि जुटौं। न्याय र अधिकार प्राप्तिमा डटेर आफ्नो पेशाको मर्यादा स्थापित गरौं! 

(महाराजगन्ज नर्सिङ क्याम्पसकी स्ववियु अध्यक्ष धमला नर्सिङ क्षेत्रका विकृति विरुद्धकी अभियन्ता हुन्।)

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने