टिप्स/जानकारी

शरीरमा पानी रोक्ने क्षमतामा कम हुने ‘हाइपोनेट्रिमिया’ गराउने एउटा यस्तो कारण


एजेन्सी : सामान्यतया डाक्टरले अधिकांश बिरामीहरूलाई धेरै पानी वा अन्य तरल पदार्थ पिउन सल्लाह दिने गर्छन् । तर एक जना ५९ बर्षीया बेलायती महिलालाई भने हतारमा र थोरै समयमा धेरै पानी पिउनु खतरनाक हुन पुग्यो।

ती महिलाको पिसाबमा संक्रमण भएपछि हतारहतारमा त्यसबाट छुटकारा पाउने धुनमा धेरै पानी पिउँदा उनलाई हाइपोनेट्रिमिया भयो । रगतमा सोडियम (नुन) को मात्रा अत्यन्त न्यून भएर कोषको पानी रोक्ने क्षमता न्यून हुने अवस्थालाई हाइपोनेट्रिमिया भनिन्छ।

सोडियम हाम्रो शरीरको लागि अत्यन्त महत्वपूर्ण छ । किनभने यसको आवश्यक मात्राभन्दा बढी वा कम दुवै स्थिति स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

सोडियमले मस्तिष्क सतर्क राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ भने रगतमा सोडियमको स्तर कम भयो भने मस्तिष्कघात हुन सक्छ । यसैगरी शरीरमा सोडियमको मात्रा बढी भयो भने उच्च रक्तचाप हुने जोखिम बढ्छ ।

मेडिकल जर्नल बिएमजे केस रिपोर्टले सामान्यतया कुनै पनि स्वस्थ्य व्यक्तिलाई हाइपोनेट्रिमिया हुनु असामान्य भएको उल्लेख गरेको छ ।

रिपोर्टका अनुसार बिरामीले आवश्यकताभन्दा बढी पानी वा तरल पदार्थ पिउनेबारे डाक्टरसँग सल्लाह गर्नु आवश्यक छ । यति मात्र होइन यसबारेमा अर्थात धेरै पानी वा तरल पदार्थ पिउनेसम्बन्धमा अत्यन्त न्यून संख्यामा मात्र अध्ययन अनुसन्धान भएका छन् । त्यसमाथि धेरै पानी पिउँदा हुने फाइदा र हानिबारे त अझै न्यून अध्ययन भएका छन् ।

डाक्टरहरूले यसबारे निरन्तर पानी पिउनु स्वास्थ्यका लागि महत्वपूर्ण भए पनि एकैपल्टमा धेरै पानी पिउन भने सावधान हुनुपर्ने बताएका छन्।

अझ अत्यधिक पसिना आइरहेको छ वा ज्वरो आएको छ भने डाक्टरले पनि धेरै पानी पिउने सल्लाह वा निर्देशन दिन सावधान हुनु आवश्यक छ।

यहाँ उल्लेख गरिएकी महिलालाई त्यसपछि लन्डनस्थित ए एन्ड ई अस्पतालमा उपचारका लागि भर्ना गरियो । उनको मेडिकल रिपोर्टमा उल्लेख भए अनुसार पानी पिएको एकैछिनमा उनी ढलमलाउन लागिन् । उनलाई बोल्न समस्या भयो र कैयौंपल्ट बान्ता गरिन्।

‘मलाई राम्रो सम्झना छ कि मेरो हात कामिरहेको थियो र म चकित थिएँ किन हात काम्न रोकिँदैन’, ती बिरामीले भनिन्, ‘त्यसपछि मात्र मैले आफ्नो जीउ नै कामिरहेको अनुभूति गरें । अनि भने म निकै अत्तालिएँ।’

आफूलाई मस्तिष्कघात भएको उनलाई लाग्यो र उनी यति धेरै आत्तिइन् कि उनले आफ्ना भावना तथा विचार व्यक्त गर्न सकिरहेकी थिइनन् र आफूमाथि नियन्त्रण गर्न पनि सकिरहेकी थिइनन्।

उनले डाक्टरलाई आफूले अर्को डाक्टरको सल्लाहअनुसार नै केही घन्टाभित्र कैयौं लिटर पानी पिएको बताइन् । त्यसपछि ती डाक्टरले २४ घन्टासम्मका लागि उनलाई पानी पिउन रोके । यसको केही घन्टापछि मात्र उनको स्थितिमा सुधार भयो । तर पनि उनलाई पूर्ण रुपमा सामान्य हुन एक साता लाग्यो।

एउटा यस्तै अर्को मामिलामा ग्यास्ट्रोइन्टराइटिसका एक बिरामीले हाइपोनेट्रिमियाका कारण आफ्नो ज्यानै गुमाउनु पर्‍यो।

‘पानी पिउन सल्लाह दिनु गलत होइन र बिरामीको बेडछेउ पर्याप्त पानी हुनु पनि पर्छ’, लन्डनस्थित किङस कलेजका प्रोफेसर एमेरिटस टम स्यान्डर्स भन्छन्, ‘र उनीहरूलाई पानी पिउन प्रोत्साहित पनि गर्नु पर्छ।’

बेलफास्टस्थित क्विन्स युनिभर्सिटीका प्रोफेसर ग्रामले महिलाको केसबाट डाक्टरहरूले बिरामीलाई सल्लाह दिँदा सावधानीपूर्वक दिनुपर्ने साथै बिरामीको विस्तृत विवरण हेरेर मात्र पानी पिउने सल्लाह दिनुपर्ने बताए । बिरामीलाई डाक्टरले कुन कुन स्थितिमा कति पानी पिउने प्रष्ट बताउनु पर्ने पनि उनको भनाइ थियो।

ब्रिटिस न्युट्रिसन फाउन्डेसनका अनुसार भोजनबाटै हामीले करिब २० प्रतिशत पानी पाउँछौं । महिलाले दैनिक १६ सय मिलिलिटर (१ दशमलव ६ लिटर) र पुरुषले २ लिटर पानी पिउनु पर्छ । हामीले आवश्यक मात्रामा पानी पिए पिसाबको रंग हलुका पहेंलो हुन्छ । पिसाबको रंग गाढा पहेंलो भए हामीले पिउने पानीको मात्रा बढाउन आवश्यक छ भनेर बुझ्नु पर्छ।
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने