विचार/ब्लग

मानव अंग प्रत्यारोपण केन्द्रकी नर्स भन्छिन्– ‘मैले गर्दा बिरामी मरेको’ भनेर लेख्नसम्म दबाब दिए (भिडियो)

None

काठमाडौं-

मैले २०७२ सालदेखि मानव अंग प्रत्यारोण केन्द्रमा काम गरिरहेकी छु। १८ महिना भोलिन्टियरका रुपमा काम गरें। केही महिनादेखि सेसन बेस्ड (ज्यालादारी) मा काम गरिरहेकी छु। सेसन बेस्डमा काम गर्दा सुरुका केही महिना सातै दिन ड्युटी गर्नुपर्थ्यो। कुनै दिन बिदा बस्न पाइन्नथ्यो। तर, पारिश्रमिक भने ४ दिनको मात्रै पाइन्थ्यो।

एकपल्ट नेपाल नर्सिङ संघको भेलामा मैले यो कुरा उठाएँ। त्यसपछि संघका म्यामहरुले हाम्रो अस्पतालमा कुरा गर्नुभएछ। भोलिपल्टै मलाई प्रशासनमा बोलाएर थर्काइयो– खूब भाषण छाँटेर आएछौ त?’ भन्दै। मैले भएको कुरा भनेकी थिएँ। त्यसपछि भने हप्तामा ४ दिनको पारिश्रमिक पाउने र ४ दिन मात्रै काम गरे हुने भयो।

प्रायः ड्युटीमा एक्लै पारिन्थ्यो। एकपल्ट प्रि–ट्रान्सप्लान्ट वार्डमा म एक्लै नाइट ड्युटीमा थिएँ। १६ जना बिरामी थिए। त्यसमध्ये एकजना वृद्ध बिरामी हुनुहुन्थ्यो। उहाँमा मानसिक समस्या पनि थियो। उहाँका दुई जना कुरुवा थिए। निरन्तर एक्लो खटाइले थाकेपछि राति १२ बजे म एकछिनका लागि आराम गर्न गएँ। भक्तपुरकै स्थानीय हुनुहुन्थ्यो। आराम गर्न जानुअघि उहाँका कुरुवालाई राम्रोसँग सम्झाएँ।

बिरामीले बेला–बेला ‘घाँटीको पाइप निकालिदिन्छु’ भनिरहनुहुन्थ्यो। उहाँमा मानसिक समस्या थियो। त्यसैले कुरुवालाई राम्ररी हेरेर बस्नुहोला र केही पर्‍यो भने बोलाउनुहोला भनेर म आराम गर्न गएँ। म आराम गरिरहेका बेला उहाँले घाँटीको पाइप निकाल्नुभएछ। पछि उहाँको मृत्यु भयो।

भोलिपल्ट त प्रशासनमा बोलाएर एउटा निवेदन लेख्न भनियो। उहाँहरुको भनाइ अनुसार ‘बिरामी मैले गर्दा मरेको हो र यसको दोषी म हुँ’ लेख्नुपर्ने थियो। मैले दिएको जिम्मेवारी पूरा गरेकी थिएँ। संयोगले लगातारको एक्लो ड्युटीले थाकेर आराम गर्न लागेका बेला बिरामीले घाँटीको पाइप झिकेछन्। जसको जिम्मेवारी मैले कसरी लिने? नर्सका रुपमा म मात्रै भए पनि त्यहाँ त वार्ड इन्चार्ज पनि हुन्छन्। मैले लेख्न मानिनँ। मेरो ड्युटीको समयमा मृत्यु भएको पहिलो बिरामी भएकाले उहाँले सोचेजस्तो ‘नोट’ लेखिनँ। मेरो गल्ती त्यत्ति थियो। 

उहाँहरुले त ‘तुरुन्तै कागज ल्याउ यसले अहिल्यै लेख्छे’ भनेर दबाब दिनुभयो। त्यससँगै अर्को एउटा निवेदन पनि तुरुन्तै लेख्न भनियो– ‘म यो अस्पतालमा आफूखुसी काम गर्न आएकी हुँ’ भन्ने आशय झल्किने गरी। त्यसपछि मलाई शंका लाग्यो। मैले इन्कार गरें। 

अस्पतालले खोलेको भ्याकेन्सीमा मैले पनि एप्लाई गरेकी थिएँ। परीक्षा हुने दिनको सार्वजनिक सूचना गर्नुपर्नेमा प्रशासनले मन लागेको मान्छेलाई आफैं फोन गरेर बोलाउँथ्यो। अरुलाई फोन आएछ। परीक्षा पनि दिएछन्। तर, मैले जानकारी नै पाइनँ। जब म ड्युटीमा आएँ, सिनियर दिदिले ‘परीक्षा कस्तो भयो?’ भनेर सोध्नुभयो। म चकित परें। 

आफूमाथि भएको यो अन्यायका विषयमा फेरि मैले नर्सिङ संघमा कुरा गरें। उहाँहरुले प्रशासनतिर कुरा गर्नुभएछ। त्यसपछि एकदिन मलाई भनियो– ‘तिम्रा लागि मात्रै भ्याकेन्सी खोलेको छ। गएर फर्म भरिहाल।’ मलाई अचम्म लाग्यो– किन मेरा लागि मात्रै खोलियो भनेर।

मैले अस्वीकार गरें। मैले भनें, ‘मैले त्यत्रो पैसा तिरेर फर्म भर्दा परीक्षा दिनबाट वञ्चित गरियो। अब म एक्लै परीक्षा दिन्नँ।’ यो त गलत प्रवृत्ति विरुद्ध मैले उठाएको आवाज दबाउन चलिएको चाल थियो।

ममाथि मात्रै अन्याय भएको भए पो एक्लै परीक्षा दिनु। अरु साथी र दिदीहरुमाथि पनि भएको छ। त्यसैले मैले नियम विपरीत मेरै लागि निकालिएको भ्याकेन्सीमा फर्म भरिनँ। भनें, ‘म पनि दिदीहरुसँगै अब लडाइँ लड्छु। अन्याय सहन्न।’

प्रस्तुतः डिबी खड्का

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने