विश्व स्वास्थ्य

कृत्रिम हातबाट स्पर्श अनुभव

None

काठमाडौं-

एजेन्सी– रोमका वैज्ञानिकहरूले पहिलोपल्ट प्रयोगशाला बाहिर लगाउन सकिने र हातले गरेको स्पर्शको अनुभूति गर्न सकिने  बायोनिक (कृत्रिम हात) निर्माण र जडान गरेका छन्। 

वैज्ञानिकहरूले उक्त बायोनिक हात एउटी महिला अल्मेरिना मास्कारेलोको शरीरमा जडान गरेका छन्। उनले करिब २५ वर्षअघि दुर्घटनामा देब्रे हात गुमाएकी थिइन्। 

बायोनिक हातले कुनै वस्तु छुँदा आफूले स्पर्शको अनुभूति गरेको उनले बताइन्। उनले भनिन्, ‘मैले फेरि हात पाएको अनुभव गरिरहेकी छु।’

वैज्ञानिकहरूको समूहले नै सन् २०१४ मा स्पर्श अनुभव हुने विश्वको पहिलो बायोनिक हात निर्माण गरेको थियो।

तर, त्यसबेला भने हातसँग जोडिएका ‘सेन्सरी’ र कम्प्युटर उपकरण यति ठूला थिए कि तिनलाई प्रयोगशाला बाहिर निकाल्न सकिँदैनथ्यो। त्यसबेला कसैले बायोनिक हात लगाएर प्रयोगशाला बाहिर जान सक्दैनथ्यो।

तर, अहिले भने त्यही वैज्ञानिक समूहले बायोनिक हातसम्बन्धी प्रविधि यति सानो बनाउन सफलता पायो कि यसलाई ब्यागमा  बोकेर हिँड्न सकिन्छ। 

‘पोर्टेबल बायोनिक’ हात विकास गर्ने वैज्ञानिक समूहमा इटली, स्विजरल्यान्ड र जर्मनीका इन्जिनियरहरू, स्नायुविज्ञहरू, सर्जनहरू, इलेक्ट्रोनिक्स र रोबोटिक्स विशेषज्ञहरू समावेश छन्।

बायोनिक हातले कसरी काम गर्छ?

यो कृत्रिम हातमा त्यसले समातेको वस्तु नरम वा कडा कस्तो छ जानकारी पत्ता लगाउने सेन्सर जडान गरिएको छ। 

त्यसपछि वस्तुसम्बन्धी जानकारी विद्युतीय संकेतका रुपमा ब्यागमा राखिएको कम्प्युटरमा जान्छ। कम्प्युटरले ती जानकारीसम्बन्धी विद्युतीय संकेतलाई हात लगाएको मानिसको मस्तिष्कले बुझ्ने भाषामा परिवर्तन गरिदिन्छ।

अल्मेरिनाको केसमा भने उनको हातमा जडान गरिएका मसिना इलेक्ट्रोड्सले यस्ता जानकारी उनको मस्तिष्कमा प्रवाह गरिदिन्छन्।

बायोनिक हातको परीक्षणमा आँखामा पट्टी बाँधेकी अल्मेरिनाले आफूले समातेको वस्तु नरम वा कडा कस्तो थियो सहजै बताइन्।

‘वस्तु समाउँदाको अनुभूति वास्तविक हातले समातेझैं थियो। यसले मलाई लुगा लगाउन, जुत्ता लगाउन जस्ता दैनिक काममा सहज बनाएको छ। यस्ता काम गर्न मलाई पहिले धेरै कठिन हुन्थ्यो,’ उनले भनिन्, ‘सबैभन्दा महत्वपूर्ण कुरा मैले आफूलाई अब पूर्ण अनुभूति गरिरहेकी छु।’

अहिलेको प्रविधिले न्युरोप्रोस्थेटिक्स (मेसिन र मानव शरीरबीच सञ्चार कायम गर्ने उपकरण) विकासमा ठूलो फड्को मारेको छ। 

‘अहिलेको प्रगतिले हामीलाई साइन्स फिक्सन फिल्मका चरित्र जस्तो कि स्टार वार्सको ल्युक स्काइवाकरको बायोनिक हातजस्तै सेन्सरयुक्त, पूर्णतया नियन्त्रित, प्राकृतिक र मानिसको वास्तविक हातजस्तै बायोनिक हातलाई वास्तविकतामा सम्भव हुनेतर्फ डोर्‍याएको छ,’ पिसास्थित सान्टान्ना स्कुल अफ एडभान्स्ड स्टडिज र लुसानेस्थित एपिएफएलका न्युरो इन्जिनियर प्रोफेसर सिल्भेस्ट्रो मिसेराले भने।

मानवीय हातभन्दा पनि सक्षम रोबोटिक बायोनिक हात विकास गर्न भने अझै निकै समय लाग्ने भए पनि वैज्ञानिक समूहले अन्ततः वास्तविकतामा परिणत हुने विश्वास राखेको छ।

रोमस्थित अगस्टिनो जेमेली युनिभर्सिटी हस्पिटलका न्युरोलोजिस्ट प्रोफेसर पाओलो रोसिनीले भने, ‘एकपल्ट हामीले मस्तिष्कबाट रोबोटिक प्रोस्थेसिस नियन्त्रण गर्न सक्यौं भने हाम्रा पाँचऔंले हातले भन्दा पनि जटिल क्रियाकलाप गर्नसक्ने बायोनिक हात विकास गर्न सक्छौं।’

पोर्टेबल बायोनिक हात विकास गरेको वैज्ञानिक समूहले यो परियोजनामा अल्मेरिना र उनीजस्ता अपांगता भएका व्यक्तिहरू समावेश भएकामा आभार व्यक्त गरेको छ।

अल्मेरिनाले बायोनिक हात ६ महिनासम्म उपयोग गरिन्। तर, अहिले उनको बायोनिक हात अझै पनि प्रोटोटाइप भएकाले हटाइएको छ।

वैज्ञानिक समूहका अनुसार उनीहरू बायोनिक हातसम्बन्धी प्रविधिलाई अझै सानो बनाउने प्रयत्नमा छन्। यसो गर्न सके यस्ता बायोनिक हातलाई व्यापारिक प्रयोजनमा वा व्यावहारिक प्रयोगमा ल्याउन सकिन्छ।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने