Collapse
Expand

प्रवास

अमेरिकामा नेपाली डाक्टरको छबि उच्च छ - डा. वीरेन्द्र भट्टराई

स्वास्थ्य खबरपत्रिका

डा. वीरेन्द्र भट्टराई अमेरिकाको लेकभ्यु इन्टर्नल मेडिसिन, फिजिसियन्स अफ सेन्ट्रल फ्लोरिडा प्राइमरी केयर एलायन्स मेडिकल ग्रुपको बोर्ड सदस्य तथा लगानी साझेदार हुन् । उनी लेक युस्टिस हेल्थ एन्ड रिह्याबका मेडिकल डाइरेक्टर समेत हुन् । इन्टर्नल मेडिसिन र जेरियाट्रिक मेडिसिनमा विशेषज्ञता हासिल गरेका उनले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानबाट एमबिबिएस अध्ययन पूरा गरेका थिए । एमबिबिएसपछि उनी थप अध्ययनका लागि सन् २००४ मा अमेरिका पुगेका हुन् । डा. भट्टराईसँग अमेरिका र नेपालको स्वास्थ्यका विभिन्न विषयमा स्वास्थ्य खबरपत्रिकाले कुराकानी गरेको थियो  :


त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)बाट एमबिबिएसको पढाई सकिएपछि थप अध्ययनको तयारीमा जुटेको थिएँ । त्यो क्रममा नेपालका कलेजसहित पाकिस्तानमा पनि एमडी अध्ययनका लागि आवश्यक प्रक्रिया अगाडि बढाएँ । एमडीका लागि पाकिस्तानमा नाम पनि निस्क्यो । तर मलाई त्यहाँ जान मन लागेन । विदेशमा नै अध्ययन गर्ने र करिअर बनाउने हो भने अमेरिका नै किन नजाने भन्ने सोच बन्यो र अमेरिकाका लागि प्रक्रिया अगाडि बढाएँ । राम्रो नम्बरसहित नाम निस्क्यो । त्यसपछि सन् सन् २००४ मा रेसिडेन्सी गर्न अमेरिकाको न्यूयोर्कमा आएँ । यहाँ आएर नासो युनिभर्सिटी मेडिकल सेन्टरमा अध्ययन गरे । सन् २००७ मा एमडी सकियो । त्यसपछि काम गर्न सुरु गरेँ ।


अमेरिकामा मेडिकल डाक्टरका रुपमा काम गर्ने क्रममा धेरै कुराहरु जान्ने र बुझ्ने मौका मिल्यो । पढाई सकेलगत्तै नेपाल फर्किनुभन्दा यहाँका सीप तथा प्रविधि सिक्छु भन्ने अठोट लिएर काम सुरु गरेँ । त्यो क्रममा नेपालका लागि उपयोगी हुने धेरै सीप, प्रविधि तथा प्रणालीका बारेमा जानकारी लिइरहेको छु । यहाँ सिकेका सबै कुरा नेपालमा गएपछि व्यवहारमा उतार्ने छु । अहिले पनि आफूले जानेका सीप र प्रणालीका बारेमा नेपालका साथीहरुलाई भनिरहेको छु । यहाँको मेडिकल अभ्यास अलि फरक छ । उपकरणदेखि एप्रोच सबै कुरामा फरक भएकाले अनुभव बटुलिरहेको छु । यहाँ सिकेका कुराहरुलाई नेपाल फर्केपछि स्वयंसेवीका रुपमा काम गर्नेछु ।
हामी विभिन्न देशका साथीहरु मिलेर अस्पताल नै सञ्चालन गरेका छौँ । हाम्रो समूहको लगानीमा सञ्चालित संस्थाअन्तर्गत २० वटा क्लिनिक छन् । हाम्रो समूहको पहिलो लगानीकर्ता चिनिया मुलका भारतीय हुन् । त्यसपछि पाकिस्तानका व्यक्ति छन् र म तेस्रो साझेदार हुँ । हामी सात साझेदार छौँ । हामीले ४३ जना डाक्टरहरुलाई रोजगारी दिइरहेका छौँ । विभिन्न पाँच विशेषज्ञ विधाका सेवा सञ्चालन गरिरहेका छौँ ।


कामका दौरानमा मैले यहाँ र नेपालका डाक्टरलाई गरिने व्यवहारमा भने निकै भिन्नता पाएको छु । नेपालमा डाक्टरलाई भगवानका रुपमा लिन्छन् । तर यहाँ पसलमा आउने ग्राहक र व्यापारीको झैँ सम्बन्ध हुन्छ । नेपालका बिरामी डाक्टर नै सर्वेसर्वा हुन् भन्दै डाक्टरलाई सबै कुरा आत्मसमर्पण गरेझैँ गर्छन् । तर यहाँका बिरामीले डाक्टरबाट हामीले सेवा किनेका हौँ भन्छन् । उनीहरु आफैँ पनि आफ्नो समस्याका बारेमा बुझेर आएका हुन्छन् । इन्टरनेटमा आफू कुन डाक्टरकहाँ जाँदैछु, उक्त डाक्टर कस्तो छ, बोली व्यवहार, विशेषज्ञता, कुन देशको हो सबै बुझेर आएका हुन्छन् । डाक्टरकहाँ आएपछि उनीहरु आफ्ना सबै समस्या र हिस्ट्री बताउँछन् । वास्तवमा यो राम्रो कुरा हो । बिरामी जानकार हुनु चिकित्सकका लागि खुसीको कुरा हो ।


यहाँका बिरामीले नेपाली डाक्टरलाई निकै राम्रो मान्छन् । बिरामीहरुले नै नेपाली डाक्टर राम्रो बोल्छ, समय दिन्छ, मिलनसार छ, इमान्दार छ भन्दै आउने गर्छन् । इन्टरनेटमा हेरेर नेपाली डाक्टर भन्दै खोज्दै पनि आउने धेरै छन् । नेपाली डाक्टरको यो छबि यहाँका बिरामी र आफन्तहरुमा छ । त्यो निकै खुसीको कुरा हो । कतिपय भने नेपाली डाक्टर भनेपछि भारतीय समूहमा मिसाएर हेर्ने पनि छन् ।


उपचारका लागि अमेरिकामा बीमा प्रणाली छ । नेपालमा पनि बीमा कार्यक्रम सुरु हुँदै छ । यो राम्रो कुरा हो । तर बीमा सुरु गर्दा देश सुहाँउदो र प्रभावकारी प्रणाली अपनाउन जरुरी छ । अमेरिकामा मेडिकेयर कार्यक्रममार्फत् सरकारले ६५ वर्ष माथिका बृद्धबृद्धालाई दिँदै आएको उपचार कार्यक्रमलाई अहिले परिवर्तन गर्न खोज्दै छ । अमेरिकी सरकारले पहिलाको कार्यक्रममा केही विकृति आएको भन्दै मुख्य–मुख्य बुँदाहरु नै परिर्वतन गर्न खोजेको छ । पहिला वृद्धवृद्धाको उपचारको बिलका आधारमा मेडिकेयर कार्यक्रममार्फत् अस्पताल तथा डाक्टरलाई रकम उपलब्ध गराउँथ्यो । यसो हुँदा अनावश्यक परीक्षण हुने, बिरामीलाई हरेक फलोअप तथा भेटमा अनावश्यक शुल्कका बिल दिनेजस्ता विकृति देखिए । यसलाई सुधार गर्न सरकारले औसतमा हुने खर्च हिसाब गरेर एक बृद्धबराबर १० हजार डलर बार्षिक रकम दिने व्यवस्था गर्न लागेको छ । उक्त रकमबाट बिरामीको सबै परीक्षण, औषधि, फलोअप लगायतको व्यवस्था गर्नुपर्ने हुन्छ । यसो हुँदा अनावश्यक परीक्षण तथा बिरामीलाई दुःख दिने नियतको अन्त्य हुने विश्वास अमेरिकी सरकारले लिएको छ । नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरमा भएका अभ्यासलाई हेरेर प्रभावकारी बीमा कार्यक्रम ल्याउन आवश्यक छ ।


अमेरिकामा रहेका हरेक डाक्टरले नेपालमा केही न केही सहयोग गरिरहेका छन् । भूकम्पका समयमा सबैले सामूहिक रुपमा ठूलो योगदान गरेका थिए । सामूहिक रुपमा जाँदा देशमा प्रभावकारी सहयोग देखियो । त्यही भएर यहाँका डाक्टरहरुले संस्थागत रुपमा सहयोग गर्ने सोच बनाइरहेका छन् । संस्थागत सहयोग सँगै मैले व्यक्तिगत रुपमा पनि बालबालिकाको क्षेत्रमा सहयोग गर्ने योजना बनाएको छु । नेपालका बेसहारा बालबालिकाको शिक्षामा लगानी गर्ने सोच छ । बेसहारा बालबालिकाको अभिभावक बनेर उनीहरु पढाई, आवास, पढन पाठनका क्रममा हुने अन्य आवश्यक खर्चमा लगानी गर्न लागिरहेको छु । यो विषयमा अध्ययन गरिरहेको छु ।

 

swasthyakhabar

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने