विचार/ब्लग

कसरी बन्छ नक्कली आयुर्वेदिक औषधि ? 

औषधिमा कसरी मिसावट हुन्छ ?

डा प्रकाश ज्ञवाली 

बजारमा पछिल्लो समय गुणस्तरहीन तथा नक्कली आयुर्वेदिक औषधिहरु पाइन थालेको छ । यसका पछाडि पछाडि थुप्रै कारण छन् । आयुर्वेदिक औषधिको कच्चा पदार्थको रुपमा बोटविरुवाका विभिन्न भाग प्रयोग हुन्छन् । जरा, डाँठ, फल, फूल, बोक्रा आदिबाट औषधि बनाइने भएकाले त्यस्ता सामग्रीको संकलन, भण्डारण, प्रशोधन, प्योकेजिङ आदिमा विशेष ध्यान पुर्‍याउनुपर्छ। 

जुन औषधिमा जुन घटक द्रव्य जति परिमाणमा हाल्ने भनिएको छ, त्यो हालिएन वा कमसल गुणस्तरको कच्चा पदार्थ प्रयोग भयो अथवा दर्ता नगरी बजार पुर्‍याइयो भने त्यो औषधिलाई नक्कली भनिन्छ। 

जीवाणु परीक्षण गरिएन, गलत चिज हालियो वा मात्रा मिलाउन कमी भयो भने पनि औषधि नक्कली र गुणस्तरहीन बन्छ । जस्तैः च्यवनप्रासमा ४८ वटा द्रव्य हाल्नुपर्नेमा ४५ वटा मात्रै भयो भने त्यो गुणस्तरहीन हुन्छ । त्यस्तै, त्रिफला  बनाउँदा हर्रो, बर्रो र अमलाको प्रयोग हुन्छ । सस्तो पाइने हर्रो र बर्रो बढी हाल्ने तर महँगो अमला कम मिसाउँदा पनि गुणस्तरहीन बन्नपुग्छ।

अविपत्तिकरमा निशोथको मात्रा कम गरियो र त्रिफला वा चिनीको मात्रा बढी भयो भने गुणस्तरहीन औषधि बन्छ । उत्पादकहरुले कहिलेकाहीँ महँगो औषधिको मात्रा कम राख्ने गर्छन् । जस्तैः स्वर्णभस्म हाल्ने भनेर मात्रा कम गर्ने र अरु चिज धेरै मिसाउँदा कम गुणस्तरको औषधि बन्छ । किनकि स्वर्णभस्म महँगो हुन्छ । यी ३/४ वटा आयामलाई हेरियो भने न्यून गुणस्तर वा नक्कली औषधि कसरी बन्छ भन्ने प्रस्ट हुन्छ।

औषधिमा कसरी मिसावट हुन्छ ?

उदाहरणका रुपमा कस्तुरी भुषणमा कस्तुरी नपाइने भएकाले कस्तुरीको सट्टा सम्बन्धित निकायबाट अनुमति लिई लताकस्तुरी हालिएको छ भने त्यसलाई सक्कली नै मानिन्छ । किनभने कस्तुरी सजिलै पाउन सकिने चिज होइन । तर, घटक द्रव्य पाउँदापाउँदै सस्तो खालको अर्कै द्रव्य पनि मिसावट गर्ने गरिन्छ । जस्तैः अश्रगन्धा चूर्ण बनाउँदा बिदारीकन्द हालेर बनाउने, मरिच हाल्नुपर्ने ठाउँमा मेवाको गेडा मिसाइदिने गर्दा कमसल औषधि बन्छ । यसलाई मिसावट ( एडल्टरेसन) भनिन्छ।

कहिलेकाहीँ कम्पनीले राम्रो गर्न चाहँदाचाहँदै पनि उसलाई झुक्याएर कच्चा पदार्थमा केही न केही चिज मिसावट भएर आउँछ । कतिपय अवस्थामा त्यही वस्तु भए पनि त्यसको २/३ थरी गुणस्तर हुनसक्छ। जस्तैः ल्वाङकै कुरा गर्ने हो भने बजारमा प्रतिकिलो १२ देखि २५ सयसम्म पर्ने ल्वाङ पाइन्छ । कुनै ल्वाङमा तेल पहिले नै निकालेको हुन्छ भने कुनैमा तेल निकालिएको हुँदैन । यस्तो अवस्थामा सामानको गुणस्तरीयतामा ध्यान दिने कम्पनीहरुले तेलसहितको ल्वाङ प्रयोग गर्छन्।

माथि भनेजस्तै कुनै पनि औषधिको जरा, बोक्रा, फल, गेडा वा कुनै पनि अवस्थालाई पानीले सफा गर्ने क्रममा साल्मोनेला, स्युडोमोनास, स्टाफैलोकोकस आदि जीवाणुद्वारा संक्रमित हुने र औषधि गुणस्तरहीन बन्ने सम्भावना पनि त्यत्तिकै हुन्छ।

परीक्षण विधि

उत्पादित औषधिमा जीवाणु परीक्षण (माइक्रोबिएल टेस्ट)  गरिन्छ । त्यस क्रममा साल्मोनेला, स्युडोमोनास, स्टाफैलोकोकस आदिको मात्रा शून्य हुनुपर्छ । यदि परीक्षणका क्रममा मापदण्डभित्र कुनै औषधि परेन भने त्यसलाई न्यून गुणस्तरको मानिन्छ।

औषधिमा हाल्नुपर्ने इन्गे्रडिएन्ट पर्याप्त छ कि छैन भनेर हेर्ने विधि पनि आइसकेको छ । त्यसका लागि कीर्तिपुरमा रहेको आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, वनस्पति विभाग, खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण महाशाखा आदि निकायहरुले कुनै न कुनै रुपमा काम गरिरहेका हुन्छन् । ती संस्थाहरुले तिलको भनेर तोरीको तेल हालेका वा कुन गुणस्तरको केशर प्रयोग भएको छ भने यस्ता मिसावटका कुरा पत्ता लगाउन सक्छन्।

(डा ज्ञवाली औषधि व्यवस्था विभागको आयुर्वेद शाखामा कार्यरत छन् ।)
 

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live