मुख्य समाचार

अवैध गर्भपतन र लागूऔषध कारोबारको अभियोगमा राजधानीको एक हेल्थ केयर सेन्टरबाट ३५ जना पक्राउ


काठमाडौं– काठमाडौंको माछापोखरीस्थित सफलता हेल्थ केयर सेन्टरले लागूऔषधको कारोबार गर्नुका साथै अवैध रुपमा गर्भपतन गराउने गरेको भेटिएको छ। अवैध गर्भपतल र लागूऔषध कारोबारको अभियोगमा प्रहरीले नक्कली नर्स सपना चौधरीसहित ३५ जना लागू औषधका कारोबारी र सेवनकर्तालाई पक्राउ गरेको छ।

प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बालाजु वृत्त र औषधि व्यवस्था विभागको टोलीले लागूऔषधको कारोबार हुने गरेको सूचनाका आधारमा मंगलबार छापा मारेको बालाजु वृत्तका प्रहरी निरीक्षक जनार्दन घिमिरेले बताए। क्लिनिकमा लागू औषधको कूलतमा रहेकाहरु नार्कोटिक (मनोदीपक) औषधि खरिद गर्न आउने गरेको जानकारीका आधारमा मंगलबार बेलुकी प्रहरीले क्लिकिनमा छापा मारेको थियो। 

जताजतै नार्कोटिक औषधि

क्लिनिकमा छापा मार्न पुगेकी औषधि व्यवस्था विभागकी फार्मेसी सुपरभाइजर सरस्वती देवकोटाका अनुसार उक्त सेन्टरमा  जताततै नार्कोटिक औषधिहरु भेटिएको थियो। ‘औषधि पसलका साथै दराज, खाट, कोठा अन्य ठाउँमा पनि मनोदीपक औषधि सञ्चय गर्ने गरेको भेटियो,’ उनले भनिन्।

नर्स नक्कली

उक्त सेन्टरमा सञ्चालक र कर्मचारीका रुपमा भेटिएकी थिइन् सपना चौधरी। उनले आफूलाई नर्स बताएकी थिइन्। तर, प्रहरीले भने उनी नर्स नरहेको जनाएको छ। प्रहरी निरीक्षक घिमिरेले भने, ‘उनले नर्सको पहिरनमा राखेको तस्बिर पनि फोटोसप गरिएको देखिन्छ। अरुकै शरीरमा आफ्नो टाउको जोडेर नर्सका रुपमा देखाएकी थिइन्।’

अन्य दुई ठाउँमा पनि यस्तै धन्दा

सफलता हेल्थ केयर सेन्टर प्रहरी हिरासतमा रहेकी सपना चौधरी र उनका श्रीमानले चलाएको खुलेको छ। चौधरीका श्रीमान भने फरार छन्। राजधानीकै अन्य दुई ठाउँ चाबहिल र बालकुमारीमा पनि उनीहरुले यस्तै सेन्टर खोलेर लागूऔषधको धन्दा चलाएको प्रहरीले जानकारी पाएको छ। 

अवैध गर्भपतन

सेन्टरमा तालिम प्राप्त स्वास्थ्यकर्मी नरहे पनि अवैध गर्भपतन हुने गरेको भेटिएको छ। सेन्टरमा गर्भपतनका औषधि र सामग्री भेटिएका हुन्। मंगलबार बेलुकी प्रहरीले छापा मार्दा आलो रगत देखेको बताएको छ। यसले उक्त दिन पनि गर्भपतन गराइएको प्रहरीको आशंका छ।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने