मुख्य समाचार

छानविन समितिद्वारा मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठलाई कारबाही सिफारिस

None

काठमाडौं-

काठमाडौं– भक्तपुरस्थित मावन अंग प्रत्यारोपण केन्द्रमा उत्पन्न विवादबारे छानबिन गरी सुझाव दिन बनेको समितिले निर्देशक पुकारचन्द्र श्रेष्ठ र नर्सिङ प्रमुख इन्दिरा प्रधानलाई कारबाही सिफारिस गरेको छ। 

स्वास्थ्य मन्त्रालयका चिकित्सा महाशाखा प्रमुख डा भोलाराम श्रेष्ठको संयोजकत्वमा गठित समितिले स्वास्थ्य सचिव डा पुष्पा चौधरीसमक्ष उनीहरुमाथि कारबाही सिफारिस गरेको हो। संयोजक डा श्रेष्ठका अनुसार अस्पताल व्यवस्थापनले कर्मचारी भर्ना प्रक्रिया अनुसार नगरेको र आन्तरिक द्वन्द्व व्यवस्थापन गर्न नसकेको देखिएको छ। उनले भने, ‘कर्मचारी भर्नाको आफ्नै प्रणाली बनाएको वा चलिरहेको प्रणालीमध्ये कुनैको ‘रिफरेन्स’ लिएको पाइएन। आन्तरिक द्वन्द्व व्यवस्थापन पनि गर्न सकेको देखिएन।’

समितिले यसअघि स्वास्थ्य मन्त्रालयकी नर्सिङ प्रमुख रोशनी तुइतुईको संयोजकत्वमा बनेको छानबिन समितिको प्रतिवेदन, नर्सहरुको उजुरी र अस्पतालका निर्देशक डा पुकारचन्द्र र नर्सिङ प्रमुख प्रधानसँग लिएको स्पष्टीकरणका आधारमा उक्त सुझाव दिएको हो। 

स्वास्थ्य सचिव डा चौधरीको निर्देशनमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा विनोदमान श्रेष्ठले उक्त समिति गठन गरेका थिए। उक्त विषयमा जानकारी दिँदै डा श्रेष्ठले स्वास्थ्यखबरसँग भने, ‘हामीले उक्त विवाद सिर्जना हुनुका कमजोरी औंल्याइदिएर कारबाही गर्न सकिने भनेका छौं। कस्तो कारबाही हुन्छ, त्यो सचिवज्युले निर्णय गर्ने कुरा हो।’

नेपाल नर्सिङ संघले पूर्वाग्रही ढंगले अस्पतालबाट निष्काशनमा परेकी नर्स त्रजिना जतीको पुनर्बहालीका विषयमा भने समिति बोलेको छैन। कर्मचारी राख्ने वा नराख्ने विषयमा अस्पताल व्यवस्थापनलाई अख्तियार दिइएकाले मन्त्रालय यस विषयमा नबोलेको डा श्रेष्ठले बताए। 

नर्स त्रजिनाको पुनर्बहालीको मागलाई प्रमुख बनाएर नेपाल नर्सिङ संघले आन्दोलन घोषणा गरिसकेको छ। माग पूरा नभए अस्पतालमा ड्युटी नगर्नेसम्मको चेतावनी नर्सहरुले दिएका छन्।  

स्थापनाकालदेखि उक्त केन्द्रमा काम गर्दै आइरहेकी नर्स त्रजिनालाई गत साउनमा अस्पताल प्रशासनले बिनासूचना निष्काशन गरेको थियो। श्रम ऐन अनुसार कुनै पनि कर्मचारीलाई निकाल्नु एक महिनाअघि जानकारी दिनुपर्छ।

अस्पताल प्रशासनबाट त्यसअघि अन्यायपूर्ण रुपमा निकालिएका नर्स र स्वास्थ्यकर्मीका पक्षमा उनी बोल्न थालेपछि निकालिएको देखिएको छ। त्यसअघि अस्पतालको अन्यायपूर्ण व्यवहार खेपेकी सजना देउला उनीसँगै आन्दोलनमा  छिन्।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने