समाचार

सप्तरीका स्वास्थ्य संस्थामा औषधि अभाव


सप्तरी- सप्तरी जिल्लाका सरकारी स्वास्थ्य संस्थामा औषधि अभावका कारण गरिव तथा विपन्न परिवारका व्यक्ति तथा बिरामी उपचारबाट वञ्चित भएका छन्। 

स्थानिय निकायको निर्वाचन पश्चात सरकारी संस्था स्थानीय निकायमा हस्तान्तरण भएको र सम्बन्धित स्थानीय निकायले औषधि खरिद नगर्दा स्वास्थ्य चौकी तथा अस्पतालमा औषधि अभाव भएको गुनासो आएको छ। 

करिब ८० प्रकारका औषधि अस्पताल तथा स्वास्थ्य चौकीबाट वितरण गर्नुपर्ने सरकारी प्रावधान रहे पनि हाल सिटामोल समेत नरहेको बुझिएको छ। 

वरदाही स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी रामनारायण मिश्रका अनुसार औषधिको पुरानो मौज्दात सकिएको र हाल थप औषधिको व्यवस्था नभएका कारण सरकारी स्वास्थ्य संस्थामा औषधिको अभाव भएको हो । उता जिल्ला जनस्वास्थ्य कार्यालयमा पनि औषधि अभाव भएको त्यहाँका कर्मचारीले बताउँदै आएका छन्। 

नौ नगरपालिका र नौ गाउँपालिका रहेको सप्तरी जिल्लाअन्तर्गत राजविराज नगरपालिकाभित्र रहेको सगरमाथा अञ्चल अस्पतालमा समेत औषधि र स्वास्थ्यकर्मीको अभाव रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा दयाशंकरलाल कर्णले बताए। 

तीन सातादेखि चिसो हावा र शीतलहरका कारण सप्तरीमा निमोनिया, रुघाखोकी, कोल्ड डाइरिया, स्वासप्रश्वास, दमलगायतका बिरामीको संख्या बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। 

तर उनीहरुको उपचारका लागि सप्तरीमा औषधि अभाव भएको छ । निःशुल्क औषधि नपाउँदा आर्थिक अभाव भएका व्यक्ति बाहिर गएर औषधि खरिद गर्न पनि कठिन भइरहेको र खरिद गर्न जाँदा खर्चिलो हुने गरेको स्थानीय अजयकुमार भगतले बताए। 

हाल सप्तरी जिल्लामा अत्यधिक चिसोका कारण आधा दर्जन व्यक्तिले ज्यान गुमाइसकेका छन्। रासस

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने